मेडिसिटी अस्पताल: बृहत स्तन हेरचाह केन्द्रको शुभारम्भ

मेडिसिटी अस्पताल: बृहत स्तन हेरचाह केन्द्रको शुभारम्भ

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष ९, २०८०

ललितपुर ।नेपाल मेडिसिटी अस्पतालले पौष ८ गते आइतबारबाट बृहत स्तन हेरचाह केन्द्र  (Comprehensive Breast Care Centre) सञ्चालनमा ल्याएकJ  अस्पताल छ ।

महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोरनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको मेडिसिटी अस्पतालले जनाएको छ  । 
बृहत स्तन हेरचाह केन्द्र अन्तर्गत महिलाहरुले सबै किसिमका उपचार, निदान, स्तन रिकन्सट्रक्सन तथा जनचेतनाका लागि तालिमको सेवा एकै छतमुनिबाट प्राप्त गर्न सक्नेछन् । यस विभागबाट विभिन्न परीक्षण, शल्यक्रिया तथा शल्यक्रिया पछि नक्कली स्तन राख्ने (implant) वा रिकन्स्ट्रक्सनको सुविधा पनि प्रदान गरिन्छ । 

सेन्टरको उद्धघाटन नायिका तथा सामाजिक अभियान्ता मानिषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्ययक्ष भवानी राणा र महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्ययक्ष निरु रायमाझीबाट गरिएको हो । 

अस्पतालका अध्यक्ष उपेन्द्र महतोले नेपालीहरुलाई स्वदेशमै सम्पूर्ण सेवा प्राप्त होस् भन्ने उद्धेश्यले विशेषज्ञ केन्द्रहरु एकपछि अर्को सञ्चालन गरेको बताए । 

कार्यक्रममा बोल्दै नायिका मनिषा कोइरालाले विदेशमा जसरी नै नेपालमा  पनि क्यान्सर रोगको केन्द्रिकृत उपचार अभ्यास हुनुपर्ने बताइन् । उनले क्यान्सरको अनुभव साट्दै सबै किसिमका क्यान्सरको उपचार नेपालमै हुनुपर्ने जोड दिइन् । उनले ग्रामिण भेगका महिलाहरुमा पनि उपचारको पहुँच भएको हेर्ने आफ्नो सपना रहेको बताइन् । 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्ययक्ष भवानी राणाले नेपाल मेडिसिटीमा स्तन क्यान्सरको सबै उपचार सम्भव भएकोमा खुशी व्यक्ति गरिन् । उनले महासंघसँग जोडिएका ग्रामिण भेगका महिलाहरुमा जनचेतना फैलाउन आफूले पनि सहयोग गर्ने बाचा गरिन् ।

महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्यक्ष निरु रायमाझीले महिलाहरुमा जनचेतनाको कमी रहेको बताइन् । उनले भनिन्, 'हाम्रो स्वास्थ्य प्रणाली महिलामैत्री छैन । सरकारले महिलालाई आर्थिक रुपमा सशक्तिकरण गर्ने उद्धेश्य बोकेको छ, तर जबसम्म महिलाहरुको स्वास्थ्य सुरक्षित हुँदैन, तबसम्म आर्थिकरुपमा सशक्तिकरण गर्न सकिँदैन ।'

आफैले छामेर पत्ता लाग्न सक्ने रोग भएतापनि कति महिलाहरुलाई कसरी जाँच्ने भन्ने विषयमा थाहै नभएको अत्यन्त ठुलो स्तन हेरचाह केन्द्रका प्रमुख तथा प्रिन्सिपल कन्सलटेन्ट डा. ज्योति रायमाझीले बताइन् । 

'स्तन क्यान्सरबारे जानकारी तथा छामेर पत्ता लगाउन सक्नेगरी हामीले Self-Breast Examination Training को व्यवस्था गरेका छौं,' डा.ज्योतीले भनिन् ।
त्यस्तै, स्तन क्यान्सर भन्नेवित्तिकै महिलालाई मात्र हुन्छ भन्ने भ्रम समाजमा फैलिएको छ, जुन गलत हो । यो रोग पुरुषमा पनि देखिन्छ । अध्ययनहरुका अनुसार एकलाख महिलामा ११८ जनामा स्तन क्यान्सर देखिन्छ भने एकलाख पुरुषहरुमा एक जनामा स्तन क्यान्सर देखिने गरेको छ । 

पुरुषहरूका लागि पनि हामीले सोही तरिकाबाट क्यान्सर पत्ता लगाउने तालिम प्रदान गर्दछौं । तालिममा कस्तो ट्युमर क्यासर हुन् र कस्तो ट्युमरलाई उपचार नगर्दा पनि शरीरलाई केही असर पार्दैन भन्ने विषयमा पनि सचेत गराउने उद्धेश्यका साथ यो सेन्टर स्थापना गरिएको डा. ज्योतीले बताइन् । 

त्यस्तै, रेडियोलोजिस्ट तथा ब्रिस्ट इमेजिङमा फेलोसिप गरेका डा. कुन्दना रायमाझीका अनुसार सबै स्तनको क्यान्सर छामेर पत्ता लगाउन सकिँदैन । यसको लागि म्यामोग्राम परीक्षण गराउनुपर्दछ । 

प्रारम्भिक चरणमै स्तन क्यान्सर छ वा छैन भन्ने पत्ता लगाउन म्यामोग्राम परीक्षण गरिन्छ । 'मटरको दाना भन्दा सानो क्यान्सरको गिर्खा हुँदा हातले भेट्न सकिन्न तर म्यामोग्राम परीक्षण गर्दा पत्ता लाग्छ । त्यस्तै, क्यान्सर कुन स्टेजमा पुगेको छ भन्ने थाहा पाउन ग्रिर्खाको आकारमा भर पर्छ,’ डा कुन्दनाले भनिन् । 

सामान्यतया, म्यामोग्रामको परीक्षण ४० वर्ष नाघेपछि गरिन्छ भने ४० वर्ष भन्दा कम उमेर समूहका महिलाहरुलाई स्तनको अल्ट्रासाउण्ड परीक्षण मात्र गराइन्छ । 

तर जो महिलाको आमा अथवा परिवारमा कुनै व्यक्तिहरुलाई स्तन क्यान्सर भएको इतिहास छ भने स्तन क्यान्सर हुने जोखिम धेरै हुन्छ । त्यसैले ती महिलाले ३० देखि ३५ वर्षको उमेरमै म्यामोग्राम गराउन आवश्यक रहेको डा कुन्दना बताउँछिन् । 

बृहत स्तन हेरचाह केन्द्र  खुलिसकेपछि विरामीहरुले स्तनसम्बन्धि सबैखाले परीक्षण अस्पतालमै गर्न पाउनेछन् । दक्ष  चिकित्सकहरुबाट जाँच्ने तथा सल्लाह लिने, स्तनको एमआरआई, बायोप्सी, युएसजी, म्यामोग्राम परीक्षण देखि सर्जरीको पनि सेवा एकै ठाउँबाट लिन सकिन्छ । 

केन्द्रमा उपलब्ध सेवाहरु
Breast Cancer Screening अन्तरगत  चिकित्सक कन्सलटेसन, Radiology (Mammogram and VSG), Tissue Diagnosis (Tissue Cut, FNA) को परीक्षण गराइने अस्पतालले जनाएको छ  । 

बिनाइन ब्रिस्ट म्यानेजमेन्ट प्याकेज अन्र्तगत ब्रिस्ट पेन, ट्युमर तथा निप्पल डिस्चार्जको जाँच गरिन्छ भने ब्रिस्ट क्यान्सर म्यानेजमेन्ट अन्र्तगत ब्रिस्ट कन्र्जरभेसन सर्जरी, ब्रिस्ट मास्टेक्टोमी र सेन्टिनेल नोड बायोप्सी परीक्षण गरिन्छ । 

यसैगरी कस्मेटिक तथा रिकन्ट्रक्सन सर्जरी अन्र्तगत ब्रिस्ट अगमेनटेसन, ब्रिस्ट रिडक्सन, मास्टोप्याथी र निप्पल करेक्सन सर्जरी र अंकोप्लास्टिक सर्जरीको सेवा दिइन्छ । 
त्यस्तै, क्रिसमस तथा अंग्रजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा उपचारका लागि आउने सबै व्यक्तिहरुलाई एक महिनासम्म सबै परीक्षणमा १५ प्रतिशत छुट प्रदान गरिनेछ । योसँगै स्तन क्यान्सरसँग सम्बन्धित हरेक शल्यक्रिया तथा प्लास्टिक सर्जरी (सर्जिकल प्रसिडिउर) मा पनि १५ प्रतिशत छुट रहेको अस्पतालले जनाएको छ । यो छुट जनवरी ३१ सम्म रहने समेत जानकारी गराइएको छ  ।