पश्चिम तराईमा हावाहुरीको वितण्डा : दुईको मृत्यु, ९९ घाइते

पश्चिम तराईमा हावाहुरीको वितण्डा : दुईको मृत्यु, ९९ घाइते

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २४, २०७६

काठमाडौं । पश्चिम तराईमा बिहीबार साँझ आएको हावाहुरीले वितण्डा मच्चाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हावाहुरीका कारण कैलाली, कञ्चनपुर र बाँकेमा गरी दुईको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन् ।

कैलालीमा दुईको मृत्यु, ७५ घाइते

हावाहुरीका कारण कैलालीमा दुई जनाको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । मृत्यु हुनेमा टीकापुर नगरपालिका-२, राजीपुरका ४७ वर्षीय लाहानु चौधरी डगौरा र गोदावरी नगरपालिका-८ का २६ वर्षीय वीरबहादुर चौधरी छन् ।

यस्तै, हावाहुरीका कारण ७५ घाइते भएका छन् । घाइतेमध्ये ६६ जना सामान्य उपचारपछि घर फर्किएको जोशीले जानकारी दिए । यस्तै, अन्य ९ जनामध्ये २–२ जनालाई कोहलपुर मेडिकल कलेज र भारतका अस्पताल रेफर गरिएको उनको भनाइ छ ।

लगत संकलन सुरु

हावाहुरीबाट भएको क्षतिको लगत संकलन सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हावाहुरीले कतिपयका घरको छाना उडाएको छ ।

कञ्चनपुरमा २३ घाइते

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार कञ्चनपुरमा हावाहुरीबाट २३ जना घाइते भएका छन् । ‘घाइतेमध्ये १ को अवस्था गम्भीर छ । अरु उपचारपछि घर फर्कदैछन्,’ उनले भने ।

बाँकेमा १ घाइते

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालका अनुसार बाँकेको कोहलपुरमा हावाहुरीका कारण चर्केको घर मर्मत गर्ने क्रममा एक जना घाइते भएका छन् ।

यस्ताे छ कारण
जल तथा मौसम विज्ञान विभागकी बरिष्ठ मौसमविद् शान्ति कँडेलले लामो समयदेखि पश्चिम भूभागमा पानी नपर्दा माथिल्लो वायुमण्डलमा परेको सुख्खा हावाको प्रभावले हावाहुरी आएको बताइन् ।