प्रधानमन्त्री र समाजवादी मोर्चाका अध्यक्षले देखेको 'विदेशी षडयन्त्र' के हो ?

प्रधानमन्त्री र समाजवादी मोर्चाका अध्यक्षले देखेको 'विदेशी षडयन्त्र' के हो ?

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १२, २०८०

नेपाल पछिल्लो समय विदेशी शक्तिहरुको चलखेलको भूमि बन्ने खतराको चर्चा बारम्बार भइरहेको छ । खासगरी प्रतिपक्षमा रहेका र संसद बाहिर रहेका साना वाम शक्तिहरुले नेपालमा विदेशी षड्यन्त्र बढी देख्छन् । 

एमसीसी देखि एसपीपीसम्मका कार्यक्रम नेपालमा आउँदा त्यसलाई अमेरिकी रणनीतिक योजना र नेपालबाट चीनलाई नियाल्ने कार्यक्रमका रुपमा धेरैले ब्याख्या गरे । तर जब सत्तामाथि कुनै संकट आउन थाल्छ, तब पनि विदेशी षड्यन्त्रको प्रचार सुरु हुन्छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष तथा समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले समेत नेपालमा विदेशी षड्यन्त्र भइरहेको बताएका छन् । प्रचण्डले बुधबार बसेको समाजवादी मोर्चाको बैठकमा देशमा देखिने गरेका असन्तुष्टिमा अन्तर्राष्ट्रिय चलखेल समेत रहेको भन्दै चिन्ता व्यक्त गरे । 

त्यसो त प्रधानमन्त्री प्रचण्डले बेलाबेला परिवर्तन उल्ट्याउने प्रयास भइरहेको बताउने गरेका छन् । पछिल्लो समयमा देशमा धार्मिक प्रदर्शन बढिरहेका बेला प्रचण्डले यसमा विदेशी षडयन्त्रका रुपमा गरेको व्याख्यालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

गत महिना मात्रै गणतन्त्र फाल्न र हिन्दू राज्यको पक्षमा भन्दै दुर्गा प्रसाई समूहले प्रदर्शन गरेको थियो भने त्यसैबेला झापामा राजावादी पार्टी राप्रपाको आयोजनामा पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका थिए । त्यतिमात्रै होइन नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारीले चैतसम्म संविधान खारेज हुन सक्ने सूचना आफूले पाएको बताएका थिए । हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापनाको समेत मुद्दा लिएर फागुनपछि राप्रपाले आन्दोलन घोषणा गरेको छ । 

समाजवादी मोर्चाका नेताहरूले देशको पछिल्लो अवस्थाबारे आ–आफ्नो विश्लेषण बैठकमा प्रस्तुत गरेका थिए । जसमा नेताहरुले परिवर्तन विरुद्ध राष्ट्रिय रुपमा षड्यन्त्र भइनै रहेको र त्यसमा अन्तर्राष्ट्रिय संलग्नता समेत रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले जातीय र धार्मिक असन्तुष्टिलाई लिएर संविधानका महत्वपूर्ण विशेषतालाई पनि निसाना बनाउन खोजिएको संकेत गरेका थिए । 

केही समयअघि भारतमा पनि नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने मागसहित प्रदर्शन भएको थियो । डिसेम्बर दोस्रो साता भारतको छत्तीस गढ राज्यको रायपुरमा एउटा सानो समूहले ‘हिन्दूराष्ट्र नेपाल समर्थन यात्रा’ नामबाट कार्यक्रम गरेको थियो । जय श्रीराम सेना संगठन र आदित्य वाहिनी नामक दुई हिन्दूवादी संगठनले ‘समर्थन यात्रा’ सँगै छत्तीसगढ राज्यपाल मार्फत भारतका राष्ट्रपतिलाई एउटा ज्ञापनपत्र पनि बुझाएका थियो। ज्ञापनपत्रमा वर्तमान सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रको आलोचना गरिनुका साथै नेपाली नागरिकको चाहना अनुसार नेपाललाई हिन्दूराष्ट्र बनाउन भारत सरकारले समर्थन गर्नुपर्ने माग गरिएको थियो । 

बुधबारको समाजवादी मोर्चाको बैठकमा यही विषयलाई लिएर विदेशी षडयन्त्रको चर्चा भएको हो भन्ने स्पष्ट नभए पनि प्रचण्ड त्यसप्रति चिन्तित देखिएका छन् । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भन्दा पछि आफ्नो भनाई राखेका प्रचण्डले विदेशी षडयन्त्र भइरहेको बताएका थिए । मोर्चाको बैठकमा मोर्चा, सरकार र विगतका उपलब्धि विरुद्ध षड्यन्त्र भइरहेको बारे साझा धारणा थियो ।

त्यो षड्यन्त्र प्रतिगामी, दलाल प्रतिक्रियावादी र अर्को अलिकति विदेशी स्वार्थको भएको मोर्चाले ठहर गरेको छ । यसै सन्दर्भमा प्रधानमन्त्रीले परिवर्तन उल्ट्याउने र प्रतिगामी दिशातर्फ धकेल्ने षड्यन्त्र भइरहेको बताएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार जातीय, धार्मिक देखि जनयुद्धका मुद्दा र तीनबुँदे सहमति विरुद्ध अदालतमा मुद्दा लगाएर यस्ता षड्यन्त्रहरु व्यक्त भएको नेताहरुले बताएका थिए । 

कतिपयले हिन्दू राष्ट्र पुनस्र्थापनाको पक्षमा भइरहेका प्रदर्शनहरूमा दक्षिणी छिमेकी भारतका कतिपय शक्ति र संस्थाहरूको साथ, समर्थन र सहयोग रहेको आशंका छ । यद्यपि बैठकमा प्रचण्ड र अन्य नेताले भारतकै संलग्नता हुनसक्ने संकेत भने गरेनन् । 

समाजवादी मोर्चाका नेताहरूले देशको पछिल्लो अवस्थाबारे आ–आफ्नो विश्लेषण बैठकमा प्रस्तुत गरेका थिए । जसमा नेताहरुले परिवर्तन विरुद्ध राष्ट्रिय रुपमा षड्यन्त्र भइनै रहेको र त्यसमा अन्तर्राष्ट्रिय संलग्नता समेत रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले जातीय र धार्मिक असन्तुष्टिलाई लिएर संविधानका महत्वपूर्ण विशेषतालाई पनि निसाना बनाउन खोजिएको संकेत गरेका थिए ।