अमेरिकी ट्राभल एडभाइजरी जारी: नेपालमा कुनै राजनीतिक उथलपुथलको सङ्केत !?

अमेरिकी ट्राभल एडभाइजरी जारी: नेपालमा कुनै राजनीतिक उथलपुथलको सङ्केत !?

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १३, २०८०

करिब दुई साताअघि द्वन्द्व ग्रस्त देशको झल्को दिनेगरी अमेरिकाले नेपाल भ्रमणमा सतर्कता अपनायन भन्दै नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ । नेपाल यतिबेला कुनै घरेलु द्वन्द्व वा बाह्य आक्रमण वा युद्धमा छैन ।

नेपालमा गत महिनासम्मको तथ्यांक हेर्ने हो भने पर्यटक आवागमन पनि रेकर्ड बिन्दुमा बढेको छ । अमेरिकाले ट्राभल एडभाइजरीमा नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई सावधानी अपनाउन सूचित गरेको छ भने भ्रमण तय गरि सकेकाको हकमा पनि एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले पुस २ गते जारी गरेको एडभाइजरीमा नेपालमा अझै पृथक राजनीतिक हिंसाको सम्भावना दाबी गरिएको छ । गत महिना नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र स्थापनाको मागसहित दुर्गा प्रसाईको समूहले काठमाडौंमा एक दिन विरोध प्रदर्शन गरेको थियो । त्यसपछि लगातार गर्ने भनेको विरोध प्रदर्शन सफल हुन सकेन । दुई साताअघि भारतको छत्तीसगढमा नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने मागसहित प्रदर्शन भएको थियो । सो समूहले भारतीय राष्ट्रपतिलाई समेत ज्ञापनपत्र बुझाएको थियो । 

गत साता मात्रै काँग्रेस नेता शंकर भण्डारीले आगामी चैतसम्ममा नेपालको संविधान नै नरहन सक्ने सूचना आफूले पाएको बताएका थिए । आगामी फागुनपछि राप्रपाले पनि हिन्दु राष्ट्र र राजतन्त्रको मागसहित आन्दोलन गर्ने घोषणा गरेको छ । यी सबै विषयलाई हेर्दा अमेरिकी ट्राभल एडभाइजरीले नेपालमा कुनै राजनीतिक उथलपुथलको संकेत गरेको अनुमान लगाउन सकिन्छ ।

दुई दिनअघिमात्रै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा विदेशी षड्यन्त्र भइरहेको आशय समाजवादी मोर्चाको बैठकमा व्यक्त गरेका थिए । यसबाट नेपालमा कुनै न कुनै आन्तरिक र बाह्य शक्तिको चलखेल साँच्चै बढेको हो कि भन्ने आशंका बढेको छ । यही क्रममा अमेरिकाले जारी गरेको ट्राभल एडभाइजरीले अर्को तरंग ल्याएको छ ।

अमेरिकी विदेशमन्त्रालयको ट्राभल एडभाइजरीमा भनिएको छ, ‘पृथक राजनीतिक हिंसाको सम्भावनाका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र सुरक्षाकर्मीले बल प्रयोग गर्न सक्छन् । जोखिमका सूचकहरूको आवधिक समीक्षापछि पछिल्लो ट्राभल एडभाइजरी जारी गरिएको हो ।’ अमेरिकाले जारी गरेको पछिल्लो ट्राभल एडभाइजरी लेभल–२ हो । जसको अर्थ नेपाल भ्रमण गर्दा सावधानी अपनाउनुपर्ने भन्ने हो । 

नेपालको भ्रमण गर्दा प्रदर्शन र भीडबाट बच्न, निकुञ्ज वा संरक्षित क्षेत्रहरूमा पदयात्रा गर्दा एकल वा विदेशी स्वतन्त्र यात्रीलाई स्थानीय गाइड वा भरिया प्रयोग गर्नुपर्ने नेपालका सरकारी आवश्यकता पूरा गर्न अनुरोध गरिएको छ । नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता कायम छ । संघीय गणतन्त्रका पक्षधर शक्तिहरुले बलियोसँग जनआकांक्षालाई सम्बोधन नगर्दा देशमा पुरानै व्यवस्थाका पक्षधर शक्तिहरुले टाउको उठाउन खोजेको देखिन्छ । गत निर्वाचनमा राप्रपाजस्तो पूर्वपञ्चहरुको पार्टीले ठूलो जनमत पाउनु यसैको उदाहरण हो । 

दुई दिनअघिमात्रै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा विदेशी षड्यन्त्र भइरहेको आशय समाजवादी मोर्चाको बैठकमा व्यक्त गरेका थिए । यसबाट नेपालमा कुनै न कुनै आन्तरिक र बाह्य शक्तिको चलखेल साँच्चै बढेको हो कि भन्ने आशंका बढेको छ । यही क्रममा अमेरिकाले जारी गरेको ट्राभल एडभाइजरीले अर्को तरंग ल्याएको छ ।

नेपालमा हरेक १५–२० वर्षमा राजनीतिक परिवर्तनका आन्दोलन हुँदै आएका छन् । यतिबेला गणतन्त्रवादी शक्तिहरु एकजुट नरहेको, सत्ताको छिनाझम्टीले दलहरु स्वार्थ केन्द्रित भएको, जनतामा असन्तुष्टि बढिरहेको तथा राजावादी र हिन्दुवादी शक्तिहरु सल्बलाएको समयलाई सतर्कतापूर्वक हेर्नुपर्ने देखिन्छ ।