नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवस: सप्ताहव्यापी कार्यक्रमको उद्‍घाटनसहित  कविता वाचन

नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवस: सप्ताहव्यापी कार्यक्रमको उद्‍घाटनसहित  कविता वाचन

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष १४, २०८०

नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन भएको नेपाल स्रष्टा समाजले जनाएको छ ।

नेपाल स्रष्टा समाजका अनुसार  ललितपुरको पाटन सङ्ग्रहालयमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले गर्नुभयो । उहाँले वि.सं. २०६४ मा नै पर्या साहित्यको सिद्धान्त निर्माण गरेकोमा अहिले तीनजनाले विद्यावारिधिसमेत गरिसकेको बताउनुभयो । सोही अवसरमा ‘स्रष्टा दर्पण’ को ३० अङ्कको विमोचन गरिएको थियो । 
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को सभापतित्वमा  भएको समारोहमा सङ्ग्रहालयका प्रमुख मन्जु भण्डारी थापा, संरक्षक पवन आलोक, उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’, महासचिव देविका तिमिल्सिना र विश्वविमोहन श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त समारोहमा पर्या तथा सम्पदा कविगोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा कविहरू नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, भीष्म उप्रेती, नरेन्द्रराज पौडेल, विजय हितान, भारती न्यौपाने, सीता कणेल, जीवनाथ पोखरेल, डा।हिमलाल श्रेष्ठ, बुद्धिमान मर्हजन र राजेशमान केसीले कविता वाचन गर्नुभएको थियो ।