प्रवासी नेपाली एकता मञ्च कतारको छैठौं राष्ट्रिय अधिवेशन जनवरी १२ मा

प्रवासी नेपाली एकता मञ्च कतारको छैठौं राष्ट्रिय अधिवेशन जनवरी १२ मा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १५, २०८०

नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च कतारको छैठौं राष्ट्रिय अधिवेशन जनवरी १२ मा हुने भएको छ।दोहास्थित क्राउन प्लाजामा हुने अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेभएको समाचार छ। 

प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय कमिटीको अधिवेशन गर्नु पूर्व   विभिन्न  देशका आफ्ना राष्ट्रिय कमिटीका अधिवेशन धमाधम सम्पन्न गरिरहेको छ।

अधिवेशनमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे प्रमुख अतिथिको रुपमा कतार आउने भएका छन्। समाजवादी पार्टीको प्रवास विशेष प्रदेशको संयोजन गर्ने नयाँ जिम्मेवारी पाएकी केन्द्रीय सचिव रामकुमारी झाँक्री र मञ्चका अन्तर्राष्ट्रिय संयोजक श्रीप्रसाद शाह पनि अधिवेशनलाई सम्बोधन गर्न कतार आउने भएका छन्।

अधिवेशनलाई भव्य सफल बनाउन सांगठानिक प्रतिवेदन लेखन, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन,  यातायात व्यवस्थापन, स्वयंसेवक, हल व्यवस्थापन, अतिथी सत्कार लगायतका १० वटा विभिन्न उपसमितिहरू बनाएर तयारी भइरहेको मञ्चका कार्यवाहक अध्यक्ष गणेश ढकालले जानकारी दिए।कतारमा प्रवासी नेपाली एकता मञ्च मजदुरको हकहितको पक्षमा क्रियाशील संस्था भएकोले अधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा कतारमा रहेका नेपालीलाई उपस्थितिको लागि उनले अनुरोध गरेका छन्।