प्रहरी महानिरीक्षकद्वारा  नायव महानिरीक्षकको ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रहको लोकार्पण

प्रहरी महानिरीक्षकद्वारा  नायव महानिरीक्षकको ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रहको लोकार्पण

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १५, २०८०

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले  प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह आज एक समारोहमा लोकार्पण गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो लागेता पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तर सम्बन्धित रहने बताउनुभयो । उहाँले नेपाल प्रहरीका सदस्यहरूले  नेपाली साहित्यमा गर्विलो छाप छोडेको स्मरण गर्नुभयो ।

उक्त अवसरमा डा. ध्रुबचन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्यकर्ममा समेत इमानदार, निष्ठावान र सफल रहेको चर्चा गर्नुभयो । साथै राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो । 

उक्त कथासङ्ग्रहको प्रकाशक संस्था शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा कथासङ्ग्रहका सर्जक प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।