माया छ मनैमा, मोहनी शिरैमा

माया छ मनैमा, मोहनी शिरैमा

यमबहादुर दुरा  |  लोकरञ्जन  |  जेठ २४, २०७६

यसपटक मानव मनोविज्ञानको कुरा गर्न मन लाग्यो । त्यो पनि मोहनीका कुरा । हाम्रो विश्वास प्रणालीमा मोहनीले ठूलै स्थान ओगटेको छ । त्यही भएर नै होला, शृंगारिक वृत्तमा मोहनीसँग जोडिएका कुरा व्यापक रूपमा प्रयोग भइरहेका छन्, जस्तै: मोहनी मन्त्र, मोहनी नजर, मोहनी भाका, मोहनी आँखा, मोहनी मुस्कान, दन्ते मोहनी, मोहनी बोली, मोहनी रूप आदि ।

मोहनी जम्मा तीन अक्षरको शब्द छ । तर, यो अर्थचाहिँ तीन त्रिलोक १४ भुवन जोड्ने गरी व्यापक छ । मोहनीलाई अनेक तरहले परिभाषित गरेको पाइन्छ । आकर्षित तुल्याउने शक्ति, मोहित गर्ने शक्ति, दिल लोभ्याउने शक्ति आदि भनेर यसलाई परिभाषित गरिएको पाइन्छ ।

‘नेपाली बृहत शब्दकोश’ (२०५८) ले मोहनी शब्दलाई यसरी परिभाषित गरेको छः ‘मुग्ध तुल्याउने वा मोहमा अल्झाउने (स्त्री) । एक अप्सराको नाम । एकप्रकारको चमेलीको फूल । मोहिनी विद्या; वशीकरण विद्या ।’

मोहनीको अंग्रेजी समानार्थी शब्दको रूपमा ‘चार्मिङ’ उभ्याइएको पाइन्छ । हाम्रो सन्दर्भमा यो शब्दले पर्याप्त अर्थ बोक्ने देखिँदैन । यसमा पर्याप्त अपूरोपन छ । हाम्रो सन्दर्भमा कसैको आकर्षक रूप, व्यक्तित्व र व्यवहारलाई मात्र मोहनी भनिँदैन । कसैलाई वशीभूत तुल्याउनुलाई पनि मोहनी भनिन्छ । त्यसैले, यसको अर्थ आकाश जत्तिकै विशाल छ । 

कसैको रूप–रंग देखेर भुतुक्कै हुनेदेखि कसैलाई मन्त्रद्वारा वशमा पारेर घरबार जोड्नेसम्मका क्रियाकलापलाई व्यावहारिक रूपमा मोहनी भनिएको पाइन्छ । मोहनीको विस्तारित अर्थ खोज्न सम्मोहनकला (अर्ट अफ हिप्नोटिजम) सम्म पुग्नुपर्ने देखिन्छ । मोहनी परिभाषाबारे अहिले यति नै । 

माया के हो ? मोहनी के हो ? यस्ता प्रश्नको उत्तर जति गहिरिएर खोज्न थाल्यो, उति निष्कर्षविहीन हुन पुगिन्छ । अनि माया कहाँ बस्छ ? मोहनी कहाँ बस्छ ? धेरै प्रश्न अनुत्तरित छ । सायद, विज्ञानले पनि यस्ता प्रश्नको उत्तर दिन सकेको छैन ।

लोकजीवनको दरिलो अभिव्यक्ति–माध्यम बनेको लोकगीतमा मोहनीको प्रसंग नआउने कुरै भएन । लोकगीतमा मोहनीका प्रसंगहरू यत्रतत्र भेटिन्छन् । यस्तो लाग्छ– नेपाली लोकगीत मोहनी उब्जिने उर्बर बारी हो ।

माया के हो ? मोहनी के हो ? यस्ता प्रश्नको उत्तर जति गहिरिएर खोज्न थाल्यो, उति निष्कर्षविहीन हुन पुगिन्छ । अनि माया कहाँ बस्छ ? मोहनी कहाँ बस्छ ? धेरै प्रश्न अनुत्तरित छ । सायद, विज्ञानले पनि यस्ता प्रश्नको उत्तर दिन सकेको छैन ।

तर, हाम्रा लोकसर्जकहरूले माया कहाँ बस्छ अनि मोहनी कहाँ बस्छ भन्ने प्रश्नको उत्तर दिइसकेका छन् । कुरो यस्तो छः ‘सलल पानी बबईको तिरैमा, माया छ मनैमा मोहनी शिरैमा’ । यो कुरा कत्तिको विज्ञानसम्मत छ, कत्तिको तर्कसंगत छ, त्योचाहिँ फेरि पनि अध्ययन–अनुसन्धानकै विषय हो । 

यो मायावी दुनियाँमा माया र मोहनीका कुरा अपरम्पार छ । मायाको भोगीदेखि जोगीसम्मले भन्दै आएका छन्– यस्ता माया र मोहनीका प्रसंगहरू बल्झिँदै, सुस्ताउँदै पनि फेरि बौरिँदै जान्छन् । यही मेहरोमा कतिपयले त चाहेको मान्छेलाई नपाउँदा रुने मोहनीलाई अन्तिम अस्त्रको रूपमा प्रयोग गरेको पाइन्छ । नेपाली लोकगीतको यो हरफले यही दृष्टान्त पस्केको छः ‘यसै मलाई नहुने उसै मलाई नहुने, लाइदेऊ क्यारे रुने मोहने’ ।

हाम्रो विश्वास प्रणाली पनि गजबकै छ । मन्त्र, जप, अक्षताले मोहनी लगाउने अचुक अस्त्रको रूपमा काम गर्छ भन्ने मान्यता छ । मन्त्र जप्दै मन परेको मान्छेलाई अक्षता छर्किदिएमा ऊ वशीभूत भई आफ्नो पासोमा पर्छ भन्ने मान्यता पुरानो हो । मोहनी पासोबारे असंख्य गीतले नेपाली लोकगीतको भण्डार भरिएका छन् ।

केले मोहनी लगाउँछ ? यसको उत्तर अनेक आउन सक्छ । कसैले बुझाइमा रूपले मोहनी लगाउँछ । कसैको दृष्टिमा हेराइले मोहनी लगाउँछ । कसै बुझाइमा मुस्कानले मोहनी लगाउँछ । कसैको दृष्टिमा बोलीले मोहनी लगाउँछ ।

धेरै मतमा बोलीबचनले बसालेको सम्बन्धको जग दीगो हुन्छ । कसैलाई लाउन–खान दिएको आधारमा सम्बन्धको पुल बलियो हुँदैन, त्यो नितान्त क्षणिक भन्ने मान्यता छ । बोलीले बसालेको सम्बन्धको जग बलियो हुन्छ । बोलीमा पैसा पर्दैन । तर, त्यही निशुल्क बोली धेरैका लागि अमूल्य हुन्छ । त्यही बोलीमा मोहनी बसेको हुन्छ ।

मोहनी लगाउन पनि मिल्छ, फुकाउन पनि मिल्छ । लोकगीतको हरफले यही वास्तविकता उजागर गर्छः ‘छ भने माया छपक्कै लाइदेऊ, छैन भने माया मोहनी फुकाइदेऊ’ । आधुनिक समाजले जति नै नकारे पनि अझै पनि दूरदराजका बस्तीमा धेरै धामी–झाँक्रीले मोहनी फुकाउँदै गरेका होलान् ।

आमाका लागि बच्चाको तोतेबोली आमाका लागि जति अमूल्य हुन्छ, मायाका भोगीहरूका लागि आफ्नो मान्छेको बोली त्यत्तिकै अमूल्य हुँदो हो । हाम्रा वनपाखामा गुञ्जने लोकभाकाको यो हरफले यही वास्तविकता बोलिरहेको छः यो मायाको मोहनी बोली, आजभन्दा सम्झौँला झन् भोलि ।

कतै मोहनीलाई सम्मोहन गर्ने विधिको रूपमा चित्रण गरिन्छ भने कसैको आकर्षक रूप–रंगको रूपमा पनि बुझ्ने गरिएको पाइन्छः  ‘झटारोले हानुँ कि, अंकुसेले तानुँ कि यो मायाको रूपै मोहनी’ । यहाँनेर, मोहनी सम्मोहन विधि नभई आकर्षक शरीरको रूपमा चित्रण हुन गएको छ । मोहनी सम्मोहन विधि र रूप दुवै हुनुपर्छ ।

हाम्रो विश्वास प्रणालीको राय छ– मोहनी लगाउन पनि मिल्छ, फुकाउन पनि मिल्छ । लोकगीतको हरफले यही वास्तविकता उजागर गर्छः ‘छ भने माया छपक्कै लाइदेऊ, छैन भने माया मोहनी फुकाइदेऊ’ । आधुनिक समाजले जति नै नकारे पनि अझै पनि दूरदराजका बस्तीमा धेरै धामी–झाँक्रीले मोहनी फुकाउँदै गरेका होलान् ।  

यी त भए, नेपाली लोकसाहित्यको एक हिस्सा लोकगीत मोहनीले कस्तो स्थान ओगटेको छ भन्नेबारे हल्काफुल्का दृष्टान्त । मोहनी शृंगारिक विषय भएर होला, यसमा प्रेम–प्रणयका कुरा नै बढी आएका छन् ।
प्रेम–प्रणय नै सही । मोहनीबारे मनोसामाजिक र मनोवैज्ञानिक पक्षहरूको विश्लेषण हुन धेरै बाँकी छ । त्यसमा पनि लोकसाहित्यको दृष्टिबाट हेर्ने हो भने यसबारे अन्वेषण हुनका लागि सिंगो संसार नै बाँकी छ । आशा छ, कसैको यतातिर आँखा लाग्नेछ ।