उत्तर कोरियाको मिसन 20२४: दक्षिण कोरिया अमेरिकी सेना र परमाणु भण्डार !

उत्तर कोरियाको मिसन 20२४: दक्षिण कोरिया अमेरिकी सेना र परमाणु भण्डार !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस १६, २०८०

सन् २०२३ सकिदै गर्दा अमेरिकी दबदबा रहेको विश्व व्यवस्थामा केही ठोस बदलाबका संकेत देखिएका छन् । अमेरिका, युरोपसहित प्रमुख लोकतान्त्रिक भनिने देशले केही झट्काको सामना गर्नुपरेको छ । पश्चिमा प्रभुत्व रहेका कतिपय क्षेत्रमा विनाशकारी घटना समेत भए ।

अमेरिकासहित सिंगो पश्चिमा शक्ति रुस विरुद्ध परिचालित भएको रुस–युक्रेन युद्ध, इरानको बढ्दो शक्ति, उत्तर कोरियाको निरन्तरको आणविक कार्यक्रम, दक्षिण चीन सागर र हिन्द–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको शक्ति विस्तारजस्ता घटनाले विश्व शक्तिमा अब अमेरिकाको दबदबा कम हुँदै गएको आकलन गरिएको छ । 

विश्व व्यवस्थामा आइरहेको यही परिवर्तनमा एक जबर्जस्त शक्तिका रुपमा उदाएको छ, उत्तर कोरिया । उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०२४ का लागि तय गरेको मुख्य लक्ष्यमा दक्षिण कोरियालाई लिएर मूलभूत बदलाव हुने बताएका छन् । उत्तर कोरियाली नेता किमले आफूसँग परमाणु कार्यक्रमलाई अघि बढाउनुको कुनै विकल्प नभएको समेत बताएका छन् । 

उत्तर कोरियाली सरकारी मिडियाका अनुसार उनको देश सन् २०२४ तीन वटा थप जासुसी स्याटेलाइट लन्च गर्ने लक्ष्यमा छ । यो योजना देशको सैन्य शक्ति बढाउने प्रयासको हिस्सा हो । उत्तर कोरियाले गत महिना एक स्पाई स्याटेलाइट अन्तरिक्षमा पठाएको थियो । त्यसलगत्तै उसले अमेरिका र दक्षिण कोरियाका प्रमुख सैन्य अड्डाको तस्बिर प्राप्त गरेको दाबी गरेको थियो । दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियालाई संयमता अपनाउन चेतावनी दिएको छ । 

‘हामीमाथि अतिक्रमण गर्ने उद्देश्यले दुश्मनले उठाएका लापरबाहीपूर्ण कदमले कोरियाली प्रायद्वीपमा कुनै पनि समय युद्ध हुनसक्छ’, उनले भनेका छन्, ‘दक्षिण कोरिया अमेरिकाको अग्रिम सैन्य अड्डा र परमाणु हतियारको भण्डारण बनिसकेको छ । यदि दुश्मन सेनाले चालेका कदमलाई नजिकबाट हेर्ने हो भने युद्ध शब्द काल्पनिक नभएर यथार्थ बनिसकेको छ ।’

उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टी अफ कोरियाको वर्षको अन्तिममा भएको बैठकमा किम जोङ उनले दक्षिण कोरियासँग अब एकीकरण सम्भव नभएको बताए । उनले दक्षिण कोरियाले उत्तर कोरियालाई दुश्मनका रुपमा हेर्ने गरेको समेत उल्लेख गरेका छन् । उत्तर कोरियाली नेता किमले पहिलो पटक दक्षिण कोरियासँग एकीकरणको प्रयास सम्भव नरहेको बताएका हुन् । यो उत्तर कोरियाको दक्षिण कोरियाप्रतिको आधिकारिक बदलाब हो ।

यद्यपि पछिल्ला केही वर्षदेखि नै उत्तर कोरियाले एकीकरणलाई लिएर कुनै प्रयास गरिरहेका थिएन । दुई देशबीचको सम्बन्ध खराब अवस्थामा छ । गत महिना स्पाई स्याटेलाइट लन्च गरेपछि उत्तर कोरियाले दक्षिण कोरियासँगको एक सम्झौता समेत रद्द गरिदिएको थियो । जुन सम्झौता सैन्य सम्बन्धमा तनाब कम गर्ने उद्देश्यले गरिएको थियो । उत्तर कोरियाले सन् २०२३ मा लगातार मिसाइल परीक्षण गर्‍यो ।

संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धलाई नजरअन्दाज गर्दै उत्तर कोरियाले लामो दुरीको आफ्नो सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो । यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलले उत्तर अमेरिकी महादेशसम्म प्रहार गर्न सक्ने क्षमता राख्छ । यस परीक्षणको पश्चिमी देशले निन्दा गरेका थिए । 

अमेरिका र दक्षिण कोरियाबीच रक्षा साझेदारी बलियो भएकोमा उत्तर कोरिया रुष्ट छ । खासगरी उसको समुद्री सीमामा अमेरिकी परमाणु पनडुब्बी आएपछि उत्तर कोरिया दक्षिण कोरियासँग आक्रामक बनेको हो । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार किमले अमेरिकाप्रति आक्रोश व्यक्त गरेका छन् । ‘हामीमाथि अतिक्रमण गर्ने उद्देश्यले दुश्मनले उठाएका लापरबाहीपूर्ण कदमले कोरियाली प्रायद्वीपमा कुनै पनि समय युद्ध हुनसक्छ’, उनले भनेका छन्, ‘दक्षिण कोरिया अमेरिकाको अग्रिम सैन्य अड्डा र परमाणु हतियारको भण्डारण बनिसकेको छ । यदि दुश्मन सेनाले चालेका कदमलाई नजिकबाट हेर्ने हो भने युद्ध शब्द काल्पनिक नभएर यथार्थ बनिसकेको छ ।’

किम जोङ उनले सन् २०२४ मा सेनासँग जोडिएका थप विकास गर्ने बताएका छन् । परमाणु र मिसाइल शक्तिलाई बलियो बनाउने र थप ड्रोन निर्माण गर्ने लक्ष्य राखेको बताएका छन् । उनले भने, ‘हामी सम्भावित परमाणु संकटलाई तत्कालै जवाफ दिन तयार हुनुपर्नेछ । यो क्षेत्रलाई शान्त राख्नका लागि आफ्नो तयारीमा तीव्रता ल्याउनुपर्छ । यसका लागि हामीले पूरै शक्ति लगाउनुपर्छ । यसमा परमाणु शक्ति पनि सामेल छ ।’