बालकुमारी घटना: मन्त्री प्रकाश ज्वालाले निम्त्याएको र आइलागेको सङ्कट !

लोकसंवाद टिप्पणी

बालकुमारी घटना:  मन्त्री प्रकाश ज्वालाले निम्त्याएको र आइलागेको सङ्कट !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १८, २०८०

ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा परेका छन् । घटना भए लगत्तै देखि बालकुमारी घटनामा आफ्नो कुनै सरोकार र संलग्नता नभएको बताइरहेका ज्वालामाथि राजीनामाको दबाब समेत बढेको छ । 

पुस १३ गते पार्टीको बैठकबाट निस्किएर फेरि पार्टीको बैठककै लागि भनेर ज्वाला बालकुमारी पुग्दा कोरियाको रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन पाउनुपर्ने मागसहित आन्दोलनरत युवाको समूह उत्तेजित बनेको थियो । पानीजहाज निर्माण कम्पनीका लागि आवेदन दिएर असफल भएकाहरुले यस वर्ष इपीएस परीक्षामा सामेल हुन नपाउने भएपछि उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनकारी र प्रहरीबीच सामान्य तनाव उत्पन्न भएकै बेला मन्त्रीको गाडी पुगेपछि तनाव बढेको थियो । सो क्रममा आक्रोशित समूहले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको थियो भने प्रहरीसँगको झडपका क्रममा दुई जना युवाको मृत्यु भएको थियो । युवाको मृत्युलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको छ । सरकारमाथि नै आक्रोश पोखिएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर ज्वालालाई मन्त्रीबाट फिर्ता बनाउन अनुरोध गरेका छन् । 

त्यसो त प्रधानमन्त्री प्रचण्ड आफ्नो कार्यकाल एक वर्ष पुगेदेखि नै मन्त्री फेर्ने योजनामा छन् । यही क्रममा ज्वालालाई एकीकृत समाजवादीले फिर्ता बोलाएमा सरकारमाथिको आलोचना कम हुने प्रधानमन्त्रीको विश्लेषण देखिन्छ । यो घटनालाई लिएर व्यक्त भएका कतिपय विचारप्रति भने प्रधानमन्त्री आक्रोशित देखिन्छन् । जुन उनले सोमबार नेपाली काँग्रेसले मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमका क्रममा पनि पोखेका छन् । खासगरी राज्य व्यवस्था तथा सुशासन समितिमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले प्रचण्ड पुत्री गंगा दाहाललाई लक्षित गर्दै दिएको अभिव्यक्ति, साहित्यकार पुण्यप्रसाद प्रसाईले प्रधानमन्त्री र गृहमन्त्रीलगायतका परिवारका सदस्यलाई गोली हान्नेलाई करोड दिने भन्दै दिएको गैरजिम्मेवार अभिव्यक्तिलाई लिएर प्रचण्ड आक्रोशित देखिन्छन् । 

मन्त्री ज्वालाले भने आफू र आफ्नो मन्त्रालयसँग यो घटनाको कुनै सम्बन्ध नभएको बताउँदै आएका छन् । यद्यपि यो घटनामा उनका पीएसओको समेत गम्भीर लापरबाही देखिएको भन्दै उनलाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ । मन्त्री नै सुरक्षा संवेदनशीलताको ख्याल नगरी त्यहाँ पुग्दा घटना घटेको र दुई युवाको मृत्यु भएको भन्दै मन्त्री ज्वालाको चर्को आलोचना भइरहेको छ । प्रहरी प्रमुख आईजीपी बसन्त कुँवरले राज्य व्यवस्था समितिमा बोल्दै ‘मन्त्रीज्यू नजानुभएको भए घटना हुँदैनथ्यो’ भनेका छन्

यद्यपि यो आक्रोश सरकारप्रतिको आक्रोशका रुपमा लिँदै प्रधानमन्त्रीले ज्वालालाई मन्त्रिपरिषद पुनर्गठनका क्रममा फिर्ता बोलाउन अध्यक्ष नेपाललाई आग्रह गरेका हुन् । ईपीएस शाखा कार्यालय बालकुमारीमा युवाहरुले आन्दोलन गरिरहेका बेला मन्त्री ज्वाला त्यहाँ पुगेका थिए । सो क्रममा युवाहरूले उनको गाडी घेरेर आगो लगाएपछि सुरक्षाकर्मीले दमन गर्दा दैलेखका सुजन रावत र गोली लागेर अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । 

मन्त्री ज्वालाले भने आफू र आफ्नो मन्त्रालयसँग यो घटनाको कुनै सम्बन्ध नभएको बताउँदै आएका छन् । यद्यपि यो घटनामा उनका पीएसओको समेत गम्भीर लापरबाही देखिएको भन्दै उनलाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ । मन्त्री नै सुरक्षा संवेदनशीलताको ख्याल नगरी त्यहाँ पुग्दा घटना घटेको र दुई युवाको मृत्यु भएको भन्दै मन्त्री ज्वालाको चर्को आलोचना भइरहेको छ । प्रहरी प्रमुख आईजीपी बसन्त कुँवरले राज्य व्यवस्था समितिमा बोल्दै ‘मन्त्रीज्यू नजानुभएको भए घटना हुँदैनथ्यो’ भनेका छन् । प्रहरी प्रमुखको यो भनाइपछि ज्वालामाथि झनै राजीनामाको दबाब बढेको छ । 

घटनापछि सरकारी पक्षले पनि मन्त्री ज्वाला प्रदर्शन स्थलमा नगई वैकल्पिक मार्ग प्रयोग गरेको भए गम्भीर क्षति हुँदैनथ्यो भन्ने निष्कर्ष निकालेको देखिन्छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले बालकुमारी घटना हुनुका तीन/चार कारणमध्ये मन्त्री ज्वालाको प्रवेश पनि एक प्रमुख कारण रहेको बताएका छन् । यो अभिव्यक्तिले मन्त्री ज्वालाको उपस्थिति घटनाको कारकका रुपमा अनुसन्धानको विषय बन्ने निश्चित छ । 

गृह मन्त्रालयले नेपाल प्रहरीका डीआइजी लालमणि आचार्यको नेतृत्वमा बनाएको तीन सदस्यीय छानबिन समितिप्रति पीडितहरुले चित्त नबुझाएपछि सरकारले घटनाको निष्पक्ष छानबिनका लागि पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिसकेको छ । एक महिनाको कार्यादेश पाएको आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् । सुरक्षा अंगका प्रमुखहरुको विश्लेषणबाट घटना घट्नुमा मन्त्री ज्वालाको उपस्थिति पनि जिम्मेवार देखिन्छ । घटनाबारे थप अनुसन्धान उच्चस्तरीय जाँचबुझ आयोगले नै गर्ने नै छ  ।