प्रधानमन्त्रीद्वारा  हिमालयन ट्राभल मार्टको शुभारम्भ

प्रधानमन्त्रीद्वारा  हिमालयन ट्राभल मार्टको शुभारम्भ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २४, २०७६

 काठमाडौँ । नेपाली पर्यटन क्षेत्रकै ठुलो मेलाका रूपमा लिइँदै आएको ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण २०७६ साल जेठ बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ ।

नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटन मैत्री गन्तव्यका रूपमा विश्व सामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि नेपालमा ‘मार्ट’ को आयोजना हुँदै आएको छ ।  

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ –संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो ।

मार्गको २०७६ जेठ २४ गते शुक्रवार एक समारोहकाबीच उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालयको देश नेपाल प्राकृतिक सौन्दर्य,जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भएको बताउनु भएको छ । 

प्रधानमन्त्री ओलीले असिमिति पर्यटकीय प्रडक्डलाई उजागर गर्न मार्ट उपयुक्त माध्यम भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले नेपालको आर्थिक समृद्धिमा पर्यटनको महत्त्वपूर्ण योगदान रहने र सरकारले समेत पर्यटनलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।  सरकारले  घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत सहयोगी हुने विश्वास व्यक्त गर्नु भयो । पर्यटन राज्यमन्त्री धन बहादुर बुढाले मार्टले सरकार पर्यटनको विकासको लागि प्रतिबद्ध रहको बताउँदै मार्टले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न सहयोग पुगेन बताउनु  भयो ।

कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ हुँदै आइरहेको बताउनु भयो । उहाँले नेपालको पर्यटन विकासको लागि पूर्वाधार विकास,नीतिगत सुधार तथा जनशक्ति विकासमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले नेपालको पर्यटन विकासमा निजी क्षेत्र सधैँ सक्रिय रहेको बताउनु भयो । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल पर्यटन उहाँले मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ‘ट्राभल ट्रेड’ मेलाको रूपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताए । उहाँले मार्ट नेपालमा सार्वजनिक निजी साझेदारीको उपयुक्त नमुना भएको बताउनु भयो ।

पाटा इन्टरनेशनलका उपाध्यक्ष वोङ्ग सुन ह्वाले नेपालको विकासमा पर्यटन  महत्त्वपूर्ण माध्यम भएको बताउँदै नेपालको पर्यटन विकासमा पाटा इन्टरनेशनल सधैँ साथमा रहको बताउनु भयो ।  

मार्टमा पर्यटन क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  व्यक्तिहरूबाट नेपालको पर्यटनका विविध पक्षमाथि अन्तरक्रिया तथा बी–टु–बी मिटिङ आयोजना हुने पाटा नेपाल च्याप्टरका महासचिव विभूति चन्द ठाकुरले जानकारी दिए  ।  सम्मेलनमा नेपाल सहित ४३ देशका करिब ७०० को सहभागिता रहेको छ । यसअघि सन् २०१७ सालमा ५३ देशका २२५ विदेशी प्रतिनिधि र सन् २०१८ मा सम्पन्न भएको ‘मार्ट’मा ३६ देशका १७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । सोल्टी क्राउन प्लाजामा बिहीबार देखि सुरु भएको मार्ट आइतबारसम्म चल्ने छ । उद्घाटन समारोहमा विविध संस्कृति प्रस्त’ती गरिएको थियो । सुदूरपश्चिमको प्रसिद्ध छलिया नृत्य, हुडकेलीलगायत प्रस्तुत गरिएको थियो ।