बिर्तामोड  ‘प्रथम जुत्ताचप्पल व्यापार महोत्सव’ : ८५ लाखको जुत्ताचप्पल बिक्री

बिर्तामोड  ‘प्रथम जुत्ताचप्पल व्यापार महोत्सव’ : ८५ लाखको जुत्ताचप्पल बिक्री

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २२, २०८०

झापा  । नेपाली जुत्ता चप्पल उद्योगी समूह र बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिले बिर्तामोडमा आयोजना गरेको ‘प्रथम जुत्ता चप्पल व्यापार महोत्सव’मा दश दिनमा  ८५ लाखको कारोबार भएको छ ।

यही पुस ९ गते देखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको दश दिनमा ६० हजारले मेला अवलोकन गरेका नेपाली जुत्ता चप्पल उद्योगी समूहका पूर्व अध्यक्ष होम उपाध्यायले बताउनुभयो । एक महिनामा एक लाख ५० हजार दर्शकलाई अवलोकन गराउने भन्दै रु तीन करोडको जुत्ता चप्पल बिक्री गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिका सञ्चालक उमेश राउतले महोत्सवमा आठ कम्पनीका १५ ब्रान्डका तीन हजार डिजाइनका जुत्ता चप्पल बिक्रीका लागि राखिएको बताउनुभयो । 

 पछिल्लो समय स्वदेशमा उत्पादित गुणस्तरीय जुत्ता चप्पलले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको जनाउँदै नेपाली जुत्ता चप्पल उद्योगी समूहका पूर्व अध्यक्ष उपाध्यायले सामूहिक ब्रान्डिङ र शोरुमको अभ्यास थालिएको बताउनुभयो । उहाँका अनुसार महोत्सवमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । 

  हाम्रो जुत्ता घर नामक फेसबुक पेज लाइक गर्नेहरुलाई सामान खरिदमा दुई प्रतिशत ‘क्यास ब्याक’ अफर दिइएको आयोजकले जनाएको छ । व्यापारी टीका उप्रेतीले महोत्सवमा उत्साहजनक व्यापार भइरहेको बताउनुभयो । “दैनिक एउटा स्टलबाट रु २५ हजारसम्म बिक्री भइरहेको छ । आगामी दिनमा अझ बढ्ने आशा गरेका छौँ”, उहाँले भन्नुभयो ।