गुट परिवर्तनको प्रभाव: देउवाको साथ हुँदाहुँदै पनि शङ्का र सतर्कतामा सिटौला !

लोकसंवाद टिप्पणी

गुट परिवर्तनको प्रभाव: देउवाको साथ हुँदाहुँदै पनि शङ्का र सतर्कतामा सिटौला !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २, २०८०

संविधान जारी भएपछि प्रतिनिधिसभामा आउन नपाएका काँग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला यसपटक राष्ट्रियसभा सदस्यको निर्वाचनमा मैदानमा उत्रिएका छन् ।

गाउँपालिका/नगरपालिकाका प्रमुख र प्रदेश सांसदले भोट हाल्ने भएका कारण सिटौलाको पक्षमा जित निकाल्न पर्याप्त मत छ । तर चुनाव नजिकिदैं गर्दा सिटौला मत माग्न कोशी प्रदेशका सबै जिल्लामा पुग्ने क्रममा छन् । कुनै समय काँग्रेसमा कोइराला परिवारले विश्वास गरेका पात्र सिटौला यतिबेला शेखर कोइराला समूहसँग सशंकित छन् ।

यद्यपि उनले उम्मेदवारी दर्ता गर्दै शेखर समूहबाट मुख्यमन्त्री बनेका केदार कार्कीसँगै बसेर फोटो खिचाए भने सधैं टक्करको राजनीति गरेका विश्वप्रकाश शर्मासँग राष्ट्रियसभा निर्वाचनले नै सिटौलालाई नजिक ल्याइदिएको छ । उनी सकेसम्म सबै जिल्लामा पुगेर मत माग्ने योजनामा छन् । 

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएकालाई राष्ट्रियसभाको टिकट दिन नहुने मत पार्टीभित्र थियो । तर गत महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउन सहयोग गरेका सिटौलाले पार्टीको संस्थापन इतर समूहलाई पनि टिकटका लागि सहमत बनाए । सिटौला गत वर्ष भएको निर्वाचनमा झापा–३ मा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । काँग्रेसभित्र समन्वयकारी भूमिकाकै कारण सिटौला कोइराला परिवारको नेतृत्व रहँदा विश्वासपात्र बनेका थिए । अहिले पनि सिटौलाको नाममा सर्व सम्मति बनेको बताइन्छ । 

कोशी प्रदेशमा अन्य प्रदेशमा भन्दा मतान्तर कम छ । प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । प्रदेश सांसदको मत भार प्रतिसांसद ५३ छ । यसरी हेर्दा गठबन्धनको कुल मतभार २ हजार ४९१ छ । 

यसैगरी, स्थानीय तहमा कांग्रेसका ११५, माओवादीका ३१, एकीकृत समाजवादीका ७ र जसपाका ४ जना अध्यक्ष÷उपाध्यक्ष, प्रमुख/उपप्रमुख छन् । कांग्रेसको मतभार २ हजार १८५, माओवादीको ५ सय ८९,  एकीकृत समाजवादीको १ सय ३३ र  जसपाको ७६ मतभार छ । दुवैलाई जोड्दा गठबन्धनको कुल मतभार ५ हजार ४७४ छ । कोशीमा एमालेको कुल मतभार ४ हजार २१०, राप्रपाको ३ सय ९४, जसपाको १ सय २९ र स्वतन्त्रको ५७ मतभार छ ।

देउवाको पहिलो कार्यकालभरी काँग्रेसभित्र तेस्रो धारको नेतृत्व गरेका सिटौला गत महाधिवेशनमा देउवालाई सभापति बनाउन खुलेरै लागे । अघिल्लो पटक सिटौला समूहबाट महामन्त्री लडेका गगन थापा शेखर कोइराला समूहमा पुगे भने सिटौलाले प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए । अघिल्लो महाधिवेशनको संस्थापन समूह पनि खण्डित भयो ।

यसरी हेर्दा कोशीमा गठबन्धनको मतभार एमालेको भन्दा एक हजार २६४ ले बढी छ । त्यसैले गोप्य मतदानमा केही मत तलमाथि पार्नसके जित्न सकिने एमालेको पनि अनुमान देखिन्छ । त्यसैले सिटौला यसमा सतर्क भएर सकेसम्म सबै जिल्लामा पुगेर मत माग्ने योजनामा लागेका हुन् । 

संविधान जारी भएपछि भएका दुई निर्वाचनमा पराजित सिटौला झण्डै एक दशकदेखि नेपाली राजनीतिमा भूमिका बिहीन जस्तो बने । कोइराला परिवारको विश्वासपात्रका रुपमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई सघाएका सिटौला सुशीलपछि आफैं पार्टी सभापति बन्न चाहन्थे । पार्टीको महामन्त्री भइसकेको, गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा गृहमन्त्रीका रुपमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कुशलतापूर्वक भूमिका निर्वाह गरेको, ज्ञानेन्द्र शाहलाई नारायणहिटीबाट शितल निवास पठाउने कार्यमा खेलेको भूमिकाजस्ता कुराले सिटौलाको राजनीतिक कौशलता र चातुर्यता झल्किन्थ्यो ।

त्यसैले उनी सभापतिका दाबेदार मानिन्थे । उनले तत्कालीन सभापति सुशील कोइरालालाई पनि पार्टी सभापतिमा उम्मेदवारी दिने भन्दै सहयोग मागिसकेका थिए । तर अचानक कोइरालाको निधन भयो र पार्टीको तत्कालीन संस्थापन पक्षको नेता रामचन्द्र पौडेल भए । पौडेलले सिटौलालाई समेट्न सकेनन् र पार्टीको महाधिवेशनमा पौडेलसँगै सिटौला संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्दा लामो समयदेखि इतर समूहको नेतृत्व गरिरहेका शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । देउवाको पहिलो कार्यकालभरी काँग्रेसभित्र तेस्रो धारको नेतृत्व गरेका सिटौला गत महाधिवेशनमा देउवालाई सभापति बनाउन खुलेरै लागे । अघिल्लो पटक सिटौला समूहबाट महामन्त्री लडेका गगन थापा शेखर कोइराला समूहमा पुगे भने सिटौलाले प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए । अघिल्लो महाधिवेशनको संस्थापन समूह पनि खण्डित भयो ।

कोइराला परिवारका तीन सदस्यमध्ये शशांक कोइराला र देउवा समूहमा पुगे भने सुजाता कोइराला प्रकाशमान सिंह समूहबाट उपसभापतिको उम्मेदवार हुँदै अन्ततः देउवा समूहमै पुगिन् । शेखर कोइराला संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बन्दा रामचन्द्र पौडेल पनि इतर समूहबाट बाहिरिए र देउवा प्यानलमै पुगे । 

शेखर कोइराला नेतृत्वमा इतर समूह बन्दा कोइराला परिवारको विश्वासपात्रका रुपमा रहेका रामचन्द्र पौडेल र सिटौला दुवै देउवा प्यानलमा पुगे । देउवालाई दोस्रो पटक सभापतिमा जिताउन भूमिका खेलेबापत पौडेलले राष्ट्रपति बन्ने अवसर पाए । पार्टी सभापतिमा आफ्नै गुटले साथ नदिएका पौडेलले देउवाको साथ पाएर राजनीतिक जीवनको उत्तरार्धमा राजकीय भूमिका निर्वाह गर्ने अवसर पाए । यतिबेला राष्ट्रिय सभाको उम्मेदवार बनेका सिटौलाले पनि आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धलाई देउवाको साथबाट सुखद अन्त्य गर्ने मौका पाउने देखिने सम्भावना  छ ।