ज्ञानेन्द्र विवश | साहित्य | माघ ६, २०८०
कठिन पैदलयात्राको थकाइ केही होइन
यति लामो दिन घर छोडेर हिँड्नु
नियास्रोपन केही होइन
हिँड्नु फेरि हिँडिरहनुको अनवरत क्रम
तिमी सम्मुख आउन हतार भएर,
छिटो गरेर मात्र भएन
कुदाकुद गरेर बेतोडले दौडिएर
धावक बनेर पनि भएन
एकदिन, दुई दिनको गन्तव्य होइन
आरामले, आनन्दले बिस्तारै हिँड्नु
बाटोको एकलासपन र शून्य अँध्यारो
केही होइन तिमीसम्म आइपुग्न
हिमालको मुटु कमाउने सिरेटो
कक्रिनुसम्म कक्रिएको चिसा हात,
अनुहार रातो भएर कालो हुनु,
परेलाबाट तपतप चुहिने शीत
धुले र ढुङ्गे बाटोमा लड्नु, उठ्नु,
कैयौंपटक ठेस लाग्नु पनि केही होइन
क्षण–क्षण नजर नै धमिल्याइदिने
हिँड्दाहिँड्दैको पाइला नै रोकिनुपर्ने
कुइरिमन्डल पर्यटकका भिडामभिड
केही होइन तिमीसम्म आइपुग्नका लागि
जाँदाजाँदै यात्रामा
जाने बाटो नै अलमलिएर
माथि पुग्नुपर्ने तल झरेर कहिले,
फेरि अर्को दिन तल्लो बाटो जानुपर्ने
सजिलो होइन, हुँदैन फेरि फर्किएर
सहरमा जस्तो बाटो भुलिएर फेरि सोध्दै खोज्दै
पुग्न सकिने जस्तो आफ्नो गन्तव्यमा
नाम्चे र तेङ्बोचे पुग्ने कठिन उकालो
थोक्लाको भन्ज्याङ पुग्नको गाह्रो
झन् बढी कालापत्थरको उकालोमा
आधारातमै सास्तीले चढेर
पाएको पीडालाई भुल्न सकिँदैन
हिँडेर थकित भई तर दृश्य देखेर चकित भई
लखतरान भएर बास बस्न पुगेका यात्री जस्तो
बास बस्न फर्किएका चराहरू जस्तो
चुपचाप–चुपचाप केवल थकित सन्नाटा
गोधूलि प्रहरमा हुलका हुल चौँरीका बथान
ओढार तिर, गोठतिर फर्किरहे जस्तो
भालेको प्रथम डाक अगाडि नै
भारी बोकेका भरियाहरूलाई
हिँड्न हतारो जस्तो
बास बस्न आतुर जस्तै
मिर्मिरे हुने बेला चमचमाइरहेका
खुर्पे जूनको शक्तिशाली सौन्दर्य
बिलाउनु अघिका प्रिय ताराहरूका
अन्तिम उज्यालोमा
म तिम्रो मुहारको
मन्द मुस्कान पर्खिरहन्छु
यी सबै–सबै जीवनका रङ हुन्
जीवनका अलिखित अनुभूतिहरू
यथार्थमा केही हुन् केही होइनन् पनि
बस !
म हिँड्दै छु, हिँडिरहेको छु
तिमीसम्म आइपुग्न मरिहत्ते गरेर
मरिकुच्चे भारी बोकेर
तिमीमै हराउन, तिमीसँग रमाउन
समयको यो नितान्त निजी पल
केवल तिमीसितको मिलनमा मुस्कुराउँदै
हिमाली स्पर्शको चिसो पाइसकेपछि
पृथ्वीमा स्वर्गको एक टुक्रामा न्यानोपन
यी सबै तिमीसम्म आइपुगेपछि
हिमाल मैले तिमीमा भेटाउनु छ ।