राप्रपा प्राप्तिको राजनीति : जता मल्खु उतै ढल्कूँ !

लोकसंवाद टिप्पणी

राप्रपा प्राप्तिको राजनीति : जता मल्खु उतै ढल्कूँ !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ०९, २०८०

गत वर्ष भएको निर्वाचनमा संसदको पाँचौ ठूलो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति अस्थिर देखिएको छ । २०७९ पुस १० गते एमाले र माओवादीसहितको सत्ता गठबन्धन बन्दा सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी भएको राप्रपा एमाले सरकारबाट बाहिरिएसँगै बाहिरियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बाहिर रहेको काँग्रेसलाई राष्ट्रपति दिएपछि राप्रपा सरकारबाट बाहिरिएको थियो । संघीय र सबै प्रदेश सरकारबाट बाहिरिए पनि राप्रपाले कोशी प्रदेश सरकार भने छाडेन ।

किनकि कोशीमा एमाले र राप्रपा एक ठाउँमा हुँदा अन्य दलले पनि बहुमत पुर्‍याउन सक्ने अवस्था थिएन । माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मतका लागि आवश्यक ४७ मत पाउन सकेनन् र सरकार ढल्यो । योसँगै राप्रपा पनि कोशी प्रदेश सरकारबाट बाहिर भयो ।

त्यसपछि राप्रपाले काँग्रेससहितको गठबन्धनलाई समर्थन गरे मात्रै सरकार बन्ने अवस्था भयो । तर राप्रपाले समर्थन नगरेका कारण कोशी प्रदेश नयाँ अस्थिरतामा फस्यो । यही क्रममा संघीय संसदको विषयगत समितिका सभापति चयन प्रक्रिया अघि बढ्यो । त्यसबेला राप्रपा फेरि सत्ता गठबन्धनको नजिक भयो र माओवादीको भागमा परेको एउटा समितिको सभापति लियो । गत महिना राप्रपाले कोशी प्रदेशमा सत्ता गठबन्धनबाटै सभामुख लिएको छ । योसँगै संघीयताकै विरोध गरिरहेको राप्रपाका बागमती र कोशीमा सभामुख छन् । 

सत्ता राजनीतिको खेलमा जता फाइदा त्यतै सम्झौता गरिरहेको राप्रपा कोशी प्रदेशमा फेरि एमालेसँग नजिक भएको छ । कोशीमा राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले र राप्रपाले तालमेल गर्ने भएका हुन् । सत्ता गठबन्धनसँग मिलेर सभामुख पद लिएको दुई सातामै राप्रपाले एमालेसँग तालेमलको सहमति गरेको हो । 

कोशीमा कांग्रेसका प्रमुख–उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् । प्रदेशमा प्रदेश र स्थानीय तहका गरी एमालेको मतभार ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

एमाले र राप्रपाका कोशी प्रदेश अध्यक्षले हस्ताक्षर गरेको लिखित सहमति अनुसार ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको अन्यतर्फ एमालेले आफ्नो उम्मेदवार परशुराम अधिकारीको साटो राप्रपाका उद्धव पौडेललाई मत दिनेछ भने राप्रपाले महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई मत हाल्नेछ । 

कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादी केन्द्रकी चम्पा कार्की उम्मेदवार छन् । कोशी प्रदेशमा राप्रपाभित्र अध्यक्ष राजेन्द्र लिङ्देनको एकल निर्णय हाबी हुने गरेको छ । त्यसैले उनले जोसँग मिल्दा फाइदा हुन्छ उतै सम्झौता वा गठबन्धन गर्ने गरेका छन् । गत निर्वाचनमा सिटौला लिङ्देनसँगै पराजित भएका थिए । सिटौलालाई हराउन लिङ्देनले त्यसबेला पनि एमालेसँग तालमेल गरेका थिए । स्थानीय तहमा पनि लिङ्देनले अलग–अलग ठाउँमा अलग–अलग तालमेल गरे । झापाको दमक नगरपालिकामा एमालेलाई हराउन सत्ता गठबन्धनसँग सहकार्य गरेर राप्रपाले राम थापालाई मेयर बनायो भने अन्य ठाउँमा एमालेसँग तालमेल गरेको थियो । 

कोशीमा फाइदा अनुसार गठबन्धन रोज्दै आएको राप्रपाले पछिल्लो पटक कांग्रेसको शेखर कोइराला निकट केदार कार्की पार्टीबाट विद्रोह गरेर एमालेको समर्थनमा गत २७ कात्तिकमा मुख्यमन्त्री भए । उनले विश्वासको मत लिदा सत्ता गठबन्धन र एमाले दुवैले मत दिए । त्यसबेला राप्रपा भने प्रतिपक्षमा बस्यो । कोशी सरकारमा माओवादीलाई मन्त्री दिनै नहुने अडानमा एमाले उभियो भने मुख्यमन्त्री कार्कीले सबैलाई मिलाएर लैजाने बताए ।

त्यसबाट एमाले फेरि सरकारबाट अलग भयो । एमाले र सत्ता गठबन्धनको खिचातानीका कारण कोशीमा सभामुख पद फालाफाल भयो । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सभामुख लिँदा सरकार जुनसुकै समयमा संकटमा पर्ने भएकाले सभामुख नलिने सोचमा थियो । किनकि यी पार्टीको जम्मा सिट संख्या ४७ छ । जुन सरकार बनाउन सामान्य बहुमतमात्रै हो । प्रदेशसभामा ४० सिट भएको एमाले पनि सभामुख लिने मुडमा थिएन । यो फाइदा ६ सिट भएको राप्रपालाई भयो र सभामुख पद लियो । २४ पुसमा राप्रपाका अम्बरबहादुर विष्ट सर्वसम्मत सभामुख भए । त्यसको दुई सातापछि राप्रपा फेरि एमालेसँगको सहकार्यमा फर्किएको छ । 

राष्ट्रियसभा निर्वाचनमा कोशीमा ३६७ जना मतदाता छन् । जसमा ९३ जना प्रदेशसभा सदस्य र १३७ पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सांसद गरी ४६ जना छन् भने कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

कोशीमा कांग्रेसका प्रमुख–उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् । प्रदेशमा प्रदेश र स्थानीय तहका गरी एमालेको मतभार ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

एमाले र राप्रपाको सहमति अनुसार अब एमाले गठबन्धनमा ४ हजार ६४२ र सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार बनेको छ । एमाले र राप्रपाको सहमतिपछि पनि सत्ता गठबन्धन अगाडि रहेको छ । तर गोप्य मतदान भएकाले निश्चित जित हुन्छ भन्न सक्ने अवस्था छैन । एमाले काँग्रेसको शेखर कोइराला पक्ष र माओवादीका केही मत क्रस गराउन सके चुनाव जित्ने विश्वासमा देखिन्छ । सत्ता गठबन्धन भने एमाले र राप्रपाको सहकार्यले परिणाम फरक नपर्ने आत्मविश्वासमा छ ।