मधेसमा  मधेसी नेताहरूप्रति मोहभङ्ग: गजेन्द्रनारायण कार्ड समेत छायाँमा

लोकसंवाद टिप्पणी

मधेसमा  मधेसी नेताहरूप्रति मोहभङ्ग: गजेन्द्रनारायण कार्ड समेत छायाँमा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ११, २०८०

मधेस राजनीतिका ठूला हस्ती थिए, गजेन्द्र नारायण सिंह । सप्तरीमा जन्मिएका सिंहले आफ्नो जीवनकाल भरी मधेसको पक्षमा राजनीति गरे र २०४८ र २०५१ सालको निर्वाचनमा सप्तरीबाट लगातार प्रतिनिधिसभामा निर्वाचित भए ।

त्यसपछिका कुनै पनि मधेसी नेताले सप्तरीको सिंहको क्षेत्रबाट लगातार दुई निर्वाचन जित्न सकेनन् । सिंहको २०५८ माघ १० गते काठमाडौंमा हृदयघातका कारण निधन भयो । सिंहले नेतृत्व गरेको सद्भावना पार्टी उनको निधनपछि पटक पटक विभाजित भयो । आज उनको पार्टी अस्तित्वमा छैन ।

तर मधेस केन्द्रित दलले अझै पनि गजेन्द्रनारायण सिंहलाई सम्झिने गरेका छन् । सिंहको स्मृतिमा बुधबार काठमाडौंलगायत तराई मधेसका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिए । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पार्टी कार्यालयमा सिंहको स्मृति दिवस मनायो भने सोही पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान मार्फत छुट्टै कार्यक्रम आयोजना गरे । सिंहको जन्मजयन्ती र स्मृति दिवसमा सिंहलाई सम्झिने मधेस केन्द्रित दलहरु त्यसबाहेक न उनलाई सम्झिन्छन् न त उनले देखाएको राजनीतिक मार्गलाई नै पछ्याउँछन् । 

आज मधेस केन्द्रित दलको मधेस राजनीति जसरी टिकिरहेको छ, त्यो गजेन्द्रनारायण सिंहले नै उठाएको मधेस मुद्दामै का आधारित छ । तर सिंहको निधन भएको २१ उनले २०४७ मा गठन गरेको नेपाल सद्भावना पार्टी इतिहास बनिसकेको छ । उनलाई आदर्श मानेर राजनीतिमा लागेकाहरु आज कुनै न कुनै पार्टीमा गएर राजनीति गरिरहेकै छन् । तर उनीहरुलाई गजेन्द्रनारायण सम्झिने फुर्सद मिलेकै छैन । जतिबेला मधेसमाथि विभेद भइरहेको थियो, त्यसबेला गजेन्द्र नारायण सिंहले धोती, कुर्ता लगाएर मधेसको पहिचानका लागि संघर्षमा उत्रिएका हुन्थे । 

आफू गजेन्द्र नारायणको असली आदर्शमा हिँडेको दाबी गर्ने राजेन्द्र महतो, अनिलकुमार झा, सरिता गिरी, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, मनिष सुमन, रामेश्वरराय यादव, बद्री मण्डल, हृदयेश त्रिपाठी, श्रीमननारायण, देवेन्द्र मिश्र, मृगेन्द्रकुमार सिंहजस्ता दर्जनौ नेताहरु अहिले मधेस केन्द्रित दलमा छन् । तर मधेसको जनमतलाई नै उनीहरुले सम्मान गर्न सकेनन् । 

धोती कुर्ता लगाएर संसदमा हिन्दी भाषामा आफ्नो भनाई राख्ने उनलाई हिन्दीमा बोल्नै रोक लगाइएको थियो । जबर्जस्ती हिन्दी भाषामा भाषण गरेपछि उनको मन्तव्य संसदको रेकर्डबाट हटाइएको समेत थियो । टुँडिखेलको आयोजनामा उनले हिन्दीमा भाषण गर्दा हुटिङ मात्रै भएन, त्यसले झडप समेत निम्त्यायो । मधेसका लागि संघर्ष गर्दा उनले धेरै अपमान सहनु पर्‍यो, प्रहरीका लाठी र बुट खानु पर्‍यो । तर उनले निरन्तर मधेसको अधिकारका लागि अवज्ञा आन्दोलन गरेको उनीसँगै राजनीति गरेका मधेसका नेताहरु स्मरण गर्छन् । तर अहिलेका मधेसवादी नेतामा सिंहमा जस्तो दृढता र निडर राजनीति पाइदैन । सिंहले आफ्नो व्यक्तिगत स्वार्थमा नभई सिंगो मधेसका लागि संघर्ष गरेकै कारण पनि उनको ठूलो छवि बन्यो । जुन अहिलेका नेताहरुमा पाइदैन । 

उनी कुनै समय नेपाली काँग्रेसको राजनीति गर्थे । तर काँग्रेसमा कुरा नमिलेपछि २०४० सालमा नेपाल सद्भावना परिषद् र बहुदल स्थापनापछि नेपाल सद्भावना पार्टी बनाएका थिए । उनैले बनाएको त्यो पार्टीले सयौं नेता, दर्जनौं मन्त्री र सांसद जन्मायो । तर उनको आदर्शलाई पछ्याउने एक जना पनि नेता जन्माउन सकेको देखिएन । किनकि उनको निधनपछि उनको आदर्शलाई पछ्याउने भन्दा पनि जता फाइदा हुन्छ, त्यतै पार्टी मिलाउने र मन्त्री सांसद खाइहाल्ने दौड चल्यो । 

आफू गजेन्द्र नारायणको असली आदर्शमा हिँडेको दाबी गर्ने राजेन्द्र महतो, अनिलकुमार झा, सरिता गिरी, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, मनिष सुमन, रामेश्वरराय यादव, बद्री मण्डल, हृदयेश त्रिपाठी, श्रीमननारायण, देवेन्द्र मिश्र, मृगेन्द्रकुमार सिंहजस्ता दर्जनौ नेताहरु अहिले मधेस केन्द्रित दलमा छन् । तर मधेसको जनमतलाई नै उनीहरुले सम्मान गर्न सकेनन् । 

यतिबेला मधेसमा पुराना र नयाँ पार्टीको प्रतिस्पर्धा छ । मधेसलाई केन्द्रमा राखेर राजनीति गर्ने, जसपा, लोसपाजस्ता पार्टीलाई नयाँ आएको जनमत पार्टीले कडा चुनौति दिइरहेको छ । कुनै समय गजेन्द्र नारायण सिंहले राजनीतिको मियो गाडेको सप्तरीका जनताले जनमत पार्टीका सिके राउतलाई आफ्नो प्रतिनिधि बनाएर संसदमा पठाएका छन् । मधेसको असली प्रतिनिधि आफूलाई दाबी गर्दागर्दै कतिपय नेताहरूप्रति मधेसको मोहभङ्ग भएको छ । आफूलाई गजेन्द्र नारायणको उत्तराधिकारी ठान्ने राजेन्द्र महतो लोसपाबाट पनि बाहिरिएर नयाँ पार्टी बनाउने तयारीमा छन् । 

उनी मधेस केन्द्रितबाट धर्मको राजनीतिको नजिक पुगेको संकेत देखिएको छ । उनले नेपालमा पूर्वीय सभ्यता र संस्कृतिमाथि आक्रमण बढ्दै गएको भन्दै उनले अबको राजनीतिको एजेण्डा यसलाई पनि बनाउने बताउन थालेका छन् । यो उनको मधेस राजनीतिको नयाँ कार्ड हुनसक्छ । मधेसका नेताहरुले आफ्नो सत्ता र शक्तिका लागि राजनीतिका अनेकौं कार्ड प्रयोग गर्दा कुनै समय ‘सुरतको एक्का’ जस्तो गजेन्द्रनारायण कार्ड भने छायाँमा परेको छ ।