एमालेलाई असोजे पैँचो तिर्‍यो काँग्रेस कोइराला समूहले ! माओवादीलाई एक वर्षमा तीन धोका !?

लोकसंवाद टिप्पणी

एमालेलाई असोजे पैँचो तिर्‍यो काँग्रेस कोइराला समूहले ! माओवादीलाई एक वर्षमा तीन धोका !?

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १२, २०८०

राष्ट्रियसभामा रिक्त हुन लागेका २० मध्ये १९ सिटमा निर्वाचन सम्पन्न भएको छ । जसमा १८ जना सत्ता गठबन्धनबाट र १ जना एमालेका उम्मेदवार विजयी भएका छन् ।

यसपटक पनि दुई वर्षअघि जस्तै कोशी प्रदेशमा सत्ता गठबन्धनलाई चकमा दिँदै एमाले उम्मेदवार रुक्मिणी कोइराला राष्ट्रियसभामा निर्वाचित भइन् । एमालेले यो निर्वाचनबाट खाली हुन लागेका ८ मध्ये ७ सिट गुमाएको छ । तर कोशीमा निकालेको जितले एमालेलाई उत्साहित बनाएको छ । दुई वर्षअघि भएको निर्वाचनमा पनि कोशीमा बलियो मत भार रहेको सत्ता गठबन्धनलाई हराएर एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए ।

त्यसबेला एमालेका शेर्पाले ४ हजार ७७२ मत भार प्राप्त गरेका थिए भने पराजित हेमराज राईले ४ हजार ३८६ मतभार पाएका थिए । खुलातर्फको सिटमा नेपाली कांग्रेसका गोपालकुमार बस्नेत र एमालेका गुरुप्रसाद बरालले बराबर ४ हजार ४८८ मत पाएपछि गोला प्रथाबाट काँग्रेसका बस्नेत विजयी भएका थिए । 

यसपटक पनि कोशीको निर्वाचनमा सत्ता गठबन्धनको करिब ८ सय बढी मत भारको अग्रताबीच माओवादी की उम्मेदवार चम्पादेवी कार्की पराजित भएकी छन् । जुन निर्वाचनमा माओवादी उम्मेदवार कार्कीलाई सत्ता गठबन्धनले इमान्दारीपूर्वक मत हालेको भए जित निश्चित थियो । कोशीमा सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्की उम्मेदवार थिए । प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुखले मत हाल्ने भएका कारण गठबन्धनका उम्मेदवारको जित निश्चित थियो । 

 

कोशीमा राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका साझा उम्मेदवार थिए । एमाले र राप्रपाको पनि तालमेल भए पनि सत्ता गठबन्धनसँग ७९४ मतभार बढी थियो । तर निर्वाचन परिणाममा काँग्रेसका सिटौला विजयी हुँदा माओवादीकी कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भइन् । कोइरालाले ५ हजार ८६ मतभार पाउँदा कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

प्रदेशसभाका ९३ मध्ये ४९ जनाले एमालेकी कोइरालालाई मत दिए भने कार्कीले ४४ जनाको मात्रै मत पाइन् । सत्ता गठबन्धनमा कोशी प्रदेशमा ४७ सांसद छन् । सत्ता गठबन्धनका तीन सांसदले कार्कीलाई मत नदिएर एमालेकी रुक्मिणी कोइरालालाई मत दिएका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये कोइरालाले १३१ जनाको मत पाउँदा कार्कीले १४० जनाको मत पाइन् । प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका जनप्रतिनिधिको मत भार १९ छ । त्यसैले स्थानीय तहका जनप्रतिनिधिको मत बढी पाए पनि उनले प्रदेशसभा सदस्यबाट पाएको कम मतका कारण हार बेहोर्नुपर्यो । यो नतिजासँगै वर्तमान सत्ता गठबन्धनका कारण कोशीमा एक वर्षमा तीन वटा राजनीतिक क्षति भोग्नुपरेको छ । 

गत असोजमा केदार कार्कीलाई एमालेले प्रतिकुल अवस्थामा मुख्यमन्त्री बनाएको थियो । जुन गठबन्धन सरकार विस्तारसँगै टुट्यो । तर कुनै न कुनै रुपमा कोइराला समूहले पनि एमालेको त्यो गुन तिर्ने अनुमान थियो । सोही अनुमान अनुसार नै राष्ट्रिय सभामा एमाले उम्मेदवारलाई मत हालेर गुन तिरेको माओवादीका एक नेता बताउँछन् । यो अन्तर्घातले कोशीमा अब काँग्रेससँगको गठबन्धनबारे सोच्नुपर्ने अवस्था आएको माओवादी नेताहरुले प्रतिक्रिया दिएका छन् ।

अप्रत्यासित नतिजाका कारण कोशीमा गठबन्धनसँग माओवादी नेताहरु रुष्ट बनेका छन् । गत वर्षको निर्वाचनपछि कोशीमा माओवादीले एमालेसँगको सत्ता सहकार्यमा सभामुखसहित सरकारमा भूमिका पाएको थियो । राष्ट्रपति निर्वाचनमा गठबन्धन परिवर्तनपछि पनि लामो समय माओवादी एमाले नेतृत्वको सरकारमा बस्यो । ६ प्रदेशमा सत्ता परिवर्तन भइसक्दा पनि कोशीमा एमाले नेतृत्वको सरकार चल्यो । कोशीमा सत्तामा जान काँग्रेसलाई हतारो भइसकेको थियो । त्यसैले माओवादीलाई मुख्यमन्त्री नै पनि दिन तयार रहेको भन्दै सरकारबाट बाहिर बोलायो ।

माओवादीले साउन १६ गते एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिर आयो । तर माओवादीले मुख्यमन्त्री पाएन र काँग्रेसका उद्धव थापा दुई पटक मुख्यमन्त्री बने । तर सभामुख माओवादीको भएका कारण कुनै पक्षमा पनि बहुमत थिएन । त्यसैले थापालाई दोस्रोपटक मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले राजीनामा दिए र माओवादीले सभामुख गुमायो ।

थापाले दोस्रो पटक पनि विश्वासको मत लिँदा ४७ मत भए पनि एमाले र राप्रपाको जालसाजी पूर्ण कदमलाई साथ दिँदै एमालेबाट उपसभामुख बनेकी सिर्जना दनुवारले जेष्ठ सदस्यहरुलाई विदा दिएर आफू पनि काठमाडौं आएपछि काँग्रेसका इस्राइल मन्सुरीले अध्यक्षता गरे । उनले पनि विश्वासको मत दिएपछि फेरि सर्वोच्चले विश्वासको मत नपाएको थापालाई पदमुक्त गरिदियो । त्यसपछि राप्रपाको समेत साथ पाउने सम्भावनासहित माओवादीका इन्द्र आङ्बो मुख्यमन्त्री बन्ने योजनामा थिए ।

तर एमालेले काँग्रेसका शेखर कोइराला पक्षका केदार कार्की आफू पक्षका ८ सांसद सहित एमालेको समर्थनमा मुख्यमन्त्री बने । यसबाट माओवादीले अर्को झट्का पायो । माओवादीले काँग्रेसका थापालाई मुख्यमन्त्री बनाउन राजीनामा दिएको सभामुख पद राप्रपाले पायो । जसमा अम्बरबहादुर बिष्ट सभामुख भए । कोशी सरकारको अवस्थालाई हेरेर माओवादीले संघीय संसदमा राप्रपालाई आफ्नो भागको एक संसदीय समितिको नेतृत्व दियो ।

कोशीमा सत्ता गठबन्धनको कृपाले राप्रपाले सभामुख पायो । तर त्यसलगत्तै राप्रपाले एमालेसँग चुनावी तालमेल गरिदियो । जसका कारण माओवादीकी चम्पा कार्की पराजित हुन पुगिन् । एक वर्षमा आफूसँग रहेको सभामुख, सत्ता गठबन्धनमा सहमति भइसकेको मुख्यमन्त्री गुमाएको माओवादीले राष्ट्रियसभाको एक सिट पनि गुमायो । पार्टीबाट निर्वाचित भएका र राजनीतिक उचाई पाइसकेका मतदाताले हाल्ने मत आम जनतालेजस्तो बहकाउ र बिकाउ भएका त पक्कै होइनन् होला  ? अर्कोतिर काँग्रेसका कृष्ण सिटौलाले जित्ने र माओवादीकी कार्कीले हार्नुले पनि सत्ता गठबन्धनको विश्वसनीयतामा प्रश्न उठ्को छ ।  

गत असोजमा केदार कार्कीलाई एमालेले प्रतिकुल अवस्थामा मुख्यमन्त्री बनाएको थियो । जुन गठबन्धन सरकार विस्तारसँगै टुट्यो । तर कुनै न कुनै रुपमा कोइराला समूहले पनि एमालेको त्यो गुन तिर्ने अनुमान थियो । सोही अनुमान अनुसार नै राष्ट्रिय सभामा एमाले उम्मेदवारलाई मत हालेर गुन तिरेको माओवादीका एक नेता बताउँछन् । यो अन्तर्घातले कोशीमा अब काँग्रेससँगको गठबन्धनबारे सोच्नुपर्ने अवस्था आएको माओवादी नेताहरुले प्रतिक्रिया दिएका छन् ।