बिहारमा नीतीशको चक्कमा: दुई दशकदेखि सत्ताको केन्द्रमा अनुकूलताको खेल

बिहारमा नीतीशको चक्कमा: दुई दशकदेखि सत्ताको केन्द्रमा अनुकूलताको खेल

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १४, २०८०

कुनै बेला एउटा उखान नै बनेको थियो, ‘तबतक समोसेमें आलु, तबतक बिहारमा लालु’ । अर्थात कुनै बेला बिहारको राजनीतिमा लालुप्रसाद यादव छाएका थिए । लालुको झल्को दिनेगरी यतिबेला विहारमा नीतिश कुमारको राजनीति चलेको छ । लालुकै दलबाट अलग भएका नीतिश जता गयो, उतै बिहारको सत्ता पल्टिने अवस्था बनेको छ ।

त्यसैले उनी केही वर्षको अन्तरमा गठबन्धन परिवर्तन गर्छन् र मुख्यमन्त्री भइहाल्छन् । केही दिनदेखिको अड्कलबाजीबीच मुख्यमन्त्री नीतीश कुमारले फेरि पदबाट राजीनामा दिएका छन् । उनले आइतबार बिहान ११ बजे राजभवन पुगेर राज्यपाललाई राजीनामा पेस गरेका छन् । राजीनामासँगै आगामी लोकसभा निर्वाचनलाई लक्षित गरी बनेको काँग्रेससहितको महागठबन्धनबाट पनि उनी अलग भएको घोषणा गरेका छन् । उनले राजीनामा लगत्तै आफूले जनता र पार्टीको राय अनुसार निर्णय लिएको बताएका छन् ।

उनले राजीनामा लगत्तै भने, ‘यो सरकार अन्त्य भएको छ । हामी पहिलेका सहयोगीसँग अलग भएर नयाँ गठबन्धनमा गएका थियौं । बाँकी पार्टीले सहयोग गरे भने सोचौंला, केही भइहाल्यो भने तपाईंहरुले थाहा पाउनुहुनेछ ।’ 

गत सातादेखि नै नीतीश कुमारले राष्ट्रिय जनता दलसँग गठबन्धन तोडेर फेरि भाजपासहितको गठबन्धन बनाउने अड्कल गरिएको थियो । अन्तिम समयसम्म उनले केही खोलेनन् । तर बिहारको राजनीतिमा उनको ट्र्याक रेकर्ड बनेको छ कि राजभवन छिरेपछि लगाइने अधिकांश अड्कलबाजीहरु मिल्ने गरेका छन् । 

सन् २००० मा मार्च ३ देखि १० सम्म बिहारको मुख्यमन्त्री पनि भए । मुख्यमन्त्री उनी केबल ७ दिनमात्रै भए । तर उनले त्यसैबेला आफूलाई लालु यादवको विकल्पका रुपमा पेश गरे । पछिल्लो करिब १९ वर्षमा २०१४–१५ मा १० महिना जीतनराम माझीको कार्यकाललाई छाडिदिने हो भने नीतीश कुमार नै मुख्यमन्त्रीको पदमा छन् । यो समयमा उनले आफ्नो अनुकूलतामा ९ पटक गठबन्धन परिवर्तन गरिसकेका छन् । 

नीतीश कुमारले आफूले राजीनामा दिनुको कारण भनेका छन्, ‘ठिकठाक रुपमा चलिरहेको थिएन, दुवैतिर परेशानी थिए । हामी देखिरहेका थियौं । पार्टीभित्र र अन्यत्रबाट पनि सुझावहरु आइरहेका थिए । सबैको कुरा सुनेर राजीनामा दिए र सरकार भंग गरेँ ।’ उनले अघिल्लो गठबन्धन छाडेर डेढ वर्षअघि बनाएको गठबन्धन पनि ठिक नभएको उल्लेख गरेका छन् । 

नीतीश कुमार अगस्ट, २०२२ मा भाजपासँगको गठबन्धन तोडेर राजदसँग पुगेका थिए । राजनीतिमा नीतीक कुमारको पहिलो यु–टर्न थिएन । यही कारण उनलाई न भाजपासँग गठबन्धन तोड्न अप्ठ्यारो थियो, न त राजदसँगको गठबन्धन नयाँ नै । पछिल्ला दिनमा नीतीशका गतिविधिले नै उनी विपक्षी गठबन्धनबाट भाजपा गठबन्धनमा जाने संकेत देखिएको थियो । इण्डिया गठबन्धनमा सिटको बाँडफाँटमा भइरहेको ढिलाइले नीतीश रुष्ट थिए । उनी राजनीतिक जीवनमा यु–टर्न लिइरहने र आफ्नो हितको राजनीति गर्ने नेताका रुपमा परिचित भइसकेका छन् । 

नीतीशको जन्म पटना नजिकै बख्तियारपुरमा एक स्वतन्त्रता सेनानीको परिवारमा १ मार्च, १९५१ मा भएको थियो । बिहार इन्जिनियरिङ कलेजबाट इलेक्ट्रिकल इन्जिनियरिङको डिग्री लिएका नीतीशको झुकाव सुरुदेखि नै राजनीतिमा नै थियो । नीतीशले राजनीतिको सुरुवात लालुप्रसाद यादव र जर्ज फर्नान्डिसको छत्र छायाँमा नै गरे ।

तर उनले आफ्नो अलग राजनीतिक पहिचान बनाउन अलग हुनेपर्ने बुझे । राजनीतिमा करिब ५ दशक बिताइसकेका नीतीश कुमार आफ्नो सहुलियतका हिसाबले दल र गठबन्धन बदलिरहन्छन् । उनले सन् १९७४ देखि १९७७ बीचमा जय प्रकाश नारायणको आन्दोलनमा सहभागी भए । उनले सन्येन्द्र नारायण सिन्हाको नेतृत्वको जनता पार्टीबाट आफ्नो राजनीतिक करियर सुरु गरे । नीतीश पहिलो पटक १९८५ मा हरनौत सिटबाट विधायक चुनिए । त्यसबेला उनी लालुप्रसाद यादवका सहयोगी थिए ।

संकटकालको विरोधमा उभिएको जनता दलमा केही विघटन भयो । सन् १९९४ मा जर्ज फर्नान्डिसले समता पार्टी गठन गरे । नीतीश उनको साथमा थिए । अर्को वर्ष बिहार विधानसभा चुनावमा समता पार्टीले ७ सिटमात्रै जित्यो । त्यसैबेला उनलाई समता पार्टी एक्लै बिहारमा लड्न सक्दैन भन्ने लाग्यो । सन् १९९६ मा उनले भाजपासँग गठबन्धन गरे । पहिलो पटक सन् १९८९ मा सांसद बनेका नीतीश १९९८ देखि २००१ मा अटल बिहारी बाजपेयी सरकारमा अलग अलग विभागमा केन्द्रीय मन्त्री बने । नीतीश सन् २००१ देखि २००४ सम्म तत्कालीन अटल बिहारी बाजपेयी सरकारमा रेलवेमन्त्री बने । यसैबीच सन् २००० मा मार्च ३ देखि १० सम्म बिहारको मुख्यमन्त्री पनि भए । मुख्यमन्त्री उनी केबल ७ दिनमात्रै भए । तर उनले त्यसैबेला आफूलाई लालु यादवको विकल्पका रुपमा पेश गरे । पछिल्लो करिब १९ वर्षमा २०१४–१५ मा १० महिना जीतनराम माझीको कार्यकाललाई छाडिदिने हो भने नीतीश कुमार नै मुख्यमन्त्रीको पदमा छन् । यो समयमा उनले आफ्नो अनुकूलतामा ९ पटक गठबन्धन परिवर्तन गरिसकेका छन् ।