जयदेव गौतमको ‘ती निला आँखा’ लोकार्पित

जयदेव गौतमको ‘ती निला आँखा’ लोकार्पित

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ २०, २०८०

काठमाडौं । पत्रकार तथा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्ध कृति ‘ती निला आँखा’ काठमाडौँमा एक समारोहका बिच लोकार्पण भएको छ । 

शुक्रबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा उपस्थित सर्जकहरूले कृतिको सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा साहित्यकार तथा ‘नेपाली निबन्धको इतिहास’ का लेखक प्रमोद प्रधानले गौतमले अस्वस्थ हुँदाहुँदै पनि यो निबन्ध कृति ल्याएको प्रसङ्ग उठाउँदै एउटा सर्जकले जुनै अवस्थामा पनि सिर्जना गर्ने बताए । यस कृतिले व्यापक विषय र क्षेत्र समेटेको बताए । 

निबन्धकार तथा समालोचक डा।रजनी ढकालले कृतिभित्रका निबन्धहरूका विभिन्न आयामबारे चर्चा गरिन् । उनले निबन्धहरूमा भएका सबल र सुधार्नुपर्ने सन्दर्भहरूका बारेमा पनि आफ्नो  धारणा राखिन् । निबन्धकार भीष्म उप्रेतीले निबन्धमा पत्रकारिताको भाषा पनि प्रयोग भएको बताए । उनले निबन्धमा विचारको सिर्जना गर्नसक्नु पर्ने भन्दै यतातिर निबन्धकारहरूको ध्यान जानुपर्नेमा जोड दिए ।

नेपाल स्रष्टा समाजका अध्यक्ष तथा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ विदेशमा अस्वस्थ अवस्थामा पनि निबन्ध कृति प्रकाशन गरेकोमा गौतमको निबन्धकारिताको प्रसंशा गरे । कार्यक्रममा नेपाल सरकारका सहसचिव राजेन्द्र थापाले निबन्धकार गौतमको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । समाजका उपाध्यक्ष चेतनाथ कणेल हरितले स्वागत गरेको उक्त कार्यक्रममा महासचिव देविका तिमिल्सिनाले सन्चालन गरेका थिए । 

साझा प्रकाशनद्वारा प्रकाशित ‘ती निला आँखा’ यस सङ्ग्रहभित्र २१ निबन्ध समेटिएको छ । निबन्धकार जयदेव गौतमको यसअघि वि।सं।२०६७ मा  ‘लक्ष्मण रेखाकाका दासहरू’ निबन्ध सङ्ग्रह प्रकाशित भएको थियो ।