घतलाग्दो कथा प्राचीन कालको: साधुको भेषमा लुकेको क्रूर व्यक्तित्व !

फर्कलान् र ती दिनहरु१९८

घतलाग्दो कथा प्राचीन कालको: साधुको भेषमा लुकेको क्रूर व्यक्तित्व !

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  माघ २०, २०८०

एकदिन सामाजिक सञ्जालमा हेर्दै थिएँ । घतलाग्दो कथा देखेँ प्राचीन कालको । कसैले त्यसलाई महत्वका साथ नेटभित्र राखेको रहेछ । कथा यस्तो रहेछ- एकादेशमा एकजोर परेवा  थिए । तिनीहरु आपसमा मज्जाले गफ्फिएर बसेका थिए रुखको हाँगामा । त्यहीबेला अलि परबाट एकजना व्यक्ति यताउता चियाउँदै विस्तारै आउँदै थियो । परेवीले भनी -ए उता हेर त !, यो त पक्कै गुलेलीले हानेर चरा मार्ने मान्छे जस्तो छ । परेवाले पनि नियालेर हेर्‍यो र भन्यो, होइन जस्तो छ, किनभने  सिकारीले त कालो लुगा लगाउँछ अनि हातमा या त धनुषकाण हुन्छ या गुलेली हातमा राखेर हिँडेको हुन्छ । अनि यी जोडी आरामसँग आफ्ना मनका कुराहरु एकअर्कासँग पोख्दै थिए । त्यो केटो नजिक नजिक आउँदै थियो तर उसको हाउभाउ बाटो  हिँड्ने जस्तै थियो । तर अचानक ठुलो खल्तीबाट गुलेली निकाल्यो, मट्याङ्ग्रो निकाल्यो र ती दुई  परेवा  परेवी तर्फ सोझ्यायो र हान्यो । यति अचानक भएको थियो कि समालिएर  उड्नै पाएनन् , परेवीलाई जोडसँग लाग्यो, ऊ भुइँमा खसी र एकछिन फटफटाई, माथि रुखमा रहेको परेवातिर हेरी र मरी । त्यो सिकारीले परेवीलाई तत्कालै पोल्यो, भुत्लायो र खान थाल्यो । परेवा रुँदै ,रुखको हाँगामा लुकेर हेर्दै थियो ।

त्यो बेलामा पशुपन्छीहरुले पनि राजासँग उजुरी गर्न पाउँथे र न्याय पाउँथे । परेवा रुँदै रुँदै राजदरबारमा गयो र भन्यो-महाराजसँग मेरो उजुरी छ न्याय पाऊँ सरकार । अनि परेवाले सबै कैरन कह्यो । अनि सिपाहीले त्यो सिकारीलाई पक्राउ गरेर ल्याए । झन सिकारी देखेपछि त परेवीको यादले झन रुन थाल्यो किनभने एकछिन अघिसम्म कुरा गरेर बसेकी परेवीलाई छिनमै मार्ने सिकारी जो अगाडि अभियुक्तको रुपमा थियो । परेवाले रुँदै भन्यो, सरकार मलाई न्याय चाहियो । राजाले सोधे, भन त, के गरुँ, तेरो बिचारमा यो  सिकारीलाई कस्तो दण्ड दियो भने तेरो चित्त बुझ्छ र न्याय पाएको आभास हुनेछ । 

परेवाले यसो  सोच्यो,यसलाई मृत्युदण्ड दिएर त मेरी सखी फर्किने होइन, बरु यसको परिवारको पो बिचल्ली हुन्छ । सिकारीको काम त सिकार गर्ने नै हो तर हामी किन झुक्कियौँ भने यो व्यक्तिको पोसाक सिकारीको जस्तो कालो लुगाको पनि थिएन, यसका हातमा धनुषकाण, गुलेली पनि देखिने गरी लिएर हिँडेको थिएन अनि हामी पनि यो बाटो हिँड्ने बटुवा नै होला भनेर वास्ता नगरेकोले यसले हामीमाथि अचानक हमला गरेको थियो ।

त्यसैले उसले एकछिन गमेर राजासँग माग गर्‍यो- महाराज, अबदेखि सरकारको राज्यमा जो जे पदको हो, जुन पेसा व्यवसायको हो, उसले राज्यले तोकेको पोसाक लाउनै पर्छ । यदि यो सिकारीले आफ्नो पोसाकमा आएको हुन्थ्यो भने हामी पनि रुखको हाँगामा लुकेर बस्थ्यौँ, बाटामा हिँड्ने मानिसले देखिने गरी कुरा गरेर, गफिएर बस्ने थिएनौँ । यदि यो सिकारीलाई मृत्यु दण्ड भयो भने पनि मेरी परेवी बाँच्ने छैन , त्यसैले सबैले आफ्नो परिचय झल्कने गरी पोसाक लगाए या पहिचान हुने गरी हिँडे मानिस तथा पशुपन्छी झुक्किने थिएनन् । त्यस दिनबाट ती दयालु राजाले परेवालाई सल्लाहका लागि र न्यायका लागि सहयोग गरेकोमा धन्यवाद दिए र राज्यभरि आदेश दिए , जो  जुन  पेसा, व्यवसायको हो उसले राज्यले तोकेको पोसाक लाओस् ताकि उसको पहिचान उसको पोसाकबाटै हुनसकोस् । 

मैले यो प्रसङ्ग किन पनि कोट्याएको हो भने अहिले मानिसहरुको पहिचान कसरी गर्ने भन्ने समस्या पर्न थालेको छ । नयाँ नयाँ आविष्कार हुँदैछन्, जीवन सहज र सरल हुँदै गएको अवस्था छ एकातिर भने अर्कोतिर तिनै आविष्कारबाट जीवन जटिलतातर्फ पनि मोडिएको अवस्था छ । भनिन्छ, आणविक बम बनाएर परीक्षण गर्ने बेलामा त्यसका जन्मदाता ओपेनहाइमरले श्रीमद्भगवतगीताका श्लोकहरु संस्कृतमै वाचन गर्दै भनेका थिए रे- हे अर्जुन, सबै युद्धरत लडाकुहरुलाई मैले महाकालको रुपमा-समयको कालक्रममा मारिसकेको छु, तिमीले त मात्र निमित्त नायक भएर लडेको जस्तो गर्नुछ , यी  सबै त मरिसकेकै छन् , बाँच्ने त केही मात्र हुन्, ती मर्नका लागि बत्तीमा पुतली झुम्मेझैँ गरी युद्धमा आएका हुन् । त्यसैले उठ, गाण्डीव समाऊ, वाण सन्धान गर र युद्धमा लडेजस्तो गर ।

अनि अर्को प्रसङ्गमा भनेका रहेछन् ओपेनहाइमरले कि परीक्षणमा आणविक बम कस्तो होला, श्रीकृष्णले विश्व रुप देखाउँदा भनेको भनाइलाई गीतामा भनेको कुराको उदाहरण दिँदै भनेका रहेछन्, म हजारौँ सूर्यको जस्तो तेज भएको अवतार हुँ ।  त्यस्तै गरी हजारौँ सूर्यको जस्तो तेज  निस्किन सक्ने भविष्यवाणी गरेका थिए जब आणविक बम परीक्षणका लागि पड्किने तयारीमा थियो न्यु मेक्सिकोको मरुभूमिमा । 

भेष, पोसाक स्वार्थ  समूहको पनि हुनसक्छ, व्यक्तिको मनमा लुकेको नियतमा  पनि हुनसक्छ ।तर सार्वजनिक रुपमा उत्तरदायित्व लिएको समूह वा व्यक्तिले ती सबै स्वार्थ समूहको, स्वार्थीहरूको  नियत बुझ्नु जरुरी छ किनभने व्यक्तिभन्दा समाज भारी छ, समाजभन्दा राज्य भारी छ र राज्यभन्दा राज्य प्रतिको माया धेरै गह्रुङ्गो छ । तर अन्ध राष्ट्रवादले त नियतमाथि अरु नयाँ स्वार्थ थपेको पाइन्छ नेपालको इतिहास हेर्दा या विश्वको इतिहास हेर्दा पनि । 

आविष्कार त वैज्ञानिकहरुले गरेकै छन् ,भएकै छ लाखौँ विषयमा । तर त्यसको प्रयोग कसरी भएको छ भन्ने कुराको आधार त त्यसको प्रयोग गर्ने मानिसहरुको विचार कस्तो छ, भौतिक पदार्थ त मात्र आदेश जान्दछ र विभिन्न सूचनाहरुको प्रशोधन गरेर सूचनाहरूलाई अझ जानकारी मूलक र विश्वसनीय बनाउने गर्दछ । मानिसको क्षमता भन्दा पनि नियतमाथि प्रश्न उठ्छ । नियत कसरी निर्धारण गरिन्छ ? मानवीय क्षमताको कुन प्रश्नमा नियतले उत्तर दिने गर्छ ? थाहा छैन र पनि मनोवैज्ञानिकहरूले केही मानक तयार गरेका छन् । ती मानकहरू पनि आफैँ परिवर्तनशील हुने गर्छन् र समयक्रममा तिनीहरुमा पनि संशोधन हुन्छ, परिवर्तन हुन्छ र नयाँ नयाँ मानक बनेको हुन्छ । 

हामी अहिले शिक्षा सुधारको कुरा गर्दैछौँ । शिक्षा के हो भन्ने बारेमा खासै बहस गरिरहेका छैनौँ । त्यहाँ पनि परेवाले भनेको जस्तो पहिचानको पोसाक लगाएकाहरु देखिँदैनन् । एउटा पोसाक लगाएका छन् तर अर्को पेसाको जस्तो काम गर्छन् । पहिचान भनेको नियत हो । शिक्षामा मात्र जीवनको महत्व बुझेका पोसाक लगाउने चाहिन्छ । समाज बुझ्ने भावना भएका र कुनै खोट नभएका व्यक्तिहरुको प्रवेश आवश्यक छ । हामी आजको अवस्थामा त्यस्तो व्यक्तित्वको खोजीमा छौँ जो साँच्चै समाजका लागि आफूलाई न्यौछावर गरेको होस्, मुलुकको लागि आफूलाई समर्पित गर्ने भावना राखेको मान्छे होस् र आजको वैश्विक अवस्थासँग कसरी व्यक्ति र समाजलाई समाहित गर्ने भन्ने नियत राखेको मानिस चाहियो । हामी सिकारीहरूलाई साधुको रुपमा देख्छौँ किनभने तिनले सिकारीको पोसाक लाउँदैनन् तर ध्याउन्न नियत  सबै सिकारीको हुन्छ । साधुको भेषमा क्रूर व्यक्तित्व लुकेको हुन्छ र क्रूर व्यक्तित्वले आफूलाई लक्षित स्वार्थ पूरा गर्नका लागि साधुको भेषमा आफूलाई प्रस्तुत गरेको हुन्छ ।

त्यस्तो भेष, पोसाक स्वार्थ  समूहको पनि हुनसक्छ, व्यक्तिको मनमा लुकेको नियतमा  पनि हुनसक्छ ।तर सार्वजनिक रुपमा उत्तरदायित्व लिएको समूह वा व्यक्तिले ती सबै स्वार्थ समूहको, स्वार्थीहरूको  नियत बुझ्नु जरुरी छ किनभने व्यक्तिभन्दा समाज भारी छ, समाजभन्दा राज्य भारी छ र राज्यभन्दा राज्य प्रतिको माया धेरै गह्रुङ्गो छ । तर अन्ध राष्ट्रवादले त नियतमाथि अरु नयाँ स्वार्थ थपेको पाइन्छ नेपालको इतिहास हेर्दा या विश्वको इतिहास हेर्दा पनि । 

शिक्षामा विकासको कुरा, शुद्धीकरणका कुरा फगत अहिले भुसमाथिको लिउनजस्तै देखिन्छ । तयारी छैन । मुलुकको विकास गर्ने भनेर खटिएकाहरुमा नियतमा खोट देखिन्छ । नियतको बारेमा कहीँ पनि सिकाइँदैन तर नैतिकताको पाठ भनेर लुप्त रुपमा सिकाइएको हुन्छ । त्यही नियत र नैतिकतालाई सबैले पालना गरेमा,पक्कै सफा पोसाक लगाएको जमात देखिने छ अनि शिक्षाको बारेमा सही नियम र नियत देखाउन सक्नेछ । शिक्षाले आजको मात्र कुरा गर्दैन, यो विश्व ब्रह्माण्डको कुरा गर्छ । अनि त्यसबाट व्यक्तिको विकास गराउने,व्यक्तिसँगै समाजको विकास, समाजको विकास हुँदा राज्य त आफैँ विकास भएकै हुनेछ । यहाँनेर हो अपेक्षाको कुरा, नियतको कुरा र भोलिको समाजको स्वरुपको आजै आँकलन गर्ने र तयारी गर्ने कुरा । 
क्रमशः