दाहाल,मिश्र,भारद्वाज र शेर्पा राजदूतमा सिफारिस

दाहाल,मिश्र,भारद्वाज र शेर्पा राजदूतमा सिफारिस

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २५, २०७६

काठमाडौँ । नेपाल सरकारले चार राष्ट्रका लागि  चार जनालाई राजदूतमा सिफारिस गरेको छ । २०७६ साल जेठ २४ गते  बिहीबार  मन्त्रिपरिषदको बसेको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको प्रधानमन्त्री कार्यालयले  जानकारी दिएको छ । 

राजदूत सिफारिसमा सत्तारूढ नेकपाभित्रको शक्ति सन्तुलन मिलाइएको छ । सिफारिसमा परेका चार जना प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल निकटका व्यक्ति हुन् । सरकारले राजदूत सिफारिस गरेको निर्णय औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।

तत्कालीन राजदूत लक्की शेर्पा फर्किएपछि खाली भएको ठाउँमा  दाहाललाई सिफारिस गरिएको छ । नेपाल टेलिभिजनको अध्यक्ष भइसकेका दाहाल नेकपा अध्यक्ष दाहालका जिल्लावासी र नातेदार समेत हुनुहुन्छ।

भारद्वाज प्रधानमन्त्री ओलीकै प्रस्तावमा राजदूत सिरफारिसमा परेका हुन् । झापाकाण्डमा १२ वर्ष जेल परेका उनी त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विषयको सहप्राध्यापकबाट  अवकास प्राप्त व्यक्ति हुनुहुन्छ । पार्टी एकता हुनुअघि उनी तत्कालीन एमालेको विदेश विभागको सदस्यकव जिम्मेवारीमा हुनुहुन्थ्याे । 

राजदूत सिफारिस दावाफुटी शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामुकी छोरी हुनुहुनुछ । शेर्पा दुई महिनाअघि पासाङ ल्हामु प्रतिष्ठानको अध्यक्ष चुनिनु भएकाे थियाे । अमेरिकाबाट मास्टर्स डिग्री गर्नु भएकी शेर्पा संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा काम गरिसक्नु भएकाे छ ।  

अघिल्लो सरकारको पालामा नियुक्त राजदूत डा‍ चोपलाल भुसाललाई सरकारले फिर्ता गरिएपछि रिक्त बंगलादेशकाे राजदुत पदामा भने डा‍. मिश्र पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा नेता  डा. वंशीधर मिश्रलाई सिफारिस गरिएकाे हाे  । त्यसैगरि सरकारले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गरेको छ ।