दिक्तेल रुपाकोट मझुवागढी  नगरपालिका: काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्दै

दिक्तेल रुपाकोट मझुवागढी  नगरपालिका: काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३, २०८०

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ । 

नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौँमा यही फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए । 

प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका १७० भन्दा बढी चित्रहरु राखिनेछन् । जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत खोटाङ जिल्लाका समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने आयोजकको विश्वास रहेको छ । 

गत असोज १७ देखि २१ गते १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि १०९ वटा जिवन्त चित्रहरु (लाइभ) समेत कोरिएको थियो ।

उक्त प्रदर्शनीको अवसरमा राई, नेवार, गुरुङ, क्षेत्री बाहुन लगायत जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने नगरप्रमुख भट्टराईले बताए । प्रदर्शनीको अवधिमा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका सम्मानित नेताहरु, कुटनीतिक नियोगका अधिकारीहरु, उद्योगी–व्यवसायी, लेखक लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने कार्यतालिका समेत रहेको छ ।