तामाङ समाज माल्टाले मनायो २८६०औं  सोनाम ल्होछार

तामाङ समाज माल्टाले मनायो २८६०औं  सोनाम ल्होछार

छेसाङ लोप्चन  |  समाचार  |  फाल्गुन ३, २०८०

युरोप । युरोपेली मुलुक माल्टाको राजधानी भेलेटा नजिकै रहेको पेम्ब्रोक भन्ने सहरमा तामाङ समाज माल्टा सोनाम ल्होछार लाई पर्वका् रुपमा मनाउने तयारीमा जुटेको थियो । माघ २७ गते शनिबारका दिन २८६० औं सोनाम ल्होछारलाई पर्वको रुपमा मनाउन माल्टाको विभिन्न स्थानमा बस्दै आएका तामाङ समुदाय आफ्नो मौलिक पहिचान झल्काउने पहिरन लगाएर कार्यक्रम स्थलतर्फ आईरहेका थिए ।

(तामाङ गैलो) तामाङ समाजको पहिरनमा सजिसजावट भएर आइरहेका तामाङ समुदायले माल्टामा बस्ने देश विदेशका सबैको ध्यानाकर्षण गराएका थिए । रोचकत के थियो भने सोनाम ल्होछार पर्व मनाउन आएका अन्य समुदायका धेरैजसो नेपाली पनि तामाङ पहिरन लगाएर कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमका आएका अतिथिहरूलाई तामाङ समाज माल्टाले हार्दिकताका साथ स्वागत गरि रहेको थियो । तामाङ समाज माल्टाका महासचिब छेसाङ लोपचन (असिम) र सांस्कृतिक विभाग प्रमुख छिरिङ लामाले नमस्कार गर्दै आगन्तुकलाई स्वागत गरि रहेका थिए । कार्यक्रम स्थल निकै रोचक र आकर्षक देखिन्थ्यो ।

कामको व्यस्तता र थकानलाई बिर्सेर एकआपसमा नेपालीहरुले आत्मियता आदानप्रदान गर्दै प्रेम साँटासाँट गरि रहेको देख्न सकिन्थ्यो । सन्चो बिसन्चो बारे सोध्दै सुख दुःखका आनन्दले कुरा गरी रहेका थिए । माल्टामा पनि नेपाल चिनाउने काम गरेको भन्दै तामाङ समाज माल्टाको कामगर्ने शैली, सामाजिक एकता र मेलमिलापको सबैले प्रशंसा गरेका थिए ।

कार्यक्रममा तामाङ समाज माल्टाकी केन्द्रिय सदस्य डोल्मा लामाको भूमिका निकै महत्वपूर्ण देखिन्थ्यो । हाम्रो संस्कृति हामीले नै जोगाउनुपर्छ भन्दै आफ्नो मौलिक पहिचान संरक्षण गरेर देश विदेशमा चिनाउनु पर्ने उनी सन्देश दिदै थिईन् । पहिरन लगाएर आएकाहरुको पहिरन मिलाउँदै लगाउने तरिका समेत लामाले सिकाई रहेकी थिईन् ।

तामाङ पहिरनमै सजिएर गएका सुदूरपश्चिम घर भई हाल सुदूरपश्चिम सेवा समाज माल्टाका सदस्य समेत रहेका सुमित महराले सामाजिक सद्भाव र एकताको लागि तामाङ पहिरन लगाएर नै आफू कार्यक्रममा आएको बताए । माल्टामा रहेका धेरै नेपालीको कार्यक्रममा सक्रिय उपस्थिति देख्दा निकै खुसी लागेको अनुभव सुनाउँदै तामाङ समाजको संस्कृतिले नेपाल चिनाउने काम भएको उनले बताए ।

तामाङ समाज माल्टाका महासचिब छेसाङ लोपचन ९अशिम० ले औपचारिक कार्यक्रम संचालन गरे । परिवर्तनका लागि बलिदान दिएका दिएका ज्ञातअज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गर्दै नेपाली राष्ट्रिय गानमा सरिक भएर देशप्रति सम्मान प्रकट गरिएको थियो । गौतम बुद्धको मुर्तिलाई अगाडी राखेर दीप प्रज्वलन गरी औपचारिक रुपमा एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खनालले तामाङ समाज माल्टाले आफ्नो संस्कृति झल्काएर माल्टामा नेपाललाई चिनाउने काम गरेको बताउँदै तामाङ समाजको प्रशंसा गरेका थिए । एकले अर्काको संस्कृतिको सम्मान गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् पोर्चुगलबाट आफ्नो प्रस्तुती दिन आएका चर्चित गायक पुष्प वाइबाले आफू युरोप लगायत अन्य थुर्पै देशमा प्रस्तुती दिन गएको र यति ठूलो भब्य र सभ्य रुपमा संचालन गरिएको यो पहिलो कार्यक्रम भएको बताए । सयौं जनाको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा वाइबाले आधा दर्जन गीत गाएका थिए । उनका गीतमा दर्शकहरुले नाँच्दै उर्फीउर्फी हुटिङ गर्दै भरपुर मनोरन्जन लिएका थिए ।

मेरो देश मलाई लाग्छ प्यारो, तामाङ जाती हामी उठौं माथि माथि भन्ने गीत गाउँदै स्थानीय कलाकार र एनएमबी र एनएसएम ब्याण्डले तामाङ संगितमा साँस्कृतिक प्रस्तुती दिएका थिए ।
तामाङ समाज माल्टाका अध्यक्ष सुनिल तामाङ दोङलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य तामाङ समाजका केन्द्रिय सदस्य सुरज तामाङले राखेका थिए भने कार्यक्रम संचालन संस्थाका महासचिव छेसाङ लोप्चन (अशिम) रबिन तामाङ र शान्ती वाईबाले गरेका थिए ।

अध्यक्ष सुनिल तामाङ दोङलेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद् दिए । हामी विश्वको जुनसुकै ठाउँमा भएपनि नेपाली रितीरिवाज चालचलन र कला संस्कृतिको संरक्षण गर्नुपर्ने उनले बताएका थिए । कार्यक्रममा एनसीसी माल्टाका हरी बिसी र उज्वल केसीले शुभकामना मन्तव्य दिदै तामाङ समाज माल्टाले राम्रो काम गरेको बताए ।