चलचित्रमा अभिनय गर्न कलाकारलाई सात महिना तालिम !

चलचित्रमा अभिनय गर्न कलाकारलाई  सात महिना तालिम !

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन ४, २०८०

काठमाडौँ  । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता–निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् ।

पूर्वगोर्खा सैनिक रहिसक्नु भएका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ निर्माण गर्नुभएको छ । यही फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ ।

नेपालमा प्रदर्शन गर्नु अगाडि नै बेलायतमा प्रिमियर गरेर अन्तर्राष्ट्रिय रूपमा चर्चामा रहेको चलचित्र निर्माण पूरा गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले राससलाई बताउनुभयो । 'मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रूपमा सैनिकले लड्ने युद्ध देखाएको छु । म आफैँ पूर्वसैनिक भएकाले पनि यसमा कुनै सम्झौता गरिँन । चलचित्रमा सैनिकको घरपरिवार र पेसालाई देखाइएको छ । यसको तयारी एक दशक अगाडिको भएता पनि छायाङ्कनमा तीन वर्ष खर्चेको छु', निर्देशक चाम्सले भन्नुभयो । उहाँले चलचित्रमा सैनिक देखिन सम्पूर्ण पात्रलाई झण्डै सात महिनाको प्रशिक्षण दिएको जानकारी दिनुभयो । मुख्य अभिनेता रितेश चाम्स आफैँ पूर्वसैनिक रहनु भएकाले उहाँबाहेकका अन्य कलाकारले तालिम लिनुभयो ।

त्यसमध्येका एक अभिनेता रेअर राईले उक्त समयमा निकै कठिन भएको बताउनुभयो । 'एउटा चरित्रका लागि सात महिनासम्म हामीले तालिम गरेर उक्त जीवनलाई पर्दामा जिउने कोसिस गरेका छौँ । सुरुमा छोडेर जाउँ  जस्तो नभएको पनि होइन तर हाम्रो पुर्खाका गौरव गाथाले मलाई यो भूमिकासँग जोडेर राख्यो”, अभिनेता राईले भन्नुभयो । उहाँले तालिममा गरिएका अभ्यासले चलचित्र छायाङ्कनमा सहजता भएको बताउनुभयो ।

निर्देशक चाम्सले चलचित्रमा सन् १९४९ को समय देखाउन उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरिएको जानकारी दिनुभयो । यसमा मुख्य भूमिका निर्वाह गर्नुभएका अभिनेता रितेश चाम्स आफैँ पूर्व गोर्खा सैनिक भएता पनि चलचित्रका लागि विभिन्न प्रशिक्षण लिएको बताउनुभयो । 'मैले युद्धको क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु । गोर्खाली गाथामार्फत नेपाललाई विश्वमा चिनाउने उद्देश्यका साथ यसमा अभिनय गरेको हुँ । गोर्खाली भनेपछि हामीले विदेशमा पाइरहेको सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दैनौँ । यो गोर्खालीको पराक्रमको दस्तावेज हो', अभिनेता चाम्सले भन्नुभयो । चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, विरूप घले, सारा राईलगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रलाई प्रदर्शनका लागि रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले वितरण गर्दै हुनुहुन्छ ।