के काम गर्यौ त्यस्तो...

के काम गर्यौ त्यस्तो...

सुरेश राई  |  साहित्य  |  फाल्गुन ५, २०८०

के काम गर्यौ त्यस्तो आफ्नै नाम फेर्नु पर्यो 
पर्दाबाट चियाएर आज संसार हेर्नु पर्यो 
के काम गर्यौ त्यस्तो....

सिधासादा थियौ तिमी अल्लि थोरै चन्चल 
आँखा जस्तै कोमल थियौ आँसु जस्तै निर्मल 
त्यही चन्चल मनले कतै गल्तीहरु गरे हुन् कि
गल्तीहरु बढ्दै जाँदा भाग्य अभर परे हुन् कि 

के काम गर्यौ त्यस्तो फेरि कोठा सर्नु पर्यो 
अपरिचित मान्छेसँग हारगुहार गर्नु पर्यो 
के काम गर्यौ त्यस्तो....

आफू असल  हुँदाहुँदै गलत भो कि संगत
साथीभाइको साथहरू स्वार्थ भो कि फगत
त्यही त्यस्तै साथहरूले गल्तीहरु बढे हुन् कि !
सपनाहरू छुटे हुन् कि, कर्महरू डढे हुन् कि !!

के काम गर्यौ त्यस्तो झुटैझुट बोल्नु पर्यो
भित्री भित्री कुराहरु पराई सामु खोल्नु पर्यो 

के काम गर्यौ त्यस्तो आफ्नै नाम फेर्नु पर्यो 
पर्दाबाट चियाएर आज संसार हेर्नु पर्यो 
के काम गर्यौ त्यस्तो.....

बाम्राङ ,खोटाङ ।