बादलडाँडामा अनुभूतिको आलेख

नियात्रामाथि कविता

बादलडाँडामा अनुभूतिको आलेख

ज्ञानेन्द्र विवश  |  साहित्य  |  फाल्गुन ५, २०८०

‘बादलडाँडा’ नियात्राको यौटा नौलो कृति 
नियात्रा लेखनमा अलग्गै चिनारी र छवि 
चिनारू नियात्राकार राजेन्द्रमान डङ्गोलको कृति 
‘बादलडाँडा’ नामै प्रेममय, प्रकृतिमय
प्रकृति र पर्यटनको मिठास यसमा सुन्दर
नियात्राको लोकप्रियतालाई विस्तारित गर्दै 
विशेषतः जीवन, स्थानीय परिवेश समेटदै
प्रकृति र तिनका प्रति परदेशी मन लोभ्याउँदै 
पाहुनाहरूको दृष्टिकोण यसमा पढ्न पाइने
संवादको सिलसिलासँगै सुरम्य यात्रा गर्दै
स्थानीय परिवेशको परिचय लेखनमा भेटदै 
यात्राका अनुभूतिहरूलाई अभिव्यक्तिमा 
यात्रा जत्तिकै कठिन हुन्छ मिठास भर्न
हिँडाइको पीडासँगै खर्चको 
सबै हिसाबकिताब बिर्सिन्छ
निकै खर्चिलो र जोखिमको यात्रा पश्चात 
निर्माण हुन्छ लेखकीय कर्मको सिङ्गो सिर्जना
लेखन शैली र यात्राका अनुभूतिहरू
एक अभिलेख अनेकौँ दृश्यहरूको
एक अभिलेख अनेकौँ पाइलाहरूको 
नियात्रा पठनको आनन्दले हर्षित पाठकहरू 

पठन संस्कृतिले नेटो काट्ने कालबेलामा 
‘बादलडाँडा’ अनुभूतिमय भावमा उपस्थित
शब्द–संसारले भरिभराउ पाना–पानामा 
पढेर यात्रामा पाठक सामेल स्वयम् हुने 
प्रकृतिसँग संवाद गर्दै ओरालो झरेर सुस्ताउने 
उकालो चढेर प्राकृतिक सौन्दर्यमा रमाउने
बादलडाँडामा अनुभतिको मिठो आलेख लेखिने
एक सुखद यात्राको अभिलेख 
आन्तरिक आत्माको चित्रण
यात्राको वेग सुमधुर ध्वनितरङ्गहरूसँगै 
चोखो स्पन्दन प्रकृतिमय आभासहरूसँगै 
तिनको मिठास शब्दहरूमा अलग्गै
स्वाद–संसारको चास्नी बेग्लै
यात्राको भाव–अभिव्यञ्जना अर्कै
अनेक यात्राको अनेक भाव–संवाद उस्तै
एक मिठो उच्छ्वास अनुभूतिको आकाश
यात्राको, जीवन भोगाइको विशाल सागर 

हाम्रै समाजको ग्रामीण जीवन पढ्न पाइने
हाम्रै भूगोलको उकाली–ओराली पैदल गरिने
आफ्नै भूमिको दृश्यावलोकन गर्न सकिने
पाठकीय स्वादमा हाम्रै गाउँघर घुम्न पुगिने
शब्दयात्रामा सामेल भई आफू पनि यात्री भइने
उकालो चढेर थकाइ मार्दै हिँडिने
प्राकृतिक सौन्दर्यमा तृप्त भइने
नयाँ ठाउँ, नौलो गन्तव्य, नवीन परिदृश्य
नयाँ मान्छे, नयाँ कुरा सबैैमा नवीनता 
प्रत्येक यात्रामा अनुभूतिहरू खातका खात
बादलडाँडा पुगेर आराम भइने रहेछ
पाठकीय आनन्दले विभोर भइने रहेछ
लेखनजस्तो यस्तो होस् पढ्न मन जाग्ने
शब्द, भाव, विचार, ठाउँ रमाइलो लाग्ने
मन छुने, आफैँ हराइने यात्रामा
पढिरहूँ भइरहिँने बादलडाँडामा

यस्तो प्रिय यात्रा जहाँ हिँडेको ख्याल नहोस्
यस्तो ठाउँ जहाँ यात्राले बास नबसोस्
हिँड्नुको भोक सधैँ जगाइरहोस्रजागिरहोस्
प्रकृति, परिवेश, समय सजीव उतारियोस्
प्राकृतिक उब्जनीको खान्की खान पाइयोस्
उही लवज, उस्तै आनीबानी मिलिरहोस्
पाइलैपिछे पृथक अनुभूति गर्न सकियोस्
पहाडी र हिमाली हावाले चुम्न आओस्
जीवन्त भएर शान्त नदीमा डुबुल्की मार्दै
तिनै उकालीहरूमा फड्को मार्दै
तिनै देउराली र भञ्ज्याङहरूमा सुस्केरा फेर्दै
स्थानीय संवादमा स्वतः रमाउँदै
आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन होस्
पत्यारिलो विज्ञापन सम्प्रेषण सधैँ भइरहोस्
यति प्रिय शब्द र यति सुन्दर वर्णन
यसरी लेख्ने लेखक तिमीलाई धेरै बधाई 
धन्यवादको भागिदार भुँडीपुराण प्रकाशन

बादलडाँडा एकपटक पढेर महसुस होस्
सत्यसावित सबै पाठकलाई होस् । 


   नोटः राजेन्द्रमान डङ्गोलको नियात्राको नयाँ कृति ‘बादलडाँडा’ माथि कविता ।