लोकसंवाद संवाददाता | समाचार | फागुन ०६, २०८०
काठमाडौँ। साहित्य सदन नेपालले विश्व कविता दिवस (मार्च२१) चैत्र ८ गते कविता महोत्सव गर्ने भएको छ । साहित्य सदन नेपाल जनस्तरबाट स्थापित साहित्यिक संस्था हो ।
२०४३ सालमा कवि केदारमान व्यथितका अध्यक्षतामा स्थापित यस संस्थाले भाषा(साहित्य र संस्कृतिका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ । व्यथितपछि रमेश विकल र अमिर थापाले नेतृत्व गर्नुभएको यस संस्थाको हाल अध्यक्ष प्राज्ञ प्रा।डा। हेमनाथ पौडेल हुनुहुन्छ ।
यस संस्थाले हृदयचन्द्र स्मृति सम्मान, गोपालप्रसाद रिमाल पुरस्कार र व्यथित काव्य सम्मान जस्ता पुरस्कार र सम्मानको स्थापना गरेर विशिष्ट साहित्यकारहरूलाई सम्मान गर्दै आएको छ । जन प्रज्ञा-प्रतिष्ठानका रूपमा स्थापित यस संस्थाले एउटा प्रेक्षालयका साथ हाल महानगरपालिकाको सहयोगमा आधुनिक सुविधासम्पन्न भवनको निर्माण गरी आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ ।
हाल साहित्यकारहरूका लागि आवासीय साधना कक्ष, वाचनालयसहितको पुस्तकालयको निर्माण गरेको छ । यसै सन्दर्भमा यस संस्थाले कवि र कवितालाई सम्मान गर्ने उद्देश्यले आगामी चैत्र ८ गते (मार्च २१) विश्व कविता दिवसका दिन राष्ट्रव्यापी कविता प्रतियोगितासहित कविता महोत्सव गर्ने निर्णय गरेको साहित्य सदनका अध्यक्ष प्रा। डा. हेमनाथ पौडेलले बताउनुभयो ।
उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविहरूका समेत कविता वाचन हुने र कविता विमर्शका साथ महोत्सव सम्पन्न गरिने कुरा उहाँले बताउनुभयो । यस सन्दर्भमा प्रतियोगितामा सामेल हुन इच्छुक कविहरूका लागि सदनले एक सूचना प्रकाशित गरी कविता आह्वान गरेको छ । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनिस्कोले मार्च २१ लाई विश्व कविता दिवस मनाउने निर्णय गरेपछि संसारभरि विश्व कविता दिवस मनाइँदै आएको छ । यसै अवसरमा सदनले उक्त दिन कविता महोत्सव गर्न लागेको जनाइएको छ ।