नेपालको चार वर्षे एक दिवसीय विश्वकप यात्रा: कस्ता छन् चुनौती ?

नेपालको चार वर्षे एक दिवसीय विश्वकप यात्रा: कस्ता छन् चुनौती ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन ८, २०८०

आईसीसी विश्वकप क्रिकेट २०२७ मा पुग्ने मुख्य बाटो विश्वकप क्रिकेट लिग–२ का पहिलो तीन खेल सकिएका छन् । सन् २०१८ मा सुरु भएको आईसीसीको यो यो प्रतियोगिता नेपालले दोस्रो पटक खेलिरहेको छ । जसमा पहिलो त्रिकोणात्मक सिरिज आयोजनाको जिम्मा पनि नेपालले पायो । यो प्रतियोगिताका लागि नामिबिया र नेदरल्याण्ड नेपाल भ्रमणमा छन् । जसमा सबै टोलीले २–२ खेल खेल्दा खातामा पनि २–२ अंक जोडेका छन् ।

पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको नामिबिया दोस्रो खेलमा नेदरल्याण्डसँग पराजित भयो । पहिलो खेलमा पराजित नेपालले नेदरल्याण्डलाई ९ विकेटले हराउँदा नेदरल्याण्डले नामिबियालाई ७ विकेटले हराउँदै २ अंक जोड्न सफल भयो । 

अघिल्लो पटक ७ राष्ट्रबीच आईसीसी विश्वकप लिग–२ प्रतियोगिता भएकोमा यसपटक ८ राष्ट्र सहभागी छन् । २०१८–२३ सिजनमा रहेका ७ राष्ट्रमध्ये पुछारमा रहेको पपुवा न्युगिनी तेस्रो स्तरको च्यालेन्ज लिगमा घटुवा भएको छ । यसपटक नेदरल्याण्ड सुपर लिगको अन्तिममा रहँदै लिग–२ मा घटुवा भएको हो भने क्यानडा च्यालेन्ज लिग जितेर लिग–२ मा बढुवा भएको हो । 

अब सन् २०२७ सम्म हुने प्रतियोगिताका १४४ खेलपछि शीर्ष ४ स्थानमा पर्ने टोलीले सिधै विश्वकप क्वालिफायर खेल्न पाउनेछन् । जसमा च्यालेन्ज लिगका शीर्ष चार र सुपर लिगको पुछारका चार राष्ट्रसहित प्रतिस्पर्धा हुनेछ । 

विश्व क्रिकेटमा आईसीसीका पूर्ण सदस्य राष्ट्रहरुको दबदबा रहँदै आएको छ । विश्वकपदेखि हरेक प्रतियोगितामा यी राष्ट्र प्रमुख दाबेदार हुन्छन् । आईसीसीले दिने सहयोगमा पनि ठूलो भेदभाव छ । टेस्ट मान्यताप्राप्त राष्ट्रले पाउने आईसीसीको आर्थिक सहयोगको तुलनामा एसोसिएट राष्ट्रले पाउने सहयोग निकै कम छ । एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त एसोसिएट राष्ट्रहरूबीच हुने यो प्रतियोगिताले एसोसिएट राष्ट्रहरुलाई पनि विश्व क्रिकेटमा प्रतिस्पर्धी बनाउने उद्देश्य छ । बढीभन्दा बढी प्रतियोगिता हुँदा राष्ट्रिय स्तरको वृद्धि र अन्तर्राष्ट्रिय एक्सपोजर पनि पाउने हुँदा एसोसिएट राष्ट्रको क्रिकेट विकासमा यो प्रतियोगिता निकै महत्वपूर्ण हुने विश्वास छ । 

विश्व क्रिकेटमा नेपालले समेत खेल्ने यो प्रतियोगिता नेपालबाटै सुरु भएको छ । अघिल्लो पटक प्रतियोगितामामा स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी थिए । यसपटक सुपर लिगबाट आएको नेदरल्यान्ड्ससँगै गत सिजनका शीर्ष पाँच टोलीहरू स्कटल्यान्ड, ओमान, नेपाल, नामिबिया र अमेरिका छन् । प्ले अफबाट छनोट भएर आएका यूएई र क्यानडा गरी ८ टोलीले प्रतियोगिता खेल्नेछन् । 

अर्को भनेको एसोसिएट राष्ट्रहरुलाई विश्वकपमा पुग्ने यही एउटामात्रै बाटो हो । त्यसकारण पनि यो प्रतियोगितामा राम्रो नतिजा निकाल्नु आवश्यक छ । नेपालले पहिलो पटक सन् २०१८ मा पहिलो आधिकारिक एक दिवसीय खेल नेदरल्याण्डविरुद्ध नै खेलेको थियो । जसमा पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा नेदरल्याण्डलाई उसकै घरेलु मैदानमा हराएको थियो । त्यसयता लगातार एक दिवसीय खेलमा नेपालको आत्मविश्वास बढेको देखिन्छ । कोरोना भाइरसको महामारी र घरेलु प्रतियोगिता कम भइरहँदा पनि नेपालले आईसीसी विश्व क्रिकेट लिग–२ बाट आफ्नो खेल स्तर बढाउने अवसर पायो । कोरोनाले प्रतियोगिताको तालिका बिथोलिएपछि नेपालले आफ्ना अन्तिम ८ खेल घरेलु मैदानमै खेल्ने अवसर पायो । जसमा नेपालले सबै खेल जितेर ओडिआई मान्यता जोगाउनुका साथै एसिया कप समेत खेल्ने अवसर पायो । लिग–२ को शीर्ष तेस्रो स्थानमा रहेको नेपालले विश्वकप छनोटमा भने अमेरिकालाई मात्रै हराउन सक्यो । 

विश्व क्रिकेटमा नेपालले समेत खेल्ने यो प्रतियोगिता नेपालबाटै सुरु भएको छ । अघिल्लो पटक प्रतियोगितामामा स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी थिए । यसपटक सुपर लिगबाट आएको नेदरल्यान्ड्ससँगै गत सिजनका शीर्ष पाँच टोलीहरू स्कटल्यान्ड, ओमान, नेपाल, नामिबिया र अमेरिका छन् । प्ले अफबाट छनोट भएर आएका यूएई र क्यानडा गरी ८ टोलीले प्रतियोगिता खेल्नेछन् । 

जसमा चार वर्षमा १४४ वटा एकदिवसीय प्रतिस्पर्धा हुनेछन् । जसमा प्रत्येक राष्ट्रले ३६ वटा खेल खेल्न पाउनेछन् । यी खेलहरु होम, अवे तथा न्यूट्रल भेन्यूमा हुनेछन् ।

यसको अर्थ हरेक टोलीले १२ खेल घरेलु मैदानमा, १२ खेल अवे मैदानमा र १२ खेल न्यूट्रल भेन्युमा खेल्नुपर्नेछ । जसका लागि २४ एक दिवसीय शृङ्खला हुनेछन् । नेपालले आफ्ना १२ खेल घरेलु मैदानमा खेल्दा तीन वटा त्रिकोणात्मक सिरिज आयोजनाको अवसर पाउनेछ । जसमध्ये अहिले पहिलो त्रिकोणात्मक सिरिज भइरहेको छ । अब चार वर्षमा नेपालमा थप दुई त्रिकोणात्मक शृङ्खला हुनेछन् । जस अनुसार सन् २०२५ को नोभेम्बरमा ओमान र यूएईले नेपाल भ्रमण गर्नेछन् भने सन् २०२६ को नोभेम्बरमा स्कटल्यान्ड र अमेरिका नेपाल आउनेछन् । 

नेपालले अब सेप्टेम्बरमा क्यानडाको भ्रमण गर्नेछ । जहाँ नेपाल, क्यानडा र ओमानबीच त्रिकोणात्मक सिरिज अन्तर्गत चार चार खेल हुनेछन् भने अक्टोबरमा अमेरिकामा नेपाल, अमेरिका र स्कटल्यान्डबीच शृङ्खला हुनेछ । आईसीसीको तालिकाअनुसार क्यानडाले यो प्रतियोगिताका लागि नेपाल भ्रमण गर्नेछैन भने नेपाल नामिबिया जानु पर्दैन । अर्थात यो शृङ्खलामा क्यानडा र नेपालका खेल नेपालको मैदानमा हुने छैनन् भने नामिबिया र नेपाल बीचका खेल पनि नामिबियामा राखिएको छैन । यसबीचमा यी राष्ट्रहरुबीच टी–२० शृङ्खला पनि हुनेछ । 

गत सिजनको सुरुमा निकै कमजोर प्रदर्शन गरेको नेपालले पछिल्ला खेलमा प्रभावशाली जित निकाल्न सफल भएको थियो । यसपटक पनि स्कटल्याण्ड, ओमान, नेदरल्याण्ड, नामिबियाजस्ता राष्ट्रसँगको खेल निकै प्रतिस्पर्धात्मक हुनेछन् । त्यसका लागि नेपाली टोली सधैं तम्तयार बन्नुपर्नेछ ।