वीरगञ्जमा हिजोदेखि जारी निषेधाज्ञा आज पुनः

वीरगञ्जमा हिजोदेखि जारी निषेधाज्ञा आज पुनः

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ८, २०८०

पर्सा ।  वीरगन्जमा हिजोदेखि जारी निषेधाज्ञा आज बिहान चार घण्टा हटाएर पुनः लगाइएको छ । 

रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको विरोधमा एक समूहले वीरगन्जमा हिजो निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले हिजो साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । 

    सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधज्ञा पुनः लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । 

    स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधाज्ञा पुनः स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम लागू भएको जनाइएको छ ।

    पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल ९भन्सार० सम्म निषेधाज्ञा लागू हुने सूचनामा उल्लेख छ ।  निषेधाज्ञा जारी गरेको ठाउँमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुनलगायत उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाइएको प्रजिअ भुसालले बताउनुभयो । 

    वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले बताउनुभयो । 

    महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार क्षेत्रलगायत मुख्य चोक तथा गल्लीमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । 

    यसैबीच, पर्साको स्थानीय प्रशासनले धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै सञ्चार माध्यमबाट प्रसारण नगर्न आग्रह गरेको छ । 

    प्रमुख जिल्ला अधिकारी भुसालले प्रेस विज्ञप्ति जारी गर्नुहुँदै वीरगन्जमा देखिएको असामान्य परिस्थितिलाई सावधानीपूर्वक व्यावस्थापन गरिएको र यस परिस्थितिमा सुरक्षा निकायको संयमता र राजनैतिक नेतृत्व तथा नागरिक समाजका विभिन्न व्यक्तिको सुझबुझपूर्ण सहयोगका कारण परिस्थिति नियन्त्रणभित्रै रहेको भन्दै सामाजिक सद्भाव बिगार्ने खालका सामग्री पोष्ट नगर्न आग्रह गर्नुभएको छ ।