मस्र्याङ्दी गाउँपालिका : भूकम्पपीडित विपन्न २६ वाट नयाँ घर पुनःनिर्माण

मस्र्याङ्दी गाउँपालिका : भूकम्पपीडित विपन्न २६ वाट नयाँ घर  पुनःनिर्माण

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ९, २०८०

लमजुङ ।  आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मस्र्याङ्दी गाउँपालिका–९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ । अति दुःख गरेर बनाएको एउटा घर भूकम्पमा भत्काइदिएपछि सम्हालिन नसक्नेगरी मन कुँडियो । ‘जहाँ गहिरो, त्यही पहिरो’ भनेझै उहाँमाथि एकपछि अर्को समस्या थपिँदै गयो । उहाँले भन्नुभयो, 'दुःखीको भरोसा भगवान् हुन्छन् भनेर सहदै गएँ, मैले हिम्मत हारिनँ ।' 

प्यारालाइसिसले हातखट्टा राम्रोसँग नचल्ने र अलिअलिमात्र बोल्ने उहाँ र उहाँकी श्रीमती भूकम्पले भत्किएको  घरमै जोखिम मोलेर बस्दै आउनुभएको थियो तर अहिले परिस्थिति परिवर्तन भएको छ । दुई छाक खान वृद्धाभत्ताको सहारा लिँदै आएका उहाँका लागि यतिबेला नयाँ घर पुनःनिर्माण भएर चाबी पाएसँगै मुहारमा खुसी छाएको छ । 

मस्र्याङ्दी गाउँपालिका–९, ८, ३ वडाका आर्थिक अवस्था कमजोर भएका बाबुरामजस्तै धेरै भूकम्प प्रभावितको मुहार उज्यालो भएको छ । उहाँका छिमेकीले पनि टहरोमा कष्टकर र डरैडरमा रात कटाउँदै आएकामा अहिले नयाँ घर पाएपछि खुसी लागेको बताएका छन् । भूकम्पपीडित तिलकबहादुर भण्डारी, गोमे कामी, टीकामाया भण्डारीलगायत  विपन्न वर्गले घरसँगै जीविकोपार्जनका लागि सहयोग मिल्दा आफूहरूलाई धेरै सहज भएको बताउनुभएको छ ।

लमजुङमा क्रियाशील ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) र क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) को साझेदारीमा लमजुङ पुनर्लाभ परियोजनाअन्तर्गत निजी आवास पुनःनिर्माण गरी गत आइतबार मस्र्याङ्दीका १७ भूकम्पपीडितको घर पुनःनिर्माण गरेर उनीहरूलाई हस्तान्तरण गरिएको छ । चालु आर्थिक वर्षमा निर्माण सकेको १७ घरका लागि आरसिडिसी सीआरएसले रु ९२ लाख ५३ हजार ४६ लगानी गरेको आरसिडिसीका अध्यक्ष राजेन्द्र बोहराले बताउनुभयो । उहाँका अनुसार उक्त रकमबाट मस्र्याङ्दी गाउँपालिका–९ मा १३, ८ मा तीन घर र वडा नं ३ मा एक घर पुनःनिर्माण गरिएको छ । 

उक्त परियोजना हेर्ने इन्जिनियर रवि थापाका अनुसार जस्तापाताको छाना भएको दुईकोठे घर र शौचालय निर्माण गरिएको छ । साथै खानेपानी धारा घरघरमै लगिएको छ । निजी आवास पुनःनिर्माणका लागि आरसिडिसी र सीआरएसले प्रतिघर  पाँच लाख ४५  हजार तीन सय ४९ का दरले लगानी भएको  छ । साथै उक्त सङ्ख्यामध्ये १५ लाभग्राहीलाई जीविकोपार्जनका लागि रु १५ हजारका दरले सहयोग गरेको छ । 

त्यस्तै सो गाउँपालिका–९ ढाँडमा कृषि उब्जाउका लागि ढाँड सिँचाइ परियोजनाअन्तर्गत आरसिडिसी र सीआरएसले रु १३ लाख ४९ हजार तीन सय २३ बराबरको छ सय मिटर लामो सिँचाइ योजनासमेत निर्माण गरेको आरसिडिसीका अध्यक्ष बोहोराले बताउनुभयो । उहाँका अनुसार यसबाट १६ घरधुरीका बासिन्दा लाभान्वित हुनेछन् । विसं २०७८ जेठ ५ गते बिहान मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रविन्दु भएर पाँच दशमलव आठ रिक्टर स्केलको भूकम्प भएको थियो । भैँचालोबाट लमजुङका दुई हजार दुई सय घरमा क्षति भएको थियो । 

मस्र्याङ्दी गाउँपालिकाले विपन्नका ३० घर पुनःनिर्माणका लागि सिफारिस गरेकामा आरसीडिसी सीआरएसले गत वर्ष नौ घर र यो वर्ष १७ घर गरी २६ घर पुनःनिर्माण सम्पन्न गरेको छ । बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका गरी ५० घर पुनःनिर्माणको जिम्मेवारी यी संस्थाले लिएका छन् । 

सीआरएसका जिल्ला संयोजक कृष्णदेव जोशीले २०७२ वैशाख १२ गतेको भूकम्पपछि नेपालमा सिआरएस सक्रिय भएको र यो संस्थाको सहयोगमा हालसम्म ३२ हजार निजी आवास पुनःनिर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार लमजुङका तीन सय ५० परिवारलाई प्रत्यक्ष लाभ हुनेगरी सहयोगका कार्यक्रम सञ्चालन  गरिएका छन् ।