नेकपा प्रदेश ३काे चटाराेः  नाका,राजधानी, नामाकरणदेखि स्थानीय तहमा स‌ंसदीय दल  निर्माणसम्म

नेकपा प्रदेश ३काे चटाराेः  नाका,राजधानी, नामाकरणदेखि स्थानीय तहमा स‌ंसदीय दल  निर्माणसम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २५, २०७६

काठमाडाै ।  प्रदेश नं ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन । प्रदेशको नामकरण गर्ने विषयमा अहिले निकै चर्चा चलेको छ । प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम गौरीशङ्कर, वाग्मती, नेवा ताम्सालिङ, काठमाडौँ मण्डल, गोसाइँकुण्ड, शैलुङजस्ता नाम छन् ।

 राजधानीका बारेमा मकवानपुर, चितवन, काभ्रेमा राजधानी हुनुपर्छ भनेर प्रस्ताव दर्ता भएको छ । प्रदेश सरकारले सबै सांसदसँग परामर्श गरेर नामको अन्तिम टुङ्गो लगाउने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का सचिव तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले प्रदेशको नामकरण र राजधानी दुवै सबैको सहमतिमा राखिने सुनाउनुभयो । 'प्रदेशको नाम राख्ने र राजधानी कहाँ राख्ने विषयमा प्रदेश सांसदले संवैधानिक अधिकार प्रयोग गर्नुभएको छ, सर्वसम्मत रुपमा नाम र राजधानी हुन्छ', सचिव पोखरेलले भन्नुभयो,- 'कतिपय सांसदलाई मेरै जिल्लामा हुनुपर्छ भन्ने छ तर त्यस्तो ठान्नु हुँदैन ।' उहाँले सर्वसम्मत ढङ्गले पार्टीको निर्देशन मान्नुपर्ने धारणा राख्नुभयो । उहाँले केरुङ, तातोपानी र लामावगर नाका खोल्ने तयारीमा प्रदेश लागेको जानकारी दिनुभयो ।

 सो प्रदेशले त्यहाँको विकासका लागि हेटाै‌डा–कुलेखानी, टोखा–छहरे, नौबिसे– सुरुङमार्ग बनाउँदा राम्रो हुने योजना बनाएको छ । सो प्रदेशलाई शून्य कार्बनको प्रदेश बनाउने र भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा लागेको छ । 'भ्रष्टाचारमुक्त प्रदेश बनाउन मुख्यमन्त्री डोरमणि पौडेलदेखि सबै मन्त्रीहरु लागिरहनुभएको छ', नेता पोखरेलले भन्नुभयो, -यो प्रदेश समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा लागेको छ ।'     

 उक्त प्रदेशले जनताउन्मुख बजेट आगामी असार एक गते ल्याउने तयारी गरेको छ । राष्ट्रिय आयभन्दा माथि आर्थिक वृद्धिदर बनाउने लक्ष्य राखेको छ । सरकारले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने र सरकारले तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको बाटो पनि नीति तथा कार्यक्रमलाई जोडेर ल्याउने तयारी गरेका छ । प्रदेशमा रहेको गरीब र विपन्नतालाई कसरी सम्बोधन गर्ने भनेर साधन र स्रोत उचित परिचालन गर्ने योजना बनाएको छ । 
   
दश जिल्लामा पार्टी एकता सम्पन्न

तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी) बीच २०७५ साल जेठ ३ गत पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । पार्टी एकता भएको एक वर्ष बितिसकेको छ । नेकपाले तीन महीनाभित्र मातहातका कमिटी एकता हुने भनिएको उद्घोषण गरेको थियो । केन्द्रीय कमिटी र प्रदेश कमिटीले पूर्णता पाएको छ । जिल्ला कमिटीले पूर्णता पाउने क्रममा छन् । 

 प्रदेश नम्बर ३ मा भएका १३ मध्ये आठ जिल्ला साविक एमाले र पाँच जिल्ला साविकको माओवादीलाई अध्यक्ष हुने गरी भाग लगाइएको थियो । त्योअनुसार जिल्लास्तरीय एकता प्रक्रिया १० जिल्लामा सकिएको छ । '१३ जिल्लामध्ये १० जिल्लाको एकता प्रक्रिया सम्पन्न भयो, चितवन, काभ्रे र ललितपुर बाँकी छ, त्यहाँ पूर्वमाओवादीको नेतृत्व र सदस्यता विवादका कारण केही ढिलाइ भएको, अब छिटो त्यो कार्य पूरा हुन्छ', नेता पोखरेलले भन्नुभयो ।

  नेकपाको मातहातका कमिटीलाई एकता, पार्टी सदस्यता एकीकरण, पार्टीका भौतिक सम्पत्तिको लेखाजोखा गरी अभिलेखीकरण गर्ने, कार्यालयको व्यवस्थापन र स्थानीय तहसँग छलफल गरी पार्टी नेतृत्व स्थापित गर्ने, स्थानीय तह दल गठन गर्ने (केन्द्रमा संसदीय दलजस्तै) बनाउने प्रदेश ३ को तयारी छ ।

   वैशाख ९ गते पार्टी स्थापना दिवसका दिन जिल्ला कमिटीका अध्यक्ष र उपाध्यक्ष छिनोफानो गरेको थियो । सोहीअनुसार एकता गरेर सो प्रदेशले पार्टी स्थापना दिवस भव्यरुपमा मनायो । पुष्पलालको जन्मस्थान रामेछापको भँगेरीमा चार हजार मानिसको हाराहारीमा जन्मजयन्ती मनाएर ५२ रोपनी जग्गालाई अधिकरण गरेर आगामी दिनमा भँगेरीमा कम्युनिष्ट पार्टीको खोज अध्ययन केन्द्रको रुपमा विकास गर्ने नेता पोखरेलले जानकारी दिनुभएकाे समाचार राससकाे लागि कालिका खड्काले लेख्नु भएकाे छ ।