राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा: संखुवासभाको पोखरी बजारमा

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा: संखुवासभाको पोखरी बजारमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०८०

संखुवासभा  । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा संखुवासभाको चैनपुर नगरपालिका- ३ स्थित पोखरी बजारमा स्थापना गरिएको छ ।

शाखाको कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आईतबार उद्घाटन गर्नु भयो  । शाखाको उद्घाटनअ घि स्थानीय नागरिक, राजनीतिकर्मी, विद्यार्थी लगायतको सहभागितामा पञ्चेबाजासहित प्रभातफेरी गरिएको थियो ।

पोखरी बजारमा ६ वर्षअघि राष्ट्रिय वाणिज्य बैंकको एक्टेन्सन काउन्टर स्थापना गरिएको थियो । उक्त काउण्टरको स्तर वृद्धि गरी शाखाको स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । काउन्टर स्थापनाको समयमा नै पर्याप्त आधारहरु पुगे आगामी दिनमा शाखामा परिणत गर्ने प्रतिबद्धता अनुरुप यसपटक शाखा स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जनाउनु भयो ।

यस शाखाबाट साना लगानीकर्ताहरु मार्फत कृषि क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको समेत अधिकृत श्रेष्ठले प्रष्ट पार्नुभयो । शाखामार्फत बढिभन्दा बढि ऋण लिएर व्यवसायी बन्न समेत श्रेष्ठले स्थानीयबासीलाई अनुरोध गर्नु भएको छ । बैंकमार्फत प्रवाह गरिएको ऋण जनताकै भएकोले तोकिएकै समयमा तिर्नुपर्ने समेत श्रेष्ठले जनाउनु भयो ।


कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, सामाजिक अगुवाहरु, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरुले यहाँ बैंकको शाखा ल्याउने काममा योगदान दिनेहरूप्रति आभार व्यक्त गरेका थिए ।