प्रजातान्त्रिक योद्धा रामप्रसाद राई प्रतिष्ठानमा कर्ण घले

प्रजातान्त्रिक योद्धा रामप्रसाद राई प्रतिष्ठानमा कर्ण घले

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०८०

काठमाडौँ । वि.संं. २००७ का प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको ११५ औँ जन्मजयन्ती शुक्रबार राजधानीको बागबजारस्थित होटल हार्दिकमा एक समारोहको आयोजना गरी मनाइयो । कार्यक्रम पूर्व मन्त्री तथा वरिष्ठ साहित्यकार प्रदीप  नेपालको प्रमुख आतिथ्य एवं प्रतिष्ठानका कार्यबाहक अध्यक्ष टंकप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै इतिहासविद् प्रा.डा. गोविन्दमानसिंह कार्कीले २००७ सालको क्रान्तिमा रामप्रसाद राईले दिएको योगदानको चर्चा गर्दै नेपालको वर्तमान राजनीतिक परिवर्तनको संवाहक प्रजातान्त्रिक योद्धा राई नै रहेको विचार व्यक्त गरे । 'तर, अहिलेको शासन व्यवस्था संविधानले परिकल्पना गरे अनुरुप भने सञ्चालन नभएकोमा हामीलाई चिन्ता लागेको छ' उनले भने ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव देवान राईले संस्थाका गतिविधिमाथि प्रकाश पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग तयार पारिदिने प्रजातान्त्रिक योद्धालाई राज्यले वास्ता नगरेको बताए । उनले भने– 'राज्यले योद्धा राईलाई राष्ट्रिय विभूति घोषणा गरी सम्मान व्यक्त गर्नुपर्दछ अन्यथा इतिहासले धिक्कार्ने छ ।' 

कार्यक्रममा कोषाध्यक्ष इन्दिरा पोखरेलले आर्थिक अवस्थाका बारेमा प्रकाश पारेकी थिइन् भने रेडियो वाचक अच्युत घिमिरे बुलबुले प्रदीप नेपालद्वारा लिखित रामप्रसाद राईको जीवनीमा आधारित उपन्यास ‘क्रान्तिवीरको सपना’को श्रव्य–किताब तयारीका क्रममा उपन्यास वाचन गर्दा गौरव महसुस भएको बताए । स्वागत मन्तव्य सदस्य शान्ति  देवानले व्यक्त गरेकी थिइन् । कार्यक्रममा श्रव्य–किताब ‘क्रान्तिवीरको सपना’ सार्वजनिक भएको थियो । उक्त श्रव्य–किताब बुलबुल कम्युनिकेशनको युट्युब च्यानलमा सुन्न सकिन्छ । कार्यक्रम संस्थाका सदस्य भरत ढकालले सहजीकरण गरेका थिए ।

कर्ण घलेको नेतृत्वमा नयाँ कार्यसमिति

प्रतिष्ठानको ११ औँ अधिवेशनले वरिष्ठ समाजसेवी कर्ण घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको दुई उपाध्यक्षमा शशी लुमुम्बू,  इन्दिरा पोखरेल, महासचिवमा शान्ति देवान, सचिवमा प्रमिला राई, सहसचिवमा  विशाल राई र कोषाध्यक्षमा इन्दिरा भट्टराई ओझा चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा भरत ढकाल, सर्वधन राई, डिल्लीबहादुर राई (डिबि सरोज) र मनिकुमार राईलाई चयन गरिएको छ । अधिवेशनले प्रतिष्ठाको संरक्षकमा प्रदीप नेपाललाई चयन गरेको भने सल्लाहकारहरूमा मा। तारादेबी राई, मा। शेरधन राई, मा। विशाल भट्टराई, प्रा।डा गोविन्दमानसिंह कार्की, पारुहाङ राई, देवान राई र गोपीकृष्ण न्यौपानेलाई सल्लहाकार मनोनयन गरेको छ ।