कविको सङ्गत कि कविताको ? कतै उनको कृतिले नै मलाई गिज्याउन 'धत् ! मूर्ख' !!

कविको सङ्गत कि कविताको ? कतै उनको कृतिले नै मलाई गिज्याउन 'धत् ! मूर्ख' !!

सुरेश राई  |  समाचार  |  फागुन २०, २०८०

अग्रजहरु सल्लाह दिन्छन्, कविता लेख्नु या बुझ्नु छ भने कविहरूको संगत गर । अहिले पोयट आईडल कार्यक्रमको दोस्रो संस्करण चलिरहेको छ । त्यहाँ पनि छनौटमा पर्न असफल अथवा मुश्किलले  छानिन सफल भएका सहभागीहरुलाई निर्णायकहरुले कविता धेरै भन्दा धेरै पढ्न र कविहरूको संगतमा रहन सुझाउँछन् ।

हुन पनि हो  पारस्परिक अन्तरक्रिया र वातावरणले मान्छेको सोच विचारलाई थप परिपक्व बनाउँछ नै । रचनात्मकता बढ्ने संभावना बढ्छ । साथै आफ्नो ज्ञानको क्षितिज फराकिलो हुँदै जान्छ । 

कविता एउटा कला हो भने कवि त्यसको सर्जक । सर्जक हुनु भनेको एउटा व्यवस्थित मानसिकताको स्थितिमा  हुनु हो जुन सजकता साथ मात्रै उपलब्ध हुन्छ । तर  अन्ततोगत्वा कवि पनि एउटा मान्छे नै हो । ऊ  पनि सँधै मानसिक व्यवहारिक हिसाबले संयमित नरहन पनि सक्छ । ऊ भित्र पनि आवेग , लोभ-लालच , प्रेम ,ईर्ष्या , डाह , मोह आदि सबै हुन्छ । उभित्र सकरात्मकता,सिर्जनशीलता,आँट, हिम्मत ,साहस आदि जस्ता असल गुणहरू पनि हुने नै भए । यस अर्थले कविहरूसँगको संगत कुनै एक तहसम्मको ठिक हुनेछ भन्ने लाग्छ । त्यसो गर्दा कविको सिर्जनाप्रति अझ बेसी निष्पक्ष हुन सकिन्छ । यहाँ संगत भन्नाले  गोष्ठी ,कार्यक्रम , मुशायरा आदिमा सामान्य भेटघाट या सामाजिक संजालमा सामान्य हाई हेल्लो मात्र हो भने कुरा अर्कै हो अथवा 'कामसे काम रखो' हो भने कुरा भिन्न होला। तर संगत एक हद सम्मको गहिरो  नभए फेरि के संगत ? त्यसमाथि सभा समारोहहरूमा भेटघाट बाक्लिँदै जाँदा, फोनमा कुराकानी बढ्दै जाँदा संगत गहिरिँदै जान्न भन्ने के ग्यारेन्टी ?

त्यसैले कविहरूसँग व्यक्तिगत स्तरको संगत स्वयम कविलाई अनि कवि बन्ने धुनमा रहेर बन्दै गरेको कवि या उक्त कविको पाठक दुबैलाई नकारात्मक असर दिने खलको पनि हुन्न भन्न सकिन्न । व्यक्तिगत हिसाबले हुने संगतमा खराब या अति नै असल दुवै प्रभाव पर्न जान सक्ने हुनाले कविको कृतित्वले निरपेक्ष न्याय नपाउन सक्छ । त्यसैले पढ्ने र लेख्ने दुवैको बीच एक निश्चित दूरी कायम रहनु दुवै पक्षको लागि प्रेरणादायी हुन सक्छ । पर्दामा देखिने राजेश हमाल छायांकन स्थलमा भेटेको कुनै दूर दराजको किसानलाई 'हिरो' नलाग्न सक्छ र उसको हमालप्रतिको मोह भंग हुन पनि सक्छ । त्यसैले त्यो किसानले राजेश हमालका चलचित्रहरूसँग गरेको संगत नै प्रिय मान्न सक्छ ।

मोहभङ्गको त्रास 

लेखक खगेन्द्र संग्रौलालाई वर्षौं भयो पढ्दै आएको । म उनको ठूला प्रशंसकहरु मध्य एक हुँ । उ बेला अखबारहरूमा उनलाई हप्तौं पर्खेरै पढ्ने गर्थेँ । उनले भूतपूर्व  अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आएको बेला प्रचण्डले भेट गरेको सन्दर्भमा 'प्रचण्डले कार्टरको घुँडा पक्रेर पिल्पिल रोए' लेखेका कुरा तरोताजै छ अझै मेरो सम्झनामा । केही दिन अघि समेत मैले उनको 'नेपाली कम्निस्टका नौ दु:ख' पढेको थिएँ । उनै खगेन्द्र संग्रौला दाईसँग कल्पनामै सही मेरो संगत भयो रे !

एउटा डाक्टर जतिसुकै दक्ष र सफल भए पनि बिमारी र उसको सम्बन्ध कला र प्रशंसकहरुको बीच जस्तो त के होला र? त्यसैले यो मामिला मनको हो । मन ज्यादै नाजुक छ । दुख्नु र फुर्किनुमा यसको कुनै ठेगान छैन । त्यसैले माफ पाऊँ अग्रजहरु ! म कृतिहरुसँग प्रगाढ संगतमा रहन रुचाउँछु । व्यक्तिगत संगतमा थोरै एवं सन्तुलित तर काव्यिक संगतमा गहिरो धुनमा रहन अरुलाई पनि सुझाउँछु ।

कुनै खुसीयालीको प्रसंगमा यिनी मेरो अगाडि सस्तो गीत 'बदाम बदाम कच्चा बदाम' मा नाचिदिए रे र मानौं  त्यो पलको मैले साक्षी हुनु  पर्यो  रे । म त ठाउँको ठाउँ खुत्रुक्कै मर्छु । मेरा निम्ति उनको वजन दार खरो व्यक्तित्व नै प्रिय छ ।  भेटे नमस्कार गरेर एक फोटो खिचेर त्यसैमा खुसी हुन चाहन्छु । मिले उनको अटोग्राफ पनि लिइहालुँला जसलाई उनी बाहुलीको निशानी भन्ने गर्दछन् । जिन्दगी भरी मैले प्रेम गर्दै आएको लेखक म्याक्सिम गोर्कीले मेरी  छिमेकी आन्टीलाई फ्लर्ट गर्न सक्लान् । अथवा पाब्लो नेरुदाले कतै घुम्न जाँदा मलाई उनको कोट बोकाउलान् । हुन सक्छ बब डिलनले मातेर आएर मेरो घरको  गमलामा 'भमिट' गर्लान् । म मेरा प्रिय लेखक कलाकारहरूसँग यस्तो कुराको अपेक्षा राख्दिनँ । बरु उनीहरुको कर्मसँग प्रेम गरेर रमाउन चाहन्छु ।

मोह वृद्धिको सुबिधा 

यसको अर्को पाटो पनि छ । एउटा अमुक कविको कविता चाहिँ मलाई ठिक ठिकै लाग्न सक्छ तर उनको रुपले म मोहित हुन सक्छु । उनको सौन्दर्यले  लट्ठिएर म उनको हरेक रचनामा तालीमाथि ताली बर्साउने हुन सक्छु । उनको बोलीचाली, चालढाल , तैर तरिकाले म आकर्षित भएर उनको काव्यको वास्तविक क्षमता थाहा पाउनबाट विमुख हुन सक्छु । त्यसो गर्दा उनको काव्यलाई न्याय नहुन पनि सक्छ । एउटा अमुक कविको संगतमा म आफ्नो सुविधाको निम्ति लगातार उनको मोटरमा चढ्न सक्छु । उनको भव्य घरको भव्य कार्यक्रमहरुमा डाकिन सक्छु र उनले लेखेका सुन्दर कविताहरूलाई म उनी प्रतिको मोहले सुन्दर मात्र हैन परम सुन्दर देख्न सक्छु । हुन सक्छ म यति सारो प्रभावित हुँ कि स्वयं उनको कृतिले नै मलाई गिज्याउन 'धत् ! मूर्ख' !!  

यो नयाँ र पुराना कवि बीचको सङ्गतको कुरा मात्र हैन । समकालीन कवि कवि बीचको झनै हो ।संगत गहिरिएर जाँदा व्यक्तिगत आचरणको प्रभावले एक अर्काको लेखकीय कार्य प्रती तटस्थ रहन नसक्ने स्थितिको सिर्जना हुन्छ । कवितामा समर्पित प्रेमको कुरा बडो सक्षम र सुन्दर ढंगले लेख्ने तर वास्तविक जीवनमा बेसारे-भमरे कवि मित्रसँगको संगतले म उसको कृति प्रती नै पूर्वाग्रही हुन सक्छु । काव्य कृतिलाई अलग राखेर हेर्नु पर्छ भन्ने चेतना हुँदाहुँदै पनि साथी कविमा कथनी र करणीबीच 'इन्टिग्रेसन' देखिएन भने म उप्रती उदासिन हुन सक्छु  । कोही मेरो नजिक भएकै आधारमा मलाई उसको औसत काव्य अब्बल लाग्ने पनि हुन सक्छ ।

भर्खरै पोखरामा सम्पन्न साहित्य महोत्सवको एक सेसनमा लेखक बिना थिङ चर्चा गर्दै थिइन् कि आफू वरपरका मित्र मण्डलीले जस्तोसुकै स्तरको लेखाइलाई पनि वाह वाह गरेर काँधमा बोक्नाले आजको लेखन स्तर घटेको हो भनेर । आदर्शको कुरा गर्ने हो भने असल मित्र त्यही हो जसले कमजोरी र शक्ति, सही र गलत नहिच्किचाई भनिदिन्छ । तर यथार्थको कुरा त फेरि बेग्लै छ जस अनुसार मान्छेको आत्माको आहार नै प्रशंसा छ । त्यसैले प्रशंसा र आलोचनाले फरक त पार्ने नै छ । 

यहाँ साहित्यको मात्रै चर्चा गरिए पनि कलाका  सबै विधाहरूमा यो लागु हुन्छ भन्ने कुरा उल्लेख गर्नै परेन ।

तपाईंका मन पर्ने चलचित्रका प्रिय नायक-नायिका, गायक-गायिका, चित्रकार या मूर्तिकार आदि सबै सबैमा यो कुरा लागु हुन्छ ।

त्यसो त सामाजिक जीवनमा पेशागत हिसाबले सबैसँग यो कुरा लागु हुन्छ नै । तर कला भने मनसँग जोडिएको कुरा छ । एउटा डाक्टर जतिसुकै दक्ष र सफल भए पनि बिमारी र उसको सम्बन्ध कला र प्रशंसकहरुको बीच जस्तो त के होला र? त्यसैले यो मामिला मनको हो । मन ज्यादै नाजुक छ । दुख्नु र फुर्किनुमा यसको कुनै ठेगान छैन । त्यसैले माफ पाऊँ अग्रजहरु ! म कृतिहरुसँग प्रगाढ संगतमा रहन रुचाउँछु । व्यक्तिगत संगतमा थोरै एवं सन्तुलित तर काव्यिक संगतमा गहिरो धुनमा रहन अरुलाई पनि सुझाउँछु ।

 

बाम्राङ, खोटाङ (हाल- द.कोरिया)