इलाम २ बाट पत्रकार मिलन लिम्बूको स्वतन्त्र उम्मेदवारी घोषणा (अपिलको पूर्ण पाठसहित)

इलाम २ बाट पत्रकार मिलन लिम्बूको स्वतन्त्र उम्मेदवारी घोषणा (अपिलको  पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ५, २०८०

काठमाडौं।पत्रकार तथा नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा आईतबार आयोजित पत्रकार सम्मेलनमा उनले इलाम २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न लागेको घोषणा गरेका हुन् ।
संविधानसभाका अध्यक्ष सुबास नेम्वाङको मुत्युपछि इलाम २ को प्रतिनिधिसभा सिट रिक्त छ । इलाम २ मा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ । ‘पार्टी होइन स्वतन्त्र, भ्रष्ट होइन इमान्दार १’ भन्ने नारासहित ‘सामाजिक न्याय, सुशासन, विकास र पहिचान’लाई आफ्नो अभियान बनाउँदै इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी दिन लागेको लिम्बूले बताए ।
 
व्यवस्था परिवर्तन भएपनि राजनीतिक दलहरुको गैर जिम्मेवारीपनले गर्दा नागरिकको अवस्था परिवर्तन नभएको बताउँदै लिम्बूले भने, ‘राजनीतिक दलहरुले नेपाली नागरिक सामू गरेका बाचाहरूलाई पुरा गर्नु त कहाँ हो कहाँ उनीहरु आफैलाई सर्वोपरि ठान्दै सत्ता लिप्सामा लिन हुन पुगे ।’ राजनीतिक दलहरुको सिण्डिकेट तोड्न र जनताको मतको सम्मानका लागि इलामेली नागरिकले आफूलाई उम्मेदवारी दिन लागाएको उनको कथन थियो ।

दलहरुले जनताको मत र विश्वासलाई विकास तथा समृद्धिमा लगाउनुको साटो भ्रष्टाचारका एकपछि अर्को काण्डमा लगाएको उनको आरोप थियो । उनले भने, ‘दलहरुले नागरिकप्रति गरेको अपमानको विकल्पमा देशैभर स्वतन्त्रहरुले उम्मेदवारी दिई रहेका छन्, मेरो उम्मेदवारी पनि त्यसैको निरन्तरता हो ।’

झण्डै डेढ दशकदेखि पत्रकारिता तथा इलामको सामाजिक सेवामा सक्रिय छन् लिम्बू । पत्रकारिताको माध्यमबाट निरन्तर आमजनताको सवाल उठाउँदै आएका लिम्बुले भने, ‘यतिका वर्ष मैले पत्रकारिताको माध्यमबाट आमजनताका सवाल उठाए । तर, तिनको समाधान भएन् । त्यसैले आफै राजनीतिको मैदानमा उत्रिएको हुँ ।’

स्वतन्त्र उम्मेदवार मिलन लिम्बूको अपिलको पूर्णपाठ 

आदरणीय इलामेली नागरिक !
संविधान निर्माणसँगै राजनीतिक संघर्षको एक चरण पूरा भयो । त्यसपछि जनतालाई शिरमा राखेर विकास र समृद्धिको चरणमा जानुपर्ने थियो । तर, त्यसो भएन । नेता चुन्ने सार्वभौम जनताभन्दा जनताले छानेका नेता शक्तिशाली भए । शक्तिशाली मात्रै होइन, स्वेच्छाचारी र बेइमान पनि । विधि र प्रक्रियामाथि नेताको स्वार्थ हाबी भयो । तपाईं हाम्रो मतलाई नेताहरुले आफू र आफ्ना भाइ भतिजाहरूको उन्नतिका लागि दुरुपयोग गरे । तपाईं हाम्रो मतलाई उनीहरूले सत्ताको भागबन्डामा खर्चे ।

हामी जीवन धान्न कठिन संघर्ष गरिरहँदा नेताहरू नक्कली भुटानी शरणार्थी र सुन काण्ड जस्ता अपराधमा व्यस्त भए । दल र नेता यति नाङ्गिए कि त्यसको कुनै सीमै रहेन । र, उनीहरू सुध्रने पनि छैनन् । यतिका वर्षसम्म तपाईं हामीले विश्वास गरेका दल र तीनका नेताहरूको गैर जिम्मेवारीपनले हाम्रो अवस्था फेरिएन । नेताहरू रातारात धनी हुँदै जाने, हामी भने दिनानुदिन गरिब बन्दै जाने अवस्था बन्यो । आज पनि हामी साँझ-बिहान हातमुख जोड्नकै लागि मरिमेटिरहेका छौँ । सामान्य जीवन बाच्नका लागि पनि स्वदेशमा सम्भव नभएर विदेशी भूमिमा श्रम, पसिना र रगत बगाउनु हाम्रो नियति बनेको छ । यस्तो अवस्था बेइमान राजनीतिक नेतृत्वले बनाएका हुन् । तर, अब यसरी चल्दैन ।
हाम्रो जीवनमा परिवर्तन ल्याउन हामी नै जुट्नुपर्छ । हामी जुटेपछि मात्र हाम्रो जीवनमा परिवर्तन आउँछ । यतिका वर्षसम्म अधुरा रहेका हाम्रा विकास र समृद्धिका चाहाना पूरा गर्ने गरी मैले इलाम–२ मा २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छु । यो उम्मेदवारी मेरो मात्र होइन, तपाईं–हाम्रो उम्मेदवारी हो । हामी आम नागरिकको साझा उम्मेदवारी हो ।

इलामबारे हाम्रो दिमागमा जस्तो चित्र बनेको छ, वास्तविकता त्यो भन्दा फरक छ । विकासको दृष्टिले इलाम–२ निकै पछाडि परेको छ । खानेपानी, सडक, बिजुली, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत सेवा सुविधा हाम्रा लागि आकाशको फल जस्तै बनेका छन् । दुःख जिलो गरेर हामीले गरेका उत्पादनले सहज बजार पाउँदैन । उचित मूल्य पाउँदैन ।अब हामीले यो नियतिको अन्त्य गर्नुपर्छ । आउनुहोस्, तपाईं हामी मिलेर विकासका यी आधारभूत आवश्यकता पूरा गर्न हातेमालो गरौँ । श्रमले इलामेली माटोलाई समृद्ध बनाऔँ । कमिसनमा रमाएको हाम्रो कथित विकासको भाष्य परिवर्तन गरौँ । श्रम गर्ने र उत्पादन गर्ने तप्का मात्रै असली विकासका पहरेदार हुन् भन्ने नयाँ भाष्य निर्माण गरौँ ।

हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम–२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु । यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख–दुःखमा सँगै उभिने वाचा गर्दछु ।

विकास र समृद्धिको आशामा तपाईं–हामीले राजनीतिक दलका उम्मेदवारलाई बारम्बार जिताएर पठायौँ । तर, उनीहरूले सधैँ हाम्रो मतको दुरुपयोग मात्रै होइन, हाम्रा मूल्य–मान्यताहरूलाई समेत कुल्चिए । इलामेली नागरिकलाई जल, जंगल र जमिनको मालिक बनाउने यो अभियानमा म तपाईंहरुको साथ र सहयोगका लागि अपिल गर्दछु ।

संविधान र संघीयता लागू भए पनि अझै केही राजनीतिक कार्यभार बाँकी छन् । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने गरी शासकीय प्रणालीमा परिवर्तन गर्नु छ । सबै अस्तित्वहरूको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नु छ । यी राजनीतिक कार्यभार पूरा गर्नका लागि तपाईं–हामी एकताबद्ध हुनै पर्छ ।

सुन्दर र समृद्ध इलाम निर्माणमा जुटौँ !
स्वतन्त्र उम्मेदवार मिलन लिम्बूलाई चुनौँ !!



मिलन लिम्बू
स्वतन्त्र उम्मेदवार,
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन
इलाम–२

४ चैत २०८०