लुम्बिनीलाई पवित्र स्वर्गको टुक्रा बनाउने अवधारणा अनुसार सुन्दरीकरणको काम हुँदै

लुम्बिनीलाई पवित्र स्वर्गको टुक्रा बनाउने अवधारणा अनुसार सुन्दरीकरणको काम हुँदै

लोकसंवाद संवाददाता  |  पर्यटन  |  जेठ २५, २०७६

रुपन्देही । सन् १९७८ मा जापानीज वास्तुकलाविद् प्रो केञ्जो टाङ्गेले तयार पारेको गुरुयोजनामा लुम्बिनीलाई पवित्र स्वर्गको टुक्राका रुपमा परिकल्पना गरिएअनुसार सुन्दरीकरणको काम धमाधम भइरहेको छ । 

साठी प्रतिशत हरियाली, जताजतै रङ्गिचङ्गी फूल, निलो पानीले भरिएका पोखरी, तलाउ तथा नहर, सफा सुन्दर र प्राकृतिक सडक, लहरै रोपिएका विभिन्न प्रजातिका साना ठूला रुख बिरुवा र शीतल हावापानीको परिकल्पना गुरुयोजनाले गरेको छ । 

त्यसबाहेक बगैँचामा लटरम्म फलेका फलफूल, चारैतिर जोडिएका चाँडै सडकमा दुवैतिर विश्राम स्थल, सफा सुग्घर बगैँचा, जलचर, थलचरसहित हजारौं प्रजातिका चराचुरुड्गी, शान्त वातावरणमा रुखमुनि ध्यान गरिरहेका थुप्रै पर्यटक र सिङ्गो लुम्बिनीलाई सदाबहार राख्न एउटै पोशाकमा दैनिक खटिएका थुप्रै कामदारको परिकल्पना समेत गुरुयोजनामा छ । 

प्रो टाङ्गेले परिकल्पना गरेको स्वर्गको टुक्रा जस्तो लुम्बिनीको ८० प्रतिशत काम लुम्बिनी विकास कोषले ४० वर्ष लगाएर सम्पन्न गरेको छ । बाँकी काम अबका तीन वर्षमा सम्पन्न हुने कोषको दाबी छ । भौतिक संरचनाका अधिकांश काम सकिएका छन् । नयाँ लुम्बिनी ग्राम क्षेत्रमा निर्माण गर्नुपर्ने केही संरचना सक्ने कोषले ग्लोबल बोलपत्र गर्दैछ । परामर्शदाता छनोट भएकाले निर्माणका सम्पूर्ण काम उसैले गर्नेछ । 

आगामी तीन वर्ष कोषको अधिकांश ध्यान दृष्टि सरसफाइ र सुन्दरीकरणमा हुने कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले बताउनुभयो । लुम्बिनी विकास कोषका अनुसार बुद्धकालीन प्राचीन बगैँचालाई झल्काउने गरी  विभिन्न फूल  र बिरुवा रोप्ने काम भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बन्न लागेको बुद्ध वाटीका निर्माणको काम यसैवर्षदेखि शुरु हुने भएको छ । 

शान्ति स्तुपा नजिकै आकर्षक बुद्ध वाटिका बनाउने  कोषको तयारी छ । यहाँ आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउने उद्देश्यले विश्व वन्यजन्तु कोषको सहयोगमा शान्ति स्तुपाको पूर्वदेखि उत्तरसम्म तीन किलोमिटर क्षेत्रलाई पैदलमार्ग बनाइने छ । यो क्षेत्र लुम्बिनीको नगर पक्षी सारसको वासस्थान भएकाले यहाँ तीन किलोमिटर क्षेत्रमा पैदलमार्गसमेत बनाइने विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिनुभयो । 

यस्तै एशियन हाइ वे नजिकै १२ बिघा क्षेत्रमा आकर्षक बगैँचा निर्माण गरिने छ । विभिन्न प्रजातिका फूल रोपेर सुन्दरीकरण गर्न कोषले सिद्धार्थ इण्टरप्राइजेजसँग सम्झौता गरिसकेको भट्टराईले बताउनुभयो । पवित्र उद्यान क्षेत्रमा गुरुयोजना अनुसार निर्माण गर्ने ठूला संरचना सम्पन्न भएका छन् । यहाँ रहेका ४१ उद्यानका प्लटमध्ये तीन प्लट मात्र तयार भएका छन् । बाँकी सबै प्लटलाई यसै वर्षदेखि सुन्दरीकरण गर्ने योजना छ । उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ । अहिलेको पोखरीलाई दोब्बर बढाएर घाँस तथा झार उम्रिन नमिल्ने गरी सफा गर्ने र पोखरी वरिपरीको भिरालो जमीनमा दुबो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम शुरु भएका छन् । पोखरीका विभिन्न पाँच स्थानमा पानीका रङ्गिन फोहोरा बनाउने योजना समेत रहेको छ । 

पोखरीमा जलचर प्राणी र चराचुरुड्गिको आगमन वृद्धि गर्न उनीहरुको वासस्थान सुरक्षित गरेर यसको सुन्दरीकरण गर्ने योजना छ । आगामी वर्षभित्र यसको निर्माण कार्य पूरा हुने बताइएको छ । पवित्र उद्यान क्षेत्रभित्र करीब रु ७० लाखको लागतमा पुरातात्विक कार्यालय भवन निर्माण गरिएको छ । सफा र कञ्चन पानीले घेरिएको मायादेवी मन्दिर ४१ उद्यानले घेरिँदा स्वर्गको टुक्रा जस्तै सुन्दर हुने विश्वास गरिएको छ । यो पूरा भएपछि अहिले एक घण्टामात्रै मायादेवी मन्दिर क्षेत्र घुम्ने पर्यटलाई कम्तीमा चार घण्टा अडाउन सकिने अपेक्षा लुम्बिनी विकास कोषको छ । 

केन्द्रीय नहरको दायाँबायाँ पैदलयात्राका लागि  इँटाले छापिएको पैदल गोरेटो बाटो निर्माण सम्पन्न भएको छ । बाटोको दायाँबायांँ जुनसुकै मौसममा फूल्ने विभिन्न १४ प्रजातीका पmूल विरुवा १६ लाइन मिलाएर रोप्ने काम भइरहेको छ । आगामी केही महीनाभित्रै यो काम सम्पन्न हुने बताइएको छ । पूर्वी र पश्चिमी विहार क्षेत्रलाई जोड्न केन्द्रिय नहरका विभिन्न स्थानमा अर्धगोलाकार पुल निर्माण  गरिएका छन् ।

 केन्द्रीय नहरको दुवैतिर पर्यटक विश्राम गर्ने बेञ्च राखिएका छन् । नरहकोबीच भागबाट तारा फाउण्डेसन र महावोधि सोसाइटीतर्फ फैलिएका नहरलाई थप सुन्दर बनाउने र पानीका फोहोरा निर्माण गर्ने काम भइरहेका छन् । सिङ्गो लुम्बिनीको सुन्दरीकरणका लागि आगामी वर्ष करीब रु नौ करोड लगानी गरिने कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले बताउनुभयो  भएकाे कुरा राससमा  निरा गौतमले लेख्नु भएकाे छ।