सन्दिग्ध शताब्दी : निबन्धमाथि कविता

सन्दिग्ध शताब्दी : निबन्धमाथि कविता

ज्ञानेन्द्र विवश  |  साहित्य  |  चैत्र १०, २०८०

‘सन्दिग्ध शताब्दी’ मा जीवनको विम्ब
निबन्धको एक प्रेम मय उछ्वास
निबन्ध लेखनको शैली अलग्गै
शब्दको मिठास बेग्लै
अनुभूतिको वेग उस्तै
भावनाहरूका मालामा उनिएका
थुङ्गा–थुङ्गा विचारका विम्ब
आहा, कति सुन्दर, सुललित शैली
पाठकले ढुङ्गा चपाउनु पर्दैन
पढ्नलाई दाँतमा ढुङ्गा पर्दैन
घुटु–घुटु स्वादको रसास्वादन गर्दै
सललल बग्छ, सजिलै पढी सकिन्छ
जहाँ जीवन बगेको छ जीवनजस्तै
अभिव्यक्तिका स्पष्ट धारणाहरू
सौन्दर्यमय प्रवाहमा छचल्किँदै
निर्बन्ध निबन्धको यात्रामा
अनवरत यात्रारत् लेखन
 
शब्द–संसारको जालोमा जेलिँदै
हेलिँदै, हुर्किदै हलक्क सर्लक्क
पिङको लठारो जस्तै मजबुद
अनेक शब्द–शब्दको मिलन
निबन्ध पठनको एक स्वाद
एक घुट्को प्यास मात्र होइन
सन्देश पनि सोँच, सामथ्र्य धेरै
पाठकीय प्यास तृप्त परितृप्त पार्ने
कविताजस्तो निबन्धको शैली
कथाजस्तो पनि निबन्धको बान्की
पृथक स्वाद–संसारको लेखनी
  
फड्को मार्दै शब्दहरूको यात्रा
उकालिँदै, ओरालिँदै शब्दहरूसँग
घुम्ती छिचोल्दै कठिन यात्रामा
चौतरीमा सुस्ताउँदै, बिसाउँदै
अथक शब्द–यात्रा लेखकीय क्षमता
कति अनुभवका चाङ
कति विचारका खात
अभिव्यक्तिमा त्यत्तिकै
धारा–प्रवाह प्रस्तुतिहरू उत्तिकै
एक अविराम झङ्कार झलमल्ल
अमूल्य शब्द सुसेलीहरू सुन्दर
तिनै झङ्कारमा पाठकीय आकर्षण
अनुभूतिको देश–दर्शन
विचारको मन्थन, विश्लेषण
भावनाहरूको वेग बतासिँदै
एक विच्छिन्न अभिव्यक्तिहरू
‘सन्दिग्ध शताब्दी’ मा सप्रेम !

सोँच मग्न बनाउने शब्द गाम्भीर्य
चिन्तन मग्न बनाउन आफैँतिर फर्काउने
जीवनको, प्रेम र आस्थाको
विश्वास र श्रद्धाको गीत गुन्गुनाउने
आफ्नै परिवेश, गाउँघरसँग साक्षात्कार
विसङ्गतिमाथि तीब्र प्रहार
विकृतिमाथि चेतावनी पनि 
दुखेसोहरुमा पनि सुख र सन्तुष्टि
एक आराधना शब्दहरुको अविरल
एक प्रार्थना अनुभूति–अभिव्यक्तिको
सम्प्रेषणमा बेग्लै छ आभास
भाषा शैलीको बेग्लै मिठास
प्रेमको उद्गार छ उन्नत र उल्लासमय
जीवन, समय र समाजको चित्रण
कति मिठो प्रस्तुतति अनुभूतिहरूको
‘सन्दिग्ध शताब्दी’ मा श्रीबाबु कार्कीको ।

(श्रीबाबु कार्कीको निबन्धसङ्ग्रह ‘सन्दिग्ध शताब्दी’ माथि कविता)