कविशिरोमणि पौड्यालको गजलको श्रव्य-दृश्य सार्वजनिक

कविशिरोमणि पौड्यालको गजलको श्रव्य-दृश्य सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १०, २०८०

काठमाडौँ । कविशिरोमणि लेखनाथ पौड्यालको गजलको श्रव्य-दृश्य सार्वजनिक गरिएको छ । सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वर रहेको गजलमा श्रेष्ठ स्वयंको अभिनय छ ।

शनिबार नेपाली शिक्षा परिषद् लेखनाथ साहित्य सदनमा गीतकार, समालोचक प्रा।डा। कृष्णहरि बराल र समालोचक प्रा। रमा शर्माले उक्त गजलको श्रव्य-दृश्य सार्वजनिक गरे ।

अग्रज स्रष्टाप्रतिको सम्मान गर्ने परम्परालाई सिर्जनशील रूप दिँदै आएका सन्तोषले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल 'आकाशमा शशी छन्'को पनि श्रव्य(दृश्य सार्वजनिक गरिसकेका छन् ।

प्रा.डा. बरालले सन्तोषले अग्रज स्रष्टाहरूका गजललाई गायनमा ल्याएर गजलका साथै स्रष्टाको समेत सम्मान गरेका बताए । कवि, कथाकार, नाटककार, निबन्धकारका रूपमा मात्र चिनिँदै आएका पुराना स्रष्टाहरूले गजल पनि लेखेका रहेछन् भन्ने आफूले विद्यावारिधिको शोध गर्ने क्रममा फेलापारेको उल्लेख गर्दै बरालले ती गजल सन्तोषले सङ्गीतमा ल्याउँदा खुसी लागेको सुनाए ।

नेपाली शिक्षा परिषद्की अध्यक्षसमेत रहेकी समालोचक शर्माले सन्तोषले लेखनाथलाई गजलकारका रूपमा समेत चिनाउन गरेको कर्म सराहनीय भएको बताइन् ।

सङ्गीतकार, गायक श्रेष्ठले अग्रजहरूप्रति श्रद्धा र सम्मान गर्नु अनुज स्रष्टाको कर्तव्य भन्दै आफूले अग्रज स्रष्टालाई नै तीर्थ धाम र उनीहरूका सिर्जनालाई प्रसाद ठानेको बताए । 'कुनै लाभको अपेक्षाले नभएर सम्मान र श्रद्धाले यी काम गरेको हुँ', श्रेष्ठले भने, 'मैले यसबाट सन्तुष्टि पाउँछु ।'

श्रव्य-दृश्यको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् भने सम्पादन वीरेन्द्र भाट 'विपीन'ले गरेका हुन् ।