पाँच लाख राशीको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ डा. सन्दुक रुइतलाई

पाँच लाख राशीको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ डा. सन्दुक रुइतलाई

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०८०

झापा  । विश्वमा ‘दृश्यका देवता’ उपमाले चिनिनु हुने यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गर्ने रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापा जनाएकाे छ । 

प्रतिष्ठान झापाले डा. रुइतलाई  पाँच लाख रुपयाँ  राशीको उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।

भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले पुरस्कार आगामी बैशाख ४ गते डा.रुइतलाई उक्त सम्मान प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।

समग्र मानव हित तथा सकारात्मक समाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पुर्‍याउनु हुने व्यक्ति तथा संस्थालाई सम्मान गरी समाजलाई यस्तै उल्लेख्य योगदानको लागि अभिप्रेरित गर्न पुरस्कार वितरण गर्न लागिएको  ओलीले जानकारी दिनु भएकाे थियो । 

यस्तै, यो वर्षको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिने भएको छ । उहाँलाई रू एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मान पत्रसहित सम्मान गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको  थियो । 

सामाजिक कार्यमा प्रतिष्ठान
प्रतिष्ठानले सम्मानसँगै सामाजिक कार्यलाई समेत प्राथमिकताका साथ गर्दै आएको छ । सामाजिक कार्य अन्तरगत डा. भगवान कोइरालाको संयोजनमा दमक स्थित आधुनिक बाल अस्पताल निर्माणका लागि रू पाँच लाख, ९८ जना हातखुट्टाविहीनहरुलाई कृतिम हातखुट्टा वितरणका लागि नारायणि सेवा संस्थान उदयपुर भारतको सहयोगमा ब्रमाण्ड अपांग सहकारी बाहुनडाँगीलाई एक लाख ७३ हजार प्रदान गरेको छ ।

यसै वर्ष झापाका पाँच विद्यालयका ३०० जना विद्यार्थीलाई स्वीटर, जुत्ता–मोजा वितरण गरेको छ । भ्रष्टाचार विरोधी अभियान अन्तरगत झापाको शिवसताक्षीमा अन्तरक्रिया गरिएको छ भने भद्रपुरको सारदा आधारभूत विद्यालयमा खानेपानी ट्यांकी निर्माण भइरहेको छ ।

त्यस्तै, कोशी प्रदेश र विदेशमा रही नेपाली साहित्यको विकासमा क्रियाशील साहित्कारहरूबाट छनोट गरी १ जनालाई श्रीप्रसाद ओली साहित्य पुरस्कार र सम्मान गर्न लेखनाथ पुस्तकालय चन्द्रगढीलाई ६० हजार प्रत्येक वर्ष दिँदै आएकोमा छ । सोही क्रममा यस वर्ष मोरङ उर्लाबारीकी साहित्यकार मिश्र बैजयन्तिलाई ५१ हजार १११ रुपैयाँ पुरस्कार राशीको उक्त पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, ओली वंशको उत्थानका लागि अनुकरणीय कार्य गरेवापत ओली वंश अक्षयकोष काठमाडौंमार्फत ३० हजार रुपैयाँ पुरस्कार राशीको श्रीप्रसाद अम्बिका देबी ओली उत्कृष्ट समाजसेवा पुरस्कारबाट यो वर्ष सुर्खेतका सुरेशकुमार ओलीलाई प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि ओली वंश समन्वय समितिका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओलीले समाज रुपान्तरणका लागि गरिने यस प्रकारको कार्यक्रमले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा लेखनाथ पुस्तकालय चन्द्रगढीका संस्थापक अध्यक्ष नवराज घिमिरे, वर्तमान अध्यक्ष कृष्णसुवेदी निराकार, श्रीकृष्ण द्वैपायन गुरुकूलका संस्थापक अध्यक्ष गणेशप्रसाद भट्टराई, अध्यक्ष रेमनाथ चुडाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, प्रतिष्ठानका पदाधिकारी तथा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेकाे  थियाे ।