नियात्रामाथि कविता : काठमाडौंलाई सागरको पानी

नियात्रामाथि कविता : काठमाडौंलाई सागरको पानी

ज्ञानेन्द्र विवश  |  साहित्य  |  चैत्र १७, २०८०

आफ्नै कर्ममा निरन्तर वियोगी बुढाथोकी
सधैँ सक्रिय सिर्जनात्मक कर्महरूमा उनी
कहिले सम्पादनमा संलग्न
‘शिवपुरी सन्देश’ मा साहित्यको प्रवद्र्धन गर्दै
कहिले सम्मानको कार्यक्रममा व्यस्त
कहिले साहित्यिक बनभोजमा मस्त
जता गए पनि, जे गरे पनि
साहित्यकै सेवामा उनी हरदम
मकैभटमास र गुन्द्रुकको सत्कारदेखि
मायाको चिनो चेहराकै सम्झना बाँड्ने उनी
अहिले पनि २०८१ साल बैशाख १५ गतेको
आइसकेको छ निम्तो प्रिय मनहरूलाई
‘शिवपुरी सन्देश’ साहित्यिक पत्रिका तथा 
‘शिवपुरी साहित्य समाज’ को वार्षिकोत्सवमा
गुन्द्रुक, मकैभटमास कार्यक्रमको
बूढानीलकण्ठ, मुहान पोखरीको जङ्गल क्याम्पमा 

कति सशक्त र सिर्जनशील बुढाथोकी
लेखनमा उस्तै उर्वर उनी सदाबहार
कविता, गजल, मुक्तक हुँदै–हुँदै
लेखनमा विविधता सधैँ उनको उस्तै
नियात्राको चखिलो बान्कीमा उपस्थित
‘काठमाडौंलाई सागरको पानी’ लिएर
नियात्रामा विरानो देशको चिनारी दिँदै
अनुभूतिका मिठासमा भावना पोख्दै
प्रिय नियात्राकारको पहिचान बनाउँदै
पाठकलाई बेग्लै स्वाद र सन्तुष्टिले तृप्त पार्दै
वियोगी बुढाथोकी युवालाई प्रोत्साहित गर्छन् 
 
नियात्रामा अनुभूतिहरूका अनेक अभिलेख
अलग्गै चिनिने लेखनमा उनी
यसपटक बुढाथोकीले समुन्द्रैदेखि
काकाकुल काठमाडौँलाई पानी ल्याए
त्यो सङ्लो पानीमा अनुभूतिको अमृत
अस्ट्रेलिया भ्रमणका भावनाहरू
सप्रेम पस्किँदै स्वाद चखाए चखिलो
मिठास दिए पठनको विदेश यात्राको
चित्र र चिनारी सागर किनारको
हामी हिमालीबासीलाई बेग्लै स्वादको

कति भावना संवादको सिलसिलामा 
कति कल्पना उडानमा वेग हानेको
घुमेका, देखेका, भेटेका अनुभूतिहरू
सरल, सरस सुमधुर स्पन्दनमा 
यात्राका भोगाइहरू सर्लक्क बगेजस्तो
पाइलाका डोबहरू दुरुस्त अक्षरमा
वियोगीको वियोग छैन कतैजस्तो
उल्लासका उमङ्गहरूका चचहुइ
आँखामा दृश्यरमणका कति सुन्दर चाङहरू
नियात्राको एक नव्यतम् उचाइ–यात्रा
छोटो हिँडाइ र क्षणिक भेटाइमा पनि
जिन्दगीको प्रियतम् पलहरूका आभास
ओहो, यिनैमा समेटिएर सार्वजनिक जीवन
अनि त्यसमै छ सागरको पानी घैलाभरि
बोकेर काठमाडौ अर्थात् नेपाली पाठकलाई 
तृप्त पार्ने लेखकीय सुकोमल क्षमता 

धन्य नियात्राकार बुढाथोकी तिमी
जसका अनुभूतिमय अभिव्यक्तिमा 
अष्ट्रेलिया चिनियो, बुझियो र देखियो
अमूल्य समयका अनमोल पलहरू
अमूल्य जिन्दगीका अनमोल क्षणहरू
परदेश घुमाई कैदखाना होइन बन्धन र बार
बरू ऊर्जा उपलब्धिको मूल्यवान अवसर !
त्यसको सही सदुपयोगमा व्यस्त लेखक
जहाँ भेटिन्छन् यात्राका अनेक सन्दर्भहरू
जहाँ देखिन्छन् विकासका वैभवहरू
नियमकानून र अनुशासनले बनाएका
देश विकास, आत्मनिर्भरका सत्कर्महरू
त्यसैले त त्यहाँ अनेक देशका मनहरू
रमाएर खुसी भेटिरहेका छन् क्षण–क्षण
पढेर भविष्य निर्माणमा व्यस्त जनहरू
जागिर खाएर सुखको खोजीमा मस्त
घमन्तेहरूको पनि उस्तै छ घुइचो त्यहाँ
परिवार, आफन्त, प्रियजनसँग भेटघाट
यसरी बन्यो यात्रा र बुन्यो अमर सिर्जना
हार्दिक–हार्दिक बधाई छ शुभकामना पनि
प्रिय नियात्राकार वियोगी बुढाथोकी दाइ !

(नियात्राकार वियोगी बुढाथोकीको ‘काठमाडौंलाई सागरको पानी’ शीर्षक नियात्रा कृतिमाथि कविता)