प्रा. डा. रामप्रसाद पोखरेलका  एकै दिन तीन पुस्तक सार्वजनिक

प्रा. डा. रामप्रसाद  पोखरेलका  एकै दिन तीन पुस्तक सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २६, २०७६

 ललितपुर । नेपालका वरिष्ठ आँखा रोग विशेषज्ञ प्रा. डा. रामप्रसाद पोखरेलद्वारा लिखित आँखाका मणि, महायोगी अद्धैत पाइलटबाबाको दर्शन र पाइलटबाबा आश्रम नामक तीन कृति आज यहाँ सार्वजनिक गरिएकाे छ ।  

उप प्रधानमन्त्री ईश्वर पोखरेलले उक्त पुस्तक विमोचन गर्दै मानिस योगदान, विचार र कर्मले जीवित हुने बताउनुभयो । उहाँले प्रतिभावान मानिस सुखसयल र भौतिकवादमा मात्र खुशी हुन सक्दैन र मानिसले सधैँ जीवित रहने अठोटका साथ लेखन र साहित्यमा उन्मुख हुने गर्छ भन्नुभयो । उहाँले लेखक पोखरेलको कदम हरेक पुस्ताको लागि भविष्यमा प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकमा लेखक  प्रा. डा. पोखरेलले डाक्टरको जीवन, आँखाको उपचार गर्न नसकेर नेपालीले पाएको पीडा, विगत र वर्तमानका नेपाली स्वास्थ्य क्षेत्रको इतिहास र डा. स्वयंले जीवनमा भोगेका अनेकाैं अनुभवलाई आधार बनाई उल्लेख गर्नुभएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले ठूला मानिस र विज्ञका चिन्तन बोकेर अघि बढेका लेखक पोखरेलको जीवन सदैव सफल रहनुमा उनकी धर्मपत्नी शोभनाको हात रहेको जानकारी दिनुभयो । डा.  रिजालले अन्धोपन निवारण गर्न आँखा अभियान सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यका साथ वि.सं २०३१ मा नेपाल आँखा अस्पताल स्थापना गरेका पोखरेलले नेपाललगायत अन्य मुलुकका जनतालाई निःशुल्क उपचार सेवा दिएको बताउनुभयो ।

प्रा. डा. पोखरेलले वीर अस्पतालबाट आँखा उपचार गर्दै हिँड्ने क्रममा हिमाल, पहाड र तराईमा बस्ने मानिसलाई यस्तो प्रकृतिको आँखा रोग लाग्छ भन्ने कुरा पत्ता लगाइ त्यसको अनुभवका आधारमा पुस्तक लेखेको बताउनुभयो । नेपालका १४ अञ्चलमा १८ आँखा अस्पताल स्थापना गरेका पोखरेलले थुप्रै नेपाली जनतालाई दृष्टि दिएका छन् । आँखा उपचारको लागि धेरै भारतीय नेपाल आउने गरेका कार्यक्रममा  जानाकारी दिइएकाे थियाे  ।