नेपाली महिलाहरूकाे पाठेघरको मुखको क्यान्सरका बारेमा अमेरिकामा रहेका नेपालीहरूलाई चिन्ता !

नेपाली महिलाहरूकाे पाठेघरको मुखको क्यान्सरका बारेमा अमेरिकामा रहेका नेपालीहरूलाई चिन्ता !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २०, २०८०

अमेरिका।अमेरिका-नेपाल नीति अनुसन्धान केन्द्रद्वारा महिलाहरूको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (परीक्षण) तथा एचपिभि नियन्त्रणको लागी एचपिभि लगायतका विभिन्न खोपका सवालमा विश्व परिवेशमा गरिएका अभ्यास र नेपालका लागि अवसर र चुनौतीका बारेमा छलफल गर्न आयोजित एक वेबिनार कार्यक्रमको आयोजना गरेर चिन्ता व्यक्त गरिएको छ । 

यसरी चिन्ता गर्ने चाँजोपाँजो अमेरिका-नेपाल नीति अनुसन्धान केन्द्रले मिलाएको हाे ।  अमेरिका-नेपाल नीति अनुसन्धान केन्द्र गत विगत देखि नै नेपालको नीतिगत तहमा सहयोग पुग्ने किसिमका विभिन्न सेमिनार तथा अनुसन्धानात्मक  कार्यक्रमहरू गर्दै आएको छ । 

यसै क्रममा यस वेबिनारका वक्ताहरूले महिलाको पाठेघरको मुखको क्यान्सर निदान गर्न विश्वका धेरै राष्ट्रहरूले गरेका अभ्यास उपर छलफल गर्दै नियमित परीक्षण र एचपिभि खोपको महत्त्व बारेमा हाल सम्म गरिएका अनुसन्धानहरूका बारेमा बिचारहरू राखेका थिए । यसका साथै नेपालमा प्रतिदिन चार जनाका दरले सो रोगबाट मृत्यु भइरहेको सरकारी आँकडा र महिलाको मृत्युमा दोस्रो प्रमुख कारणको रूपमा रहेको यस रोगको नियन्त्रण गर्न आगामी दिनमा के कसरी सामना गर्ने भन्ने बारेमा पनि सबैको ध्यान आकर्षण गराएका थिए ।
एचपिभि के हो ?
    एचपिभि वा Human papilloma virus (HPV) सामान्यतया शारीरिक यौन संसर्गबाट पाठे धरमा हुने एक किसिमको सङ्क्रमण हो । यो भाइरस करिब ९० प्रतिशत मानवको शरीरमा हुने र यसको सङ्क्रमणबाट पाठेघरको मुखको क्यान्सर हुने हुँदा यसको निदान को लागि नियमित शारीरिक परीक्षण र एचपिभि खोपको जरुरत पर्दछ । 

विश्व परिवेशमा प्राप्त अवसरहरू 

विश्व जगतले महिलाको पाठे धरको मुखको क्यान्सरलाई नियन्त्रण गर्न नियमित परीक्षण र एचपिभि खोपलाई प्राथमिकतामा राखेको पाइन्छ । सो सम्बन्धमा नेपाली मूलका अमेरिकन र नेपालमा कार्यरत विशेषज्ञ डाक्टरहरूले नेपाल सरकारले प्राथमिकतामा राखी निदानत्मक कार्यक्रम सहित आगामी दिनमा थप रकम र पूर्वाधारमा बिचार गर्नु पर्ने भनाई राखेका थिए । यस रोगको निदानका सम्बन्धमा नियमित परीक्षण गर्ने सवालमा अमेरिकामा सरकारी निर्देशिका बमोजिम २१ देखि २९ वर्ष सम्मका महिलाहरूले प्रत्येक ३ वर्षमा र ३० देखि ६५ वर्ष सम्मका महिलाको हकमा फरक-फरक किसिमको प्याप र एचभिपि परीक्षणबारे सिफारिस गरिएका अनुसन्धानात्मक निचोडहरूलाई विज्ञहरूले प्रस्तुत गरेका थिए । प्याप र एचभिपी दुवै प्रविधि ३० देखि ६५ वर्ष उमेर समूहका लागि परीक्षणबाट उपयोगी रहेको समेत छलफल गरिएको थियो ।

यस्तै गरी कार्यक्रमका विशेषज्ञहरूले ९ देखि १२ वर्ष उमेर पुगेका युवा युवतीहरुको लागी एचपिभि खोपको व्यवस्था गरिएको र उक्त खोप यदि सङ्क्रमण हुनु पहिले नै लगाइयो भने करिब ९७ प्रतिशत सफलता दर रहेको कुरा वेबिनारको अन्तरक्रियामा प्रस्तुत गरिएको थियो । जसका लागी खोपको पहुँच नेपाल जस्ता देशमा पुर्‍याउन सबैले पहल गर्नु पर्ने जानकारी गराइएको थियो । यसका साथै कार्यक्रमका विज्ञहरूले एचपिभि खोप ४५ वर्ष सम्मका उमेर समूहका लागि पनि लाभदायक हुने र यो खोप लगाउँदा भाइरसको सङ्क्रमणबाट बचाउन सकिने बिचार व्यक्त गरेका थिए ।

नेपालले बेहोरेका चुनौतीहरू

वेबिनारमा नेपालको परिप्रेक्षका महिलाहरूले भान्सा र घरधन्दाको काम गर्न नसक्ने अवस्था पछि मात्र अस्पताल पुग्ने गरेको तितो यथार्थ बारे विज्ञहरूले जानकारी गराएका थिए । साथै नेपालले सन २०१७ मा ३० देखि ६५ वर्ष समूहका ७० प्रतिशत महिलाहरूको शारीरिक परीक्षण गर्ने लक्ष लिएकोमा सन २०१९ को आँकडा हेर्ने हो भने केवल ८.२ प्रतिशत महिलाहरूले मात्र परीक्षणमा सहभागी भएको प्रति नीति निर्माताको ध्यान आकर्षण गराएका थिए ।  

नेपालको परिप्रेक्षकमा आम सर्वसाधारणको रोग प्रतिको गलत अवधारणा, सचेतनाको कमी, कमजोर आर्थिक स्तर, नियमित परीक्षण र खोप सम्बन्धी गलत सोचाई, प्रचार-प्रसारमा कमी, सर्वसाधारणको खोपमा पहुँच नहुनु, काम गर्ने दक्ष जनशक्तिको अभाव, ग्रामीण भेकमा पूर्वाधारको अभाव एवम् नीति निर्माण तहमा यस विषयले प्राथमिकता नपाउनु आदी व्यक्तिगत, सामाजिक र नीतिगत समस्याहरू रहेको बिचारहरू व्यक्त गरिएको थिए । यसका साथै नेपालमा विभिन्न देशबाट ल्याइने फरक फरक कम्पनीले उत्पादन गरेका एचपिभि खोपहरू उपयोग गर्दा यसले पार्ने असर र खोपको विश्वसनीयताका बारेमा पनि अनुसन्धान हुन नसकेको अवस्थाको बारेमा समेत छलफल गरिएको थियो । 

बेबिनारको सारांश 

नेपालमा महिलाहरूको पाठे धरको मुखको क्यान्सर एक जल्दो बल्दो समस्याको रूपमा देखिएको छ । यसको समाधानको प्रमुख उपाय भनेको स्क्रिनिङ (परीक्षण) तथा एचपिभि खोपमा पहुँच र सर्वसुलभता गर्नु नै हो । यसका लागी व्यक्तिगत रूपमा सचेतना फैलाउनु पर्ने एकातिर छ भने अर्कोतर्फ राजनैतिक प्रतिबद्धता र स्पष्ट नीतिगत अवधारणा एवम् सरकारी लगानी बढाउनु पर्ने देखिन्छ ।  

वेबिनारमा डा. सुदिक्षा बाँस्कोटा, डा. ङवाङ शेर्पा, डा. सुनिता अर्याल, डा. अर्चना श्रेष्ठ, र डा. अन्जु श्रेष्ठले विभिन्न पक्षहरूलाई समेटेर विश्व जगतमा भएका अभ्यास र नेपालमा नीतिगत सुधारका लागी हाल सम्म चालिएका कदम र अनुसन्धानले देखाएका विभिन्न पक्षमा आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम केन्द्रका अध्यक्ष जगदम्बा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।