लोकसंवाद संवाददाता | कारोबार | चैत २०, २०८०
काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
ग्लोबल आइएमई बैङ्कका अनुसार यस समझदारीपछि ग्लोबल आइएमई बैङ्कले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नेछ । यस समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास बैङ्कले लिएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ । त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बैंकले जनाएको छ ।