कथामाथि कविता: अँध्यारो कुनोमा कथा कुथुङ्ग्री

कथामाथि कविता: अँध्यारो कुनोमा कथा कुथुङ्ग्री

ज्ञानेन्द्र विवश  |  साहित्य  |  चैत्र २४, २०८०

‘अँध्यारो कुनो’ कथा कृतिको नाम
शीर्षक नै कति रहस्यमय लाग्ने 
बेग्लै स्वाद र शैलीका कथा कुथुङ्ग्रीहरु
फरक प्रयोगका कथानक अनुभूतिहरू
सम्प्रेषणीय संवादका मिठास पाठकलाई
अलग्ग चाख, चासो र चिन्तन सबैलाई
प्रिय कथाकारको एक अनुभव–अभ्यास
कथामा छ नयाँ पुस्ताका चरित्रहरू
शीर्षकले नै जिज्ञासा जागृत गराउने 
किन होला यस्तो नाम 
के होला यसको भाव आदि 
अर्थपूर्ण अनुभूतिको खोजी
र, त्यस खोजीले कथा कृतिभित्र 
डुबुल्किने जाँगर स्वतः जाग्ने ।

प्रथमतः कथाकार हुनुअघि खगेन्द्र भट्टराई 
पत्रकारका रुपमा उनीलाई चिनेको मैले 
‘दि राइजिङ नेपाल’ दैनिकमा 
पत्रकारिता जुनबेला उनी गर्थे 
अहिले उनलाई मैले चिन्न छाडेर
भेट्न पाएँ अक्षरका अनुभूतिहरूमा आज
जहाँ उनी कुशल प्रयोगधर्मी कथाकार 
जहाँ उनी एक कलमजीवि सर्जक
जहाँ खगेन्द्र भट्टराई अब परिचयमा
कथाकार व्यक्तिका रुपमा 
मैले उनका कथाहरु पढेँ 
‘अँध्यारो कुनो’ वास्तवमा मलाई लाग्यो 
मैले पढ्न भ्याएका कथाका
केही कथाहरु पठनीय लागे 
तिनमा कथाकारको अनुभूति, 
कल्पनाशीलता, पात्र, घटना र परिवेश 
तथा संवाद चखिलो छ चर्को छैन
कथाको यही चखिलोपनले 
उठान र विसानमा बढाउँछ 
बेग्लै किसिमको पाठकीय आकर्षण 
समग्र १४ थान कथाहरुको विश्लेषण 
होइन यो लेखन ‘कथामाथिको कविता’
मात्र कथामाथिको एकसरो कविता
कथामाथिको एकसरो अनुभूति
कथामा हाम्रै समय, समाज, संस्कृति, 
आचार विचार, मनोविज्ञानका 
विविध पाटा र पात्रहरुको चिरफार 
चित्रण सजीव लाग्छ प्रत्येक पाठकलाई
कथा पढिरहँदा एकपछि अर्को घटना 
वरिपरि आँखाका परिधिमा देखापर्छन् 
यति मिठा र राम्रा कथा लेख्ने 
मेरो मित्र–महोदय कथाकार खगेन्द्र
तिमीलाई स–धन्यवाद बधाई 
‘खाइज्यान’ कथामा ‘शान’ अब तिमी
आगामी दिनमा अझ राम्रा 
अझ धेरै कथाहरुको स्वाद 
हामीलाई चखाउ हामी चाख्छौ ।

शिक्षक, शिक्षाप्रेमी, शिक्षासेवीको चिनारी
यही परिचयको पाटोमा कथाकार
मेरो प्रिय मित्रको लेखनकलाले 
मेरो मन र आँखामा कति हर्षका आँसुहरू
पाठकीय प्रेमले प्रफुल्लित कति खुसीहरू
मानवभित्रका कुनाकन्दराका अँध्यारा पाटा
तिनैलाई मनको मझेरीबाट बढार्दै
दैलोबाट आफालेर सदाका लागि
सफा र सुन्दर समाज र मन
बनाउने लेखकीय अभीष्ट ठुलो
यौटा कथा मात हैन अँध्यारो कुनो
यसमा उज्यालो पक्ष र पाटा धेरै छन् ।

मानव मनका अनेक चाहनाहरू
यौन मनोविज्ञानका विश्लेषणहरु
अनेक क्षेत्र, विविध उमेर, पेशा
अनेकौँ शिलस्वभावका मान्छेका
कुराहरुलाई कथामा बुनेर
कथाकारले सुगन्ध र सौन्दर्य 
पस्किदा–पस्किकदै पाठकलाई
अँध्यारो कुनाबाट फुत्त निस्किन
आग्रह गर्दै सकारात्मक सन्देश बाँड्छन्
मनोविज्ञान पनि छ कथामा
मनका ढुकढुकी र निम्सरा पाटाहरू
कथामा मिठो कलात्मक लेपन छ
सुललित भावनाको बाढी छ
प्रणय–प्रेमको वासना छ
तथापि उत्ताउँलो छैन उत्तिको
त्यसलाई संयम, धैर्यले सम्हाल्दै
कथा कुथुङ्ग्रीको परम्परागत साइनो
तोड्दै कथाकार खगेन्द्र भट्टराईले
कथालेखनको शिखर यात्रा थोका छन्
नयाँ स्वादमा उपस्थिति जनाएका छन् 
नौलो प्रस्तुतिमा आफूलाई उभ्याएका छन् ।

(कथाकार खगेन्द्र भट्टराईको कथा कृति ‘अँध्यारो कुनो’ माथि कविता)