अब एक जिल्लाबाट अर्को जिल्लामा सामान ढुवानी गर्दा दर्ता गर्नुपर्ने !

अब एक जिल्लाबाट अर्को जिल्लामा सामान ढुवानी गर्दा दर्ता गर्नुपर्ने !

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २६, २०७६


चितवन । राजश्व अनुसन्धान विभागले २०७६ साल जेठ २५ गते  यहाँका व्यवसायीसँग सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधिका बारेमा छलफल सञ्चालन गरेको छ ।

उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको कार्यक्रममा यही साउनबाट अनिवार्यरूपमा लागू गर्न लागिएको वेवमा आधारित भेइकल एण्ड कन्जिङ्म्यान्ट ट्रयाकिङ सिस्टमका सम्बन्धमा छलफल गरिएको हो ।
 
सो अवसरमा दिइएको जानकारी अनुसार यस पद्धति सामान ढुवानी गर्दा प्रयोग गरिने छ । एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानबाट अर्को स्थान सम्म सामान ढुवानी गर्दा दर्ता गराएर गर्नु पर्ने हुन्छ । यस प्रणाली अन्तर्गत ढुवानी कम्पनी, आयात कर्ता र आफै सामान ढुवानी गर्नेहरुले मालसामान ओसारपसार गर्नु पूर्व वेवमा आधारित केन्द्रीय सुचना प्रणालीमा प्रविष्टि गरेर मात्र ओसारपसार गर्नु पर्ने नयाँ सफ्टवेयर  प्रणाली भएको सो अवसरमा जानकारी दिइएको थियो । 

कार्यक्रममा राजस्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मीले यस प्रणाली के हो, यसवाट केके फाइदा हुन्छ, यस प्रणालीको आबश्यकता किन पर्यो, हाल ढुवानी कर्ताले भर्ने गरेको चलान, यस प्रणालीबाट बन्ने चलान लगायतका बारेमा प्रकाश पार्नु भएको थियो । विभागका निर्देशक टंक पाण्डेका अनुसार यस प्रणालीका बारेमा जेठ महिना भरीमा देशभरका प्रमुख शहरहरुमा अन्तरक्रिया गरि छलफल गरिने छ । 

असार महिनामा परिक्षणका रुपमा प्रयोग गरेर साउनबाट अनिवार्य रुपमा लागु गरिने पाण्डेले जानकारी दिनु भयो । यस प्रणाली अन्तर्गत ढुवानी पूर्व सामानको विवरण  केन्द्रीय सुचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसार पसार गर्न सकिने उहाँले बताउनु भयो । जसबाट बाटोमा हुने सबै झन्झट  हट्ने पाण्डेको भनाइ छ । 

सो अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख शुबप्रसाद रिजाल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, संघका उद्योग प्रवर्धन समितिका संयोजक सोमप्रसाद काप्रीलगाएतले बोल्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले यस प्रणालीका बारेमा जिज्ञासा राखेका थिए ।