पनौतीमाथि सौन्दर्यको बिस्कुन

यात्रा–निबन्ध

पनौतीमाथि सौन्दर्यको बिस्कुन

ज्ञानेन्द्र विवश  |  साहित्य  |  बैशाख १, २०८१

पनौतीमाथि प्राकृतिक सौन्दर्यको बिस्कुन सुकाइएको थियो । त्यो बिस्कुनमा हरेक चिजबिजहरू मिलाएर सुकाइएको देखिन्थ्यो । कतै बारीका गरै गरा । कान्ला र बारीका पाटाहरू । तिनै कान्लामा फूलहरू ढकमक्क फुलिरहेका । निःशुल्क मुस्कान र वासना बाँडेर आगन्तुकलाई आकर्षित पारिरहेका । 

लिच्छवि कालदेखि नै अस्तित्वमा रहेको पनौती नगरको विकास मल्ल कालमा आएर भएको मानिन्छ । यहाँ धेरै पुरातात्विक स्थलहरू छन् । परम्परागत जात्रा पर्वहरू पनि अद्यापि सञ्चालित छन् । यहाँको कुशादेवी मन्दिरमाथि अवस्थित पहाडको शिरमा अहिले होटल व्यवसायले राम्रो आम्दानीसमेत गर्दै आइरहेका छन् । कुशादेवीबाटै लीलावती खोला पनौतीतर्फ बग्दै आएकी र रोशी अर्थात रोशमती नदीसँगै बग्छ । यही नदी पनौतीको प्रसिद्ध त्रिवेणी घाटमा गएर मिसिन्छ ।

कुशादेवीको चामखरका डाँडाभरि कतै अम्रिसो घारी कान्ला भरि । कही बाँसका घना जङ्गल आकाशै छेड्न अग्लिएको । तलतल सुन्दर गाउँघर, खेतबारी र करेसा । उत्तिस, चिलाउने, गुराँस आदिका बोटहरूको हरियाली । गर्मी याममा चिसो बतासले शीतल आँत आनन्दित पार्छ ।

पर डाँडामाथि फुलचोकी टावर देखिन्छ  । पहाडहरू एकअर्कामा खप्टिँदै, थपिँदै तह तह बनेर बेग्लै क्षितिजको स्वरूपमा उपस्थित । यता केही नजिकै माथि डाँडाकै टुप्पोमा केही घरका लाइन । खरले छाइएका ती घरभन्दा केही तल चौतारी र भन्ज्याङ । सायद त्यहाँबाट देखिँदो हो पनौती, बनेपा र धुलिखेलका घना सहरी बस्तीहरू । पारि राजधानीतिर पनि नियाल्न सकिन्थ्यो होला त्यहाँसम्म पुगेर हेर्दा । 

यतापट्टि तल ललितपुरको ग्वार्को देखि आएको सडक मार्ग । पनौती हुँदै उकालो चढेर आएको फराकिलो ‘हाइवे’ । जुन ‘हाइवे’ वीपी मार्गसँग जोडिएको छ । अब धेरै गाउँ शहरसँग बाटोले जोडिँदै छन् । कुनाकन्दराका घर गाउँका बासिन्दाले यातायातको केही सुविधा पाउँदै छन् ।

कार्यालयकै काममा हामी त्यहाँ पुग्दा कार्यालय बाहेकको काममा पनि रमाउन जानेहरू त्यहाँ थुप्रै भेटिए । अघिल्लो दिनको रात ‘क्याम्प फायर’ सँगै नृत्य र गायनको रमाइलोमा कला देखाउनेहरू थिए । नाच्नेको भिडमा उफ्रिपाफ्री गर्नेको कमी त नहुने नै भयो । तर नृत्यमा राम्रै दख्खल राख्ने सहभागीको कमी नहुँदा त्यो बिरानो ठाउँको साँझ खल्लो लागेन ।

खानपानको स्वाद जस्तै नाचको भावभङ्गीमा अङ–अवयवको लचकाइ, मर्काइ, तन्काइ र खुम्चाइ प्रत्यक्ष देख्न पाउँदा छिप्पिँदै गएको रात पनि तन्नेरी नै लाग्यो । पिउने र खानेहरूको तुलनामा नाचगानको सभ्य स्वभाव निकै सुन्दर थियो । नतर्कहरू नाचका गुरु आमाहरू नै भएकाले पनि नाचको रौनक नाच्न नजान्ने दर्शकका लागि रोचक, रोमाञ्चक लाग्नु स्वाभाविक थियो । फुर्सद पाउँदा र मौकामा नाच्ने खुबी हुनु पनि राम्रै कुरा रहेछ भन्ने लाग्यो । 

दिन भरिको घुमघाम र कार्यक्रममा सामेल हुँदा थाकेको ज्यान । अनि साँझको रमझमले बल्ल ज्यानमा उल्लास थपिदिएको थियो । अनुहारमा पनि खुसी झल्किएको थियो । ‘रिफ्रेसमेन्ट’ को अनुभव बल्ल गराएको थियो । हामी कार्यालयका परिवारै ‘एक काम दो पन्थ’ को उपलब्धि प्राप्त गर्न यता आएका थियो । हप्ता दिन भरिको कामै कामको चापलाई अलिकति भए पनि आराम पाउनु थियो । कर्मचारी, जनप्रतिनिधिबीचको सुमधुर सम्बन्धलाई नजिक राख्नु थियो ।

कार्यालयमा कामको धपेडी र धुनका अनेक तानाबाना तिनको बयान गरी साध्य छैन । कामको बाँडफाँटमा स्थानीय तहलाई धेरै अधिकार प्रत्यायोजन त गरेको छ तर सो अनुरूप सुविधा छैन । कर्मचारीको अभाव एकातिर । प्रविधि मैत्रीको समस्या अर्कोतिर । यदि कार्यालयमा चाहिँदो मात्रामा दक्ष कर्मचारी हुँदा कामको चाप पनि न्यून हुन्थ्यो । सेवाग्राहीहरु पनि राम्रो सुविधा समयमै पाउन सक्थे । 

तथापि हामीले कामको प्रकृति र सेवा प्रवाहमा कन्जुस्याइ पटक्कै गरेका छैनौँ । केवल अझ जनशक्ति पर्याप्त हुँदा झन् बढी सेवाप्रवाह प्रभावकारी हुन सक्थ्यो ।

काठमाडौँबाट केही टाढा पनौतीसम्म आउनुको उद्देश्य भन्नु नै केही चिन्तन, मनन गर्नु । कार्यालयकै कार्यक्रमलाई शान्त स्थानमा छलफल गरी यौटा निष्कर्ष निकाल्नु । साथै केही प्रकृति सन्निकट सौन्दर्यमा आफूलाई हराउनु । तनावलाई व्यवस्थापन गरी सन्तुलन स्थापित गराउनु थियो ।

अन्ततः यिनैमा कार्य प्रगतिको लेखाजोखा पनि । मेलमिलाप र आत्मीय स्वभाव र साथको पहिचान पनि । अन्ततः प्रेममय सुमधुर सम्बन्धका आयामहरू । यिनमै जीवनको खुसी । अनि अलिकति सन्तुष्टिको पल । कामपछिको केही विश्राम पनि । भलाकुसारी र भविष्यका केही योजनाहरू पनि ।

पहिलो दिनको साँझ, परिचय, कार्यक्रमको औचित्य र आवश्यकतामा सीमित रह्यो । भोलिपल्टको औपचारिक कार्यक्रममा हामीले हाम्रा कार्यालयबाट प्रदान गर्दै आइरहेका सेवा प्रवाहमाथि विचार–विमर्श गर्‍यौँ । अनि सहरी महिला र ग्रामीण महिलाका विविध सन्दर्भमा तुलनात्मक विवेचना गर्‍यौँ । 

गाउँका महिलाहरू धेरै चेतनशील भइसके । तर सहरका महिला अझै कामकाजमै व्यस्त भइरहेको तीतो सत्य सबैले बोले । कार्यालयमा काम गरेर घर आएपछि पनि कामकै धपेडीमा सहरी महिलाहरूको जीवन सीमित रहेको । तर गाउँले महिला

यद्यपि हाम्रो काम कसैलाई खुसी र कसैलाई दुःखी पार्न कदापि होइन र हुँदैन । काखा र पाखाको शैलीबाट मुक्त । हुने काम भए तुरुन्तै गरिदिने । त्यहाँ आलटालको प्रश्नै आउँदैन । नहुने कामको प्रकृति हेरेर प्रक्रिया अगाडि बढाउने । जे होस् सेवाग्राहीको सेवामा दत्तचित्त । किनभने हामी स्थानीय तहसँग एकदमै निकट रहेर काम गर्ने सबैभन्दा पीडित, पिछडिएको तैपनि ‘तल्लो तह’ को ‘स्थानीय सरकार’ हौँ ।

विकास भन्नु बाटोघाटो, बिजुली र विद्यालय हुनु मात्रै होइन । विकासले धेरै अर्थ अर्थ्याउँछ । जस्तो विकासले मानिसको सकारात्मक चेतनाको विकास गर्न सक्नुपर्छ ।

शिक्षा, स्वास्थ्य, खानेपानीका आधारभूत आवश्यकतासँगै त्यसले मानिसको जीवनलाई परिवर्तनको आभास दिन सक्नुपर्छ । खुसीको प्राप्ति र सन्तुष्टिको सुख दिन सक्नुपर्छ । मानिसको चेतनामा नयाँ कुरा र नवीन कामको थालनी हुन सक्नुपर्छ । सोचाइमा सुधार आउन सक्नुपर्छ । मानिसलाई पुरानो मूल्यमान्यताबाट क्रमशः नयाँ सोंच दिन सक्नु नै विकास हो । 

आजको आधुनिक प्रविधि र परिवर्तनले फड्को मारेको समयमा बोली र व्यवहार, काम तमामको शैली र स्वरूपमा परिवर्तन आउनु अति आवश्यक छ । यसरी परिवर्तन आउनु भनेको साँचो अर्थमा विकासको चरण प्रारम्भ हुनु हो । यद्यपि ग्रामीण महिलाहरूको तुलनामा सहरी क्षेत्रका महिलाहरूको जीवनस्तरमा परिवर्तन आउन सकेको छैन । 
गाउँघरका महिलाहरू नपढेर पनि व्यवहारले परिपक्व र शिक्षित भएका छन् । तर सहरका महिलाहरू शिक्षित भएर पनि घरायसी कामको धन्दामा सधै घरेलु कामकाजी महिलाकै रूपमा सीमित छन् । घरमा महिलाले हरेक काम गर्नुपर्ने जिम्मेवारी छ । तर गाउँमा महिलाले घर र घरबाहिर पनि उत्तिकै सशक्त काम गरेर आफूलाई मातृसत्ताभन्दा माथि राखेर पुरुष सत्तालाई चुनौती दिएर काम गरिरहेका छन् ।

यसैगरी सहरी जेष्ठ नागरिकहरूको अवस्था पनि निकै सोँचनीय छ । उनीहरूका कामको अनुभवलाई हामीले उपयोग गर्न सकिरहेका छैनौं । जेष्ठ नागरिकको सम्मान भनेको ठुलो कुरा हो । उनीहरूको लामो जीवनले भोगेका अनुभवहरू हाम्रा लागि मार्गदर्शक बन्न सक्छन् । तिनलाई हामीले उपयोग गर्न सक्नुपर्छ, उनीहरूको सम्मानका साथ । 
यसका साथै दलित, बालबालिका, पिछडिएका वर्गका नाममा पनि हामीले सकारात्मक काम गर्न सकेका छैनौं । उनीहरूको जीवनस्तरमा सुधार ल्याएर परिवर्तनको आभास दिन र विकासको प्रवाहमा सामेल गराउन सकिएको छैन । 

त्यसैले विकास भन्नु बिजुली र खानेपानी, शिक्षा र स्वास्थ्यसँगै जीवनका हरेक पक्ष र पाटोमा पनि परिवर्तन गराउन सकिएको छैन । वास्तवमा यी पिछडिएका वर्ग भन्नु हाम्रै आमा, दिदीबहिनीहरू हुन जसले अब आफ्नो हक अधिकारलाई बुझ्नु आवश्यक छ । तर त्यो बुझाइमा कसैको हानी–नोक्सानी वा गलत आशयको प्रयोग नगरी मुलत आफ्नो र आफ्नो समुदायको सोचाइ, बुझाइ, बोलाइ र काम गराइको शैलीमा परिवर्तन ल्याउन सक्नुपर्छ ।

महिला, बालबालिका, दलित, जेष्ठ नागरिक, पिछडिएका वर्ग आदिका नाममा कैयौं काम भएका छन् तर ती लक्षित वर्गसम्म उपलब्धिको तथ्याङ्क न्यून नै छ । उनीहरूको जीवनस्तरमा सुधार ल्याएर परिवर्तनको आभास दिन र विकासको प्रवाहमा सामेल गराउन सकिएको छैन । त्यसैले विकास भन्नु बिजुली र खानेपानी, शिक्षा र स्वास्थ्यसँगै जीवनका हरेक पक्ष र पाटोमा पनि परिवर्तन गराउन सकिएको छैन । 

वास्तवमा यी पिछडिएका वर्ग भन्नु हाम्रै आमा दिदी बहिनीहरू हुन जसले अब आफ्नो हक अधिकारलाई बुझ्नु आवश्यक छ । तर त्यो बुझाइमा कसैको हानी नोक्सानी वा गलत आशयको प्रयोग नगरी मूलतः आफ्नो र समुदायको सोचाइ, बुझाइ, बोलाइ र काम गराइको शैलीमा परिवर्तन ल्याउन सक्नुपर्छ ।

महिला, बालबालिका, दलित, जेष्ठ नागरिक, पिछडिएका वर्ग आदिका नाममा कैयौं काम भएका छन् तर ती लक्षित वर्गसम्म उपलब्धिको तथ्याङ्क न्यून नै छ । दुई दिने सचेतना कार्यक्रम साह्रै लाभ दायी रह्यो । उपलब्धिमूलक भयो । अवश्य पनि सहभागी दिदी बहिनीहरूले केही नयाँ कुराको महसुस गर्नुभयो होला । सर्वप्रथम आफैँ परिर्वतन भई आफू र आफ्नो घरपरिवार, समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने भावनाको विकास र अठोट पनि जागृत भएको हुनुपर्छ ।

हाम्रा कतिपय कामहरू अझैसम्म पनि अनेक बाधा बन्धनले बाँधिएका छन् । केन्द्र सरकारको स्पष्ट नीति नियमको अभावमा कति काम हामीले गर्न सक्दैनौँ । खासगरी घटना दर्ताका सन्दर्भमा बेलाबखत अनेक किसिमका जटिलताहरूसँग सामना गर्नुपर्छ । ढिलो घटना दर्ता गराउने, विदेशी विवाह, सम्बन्ध विच्छेद आदि घटनाहरूले कहिलेकाँही स्वार्थ खोज्दोरहेछ । त्यही स्वार्थले फँसिने सम्भावना प्रवल हुने रहेछ ।

हामी वडाका व्यस्त जनप्रतिनिधि र कर्मचारी । तथापि फुर्सदको घुमघाममा काम टार्न, झारा टार्न यता आएका थिएनौँ हामी । कार्यक्षमता अभिवृद्धि, सचेतना, कामको मूल्याङ्कन यी यावत विविध विषयमा छलफल गर्न भएको एकप्रकारले शान्त, एकान्त भेट । 

अन्यथा कहाँ भेटिन पाउनु, कहाँ गफिने समय मिल्नु !? स्याबासी कम, गाली, गुनासोका चाङमा चचहुई गर्दै सेवाग्राहीका काममा हरपल हामी । तैपनि कतिका चित्त बुझाउनु, कतिलाई रिझाउनु, कतिसँग तर्किनु, कतिसँग झर्किनु, कतिसँग मस्किनु, कतिसँग नजिकिन र कतिसँग टाढिनु !? 

सेवाग्राही सबै समान हुन् । तर कहिलेकाहीँ मुस्कानसहितको कम बोलीले पनि दुःख पाइने । कहिले अलि ठूलो स्वर–संवादले पनि जस नपाइने । नबोल्यो भने हेप्ने, बोल्यो कि पोल्यो हुने । नमिल्ने काम लिएर आउनेहरूको स्वरै ठूलो डाकोले सात्तो खाएर काम लिन खोज्ने।  कहिले उही मिजासले हुने, कहिले त्यही मिजास अपजसको भागिदार बन्ने । कतिलाई मनपर्ने, कतिलाई बिझाउने । कतिलाई कुरा बुझाउनु, कतिलाई माया गर्नु, कतिलाई गाली !? 

यद्यपि हाम्रो काम कसैलाई खुसी र कसैलाई दुःखी पार्न कदापि होइन र हुँदैन । काखा र पाखाको शैलीबाट मुक्त । हुने काम भए तुरुन्तै गरिदिने । त्यहाँ आलटालको प्रश्नै आउँदैन । नहुने कामको प्रकृति हेरेर प्रक्रिया अगाडि बढाउने । जे होस् सेवाग्राहीको सेवामा दत्तचित्त । किनभने हामी स्थानीय तहसँग एकदमै निकट रहेर काम गर्ने सबैभन्दा पीडित, पिछडिएको तैपनि ‘तल्लो तह’ को ‘स्थानीय सरकार’ हौँ ।

कतिपय सेवाग्राहीको स्वभाव बुझ्नै नसकिने । सेवाग्राहीसँग न त नजिक न त टाढा दूरी ? बराबर दूरी, बराबर सेवा । हुने काम, गर्न मिल्ने र गर्न सकिने काममा किन ढिलाइ, किन आलटाल गर्नु ? जुन सेवाग्राही भए पनि हामीलाई काम ठूलो, सेवा ठूलो, नम्र बोली र व्यवहार हाम्रो । हामी सबै सेवाग्राहीका सेवक कर्मचारी ।

यद्यपि यी सबैबाट मुक्त, उन्मुक्तिको अविष्मरणीय पल थियो हामी एकसाथ यता आउनुको ध्येय र धोको । डाँडामा मेहनतले हुर्काइएका बोटबनस्पति, तरकारी, फूलबारीहरूको पनि राम्रै उत्पादन भएको देखियो । तिनलै हाम्रा मन लोभ्याउनु स्वाभाविक थियो । 

लाइले खाएको तरकारी होइन हलक्क हुर्किएका । सर्लक्क सप्रिएका तरकारी थिए । फूलहरू उसरी नै फुलिरहेका । मौरी, भँवरा भुनभुन गर्दै आफ्नै गुनगुनमा फूलको रस चुस्न, चोर्न आएका । मगमग वासना सुघिँरहूँ जस्तो । प्रकृतिको सुन्दरतामा आँखा डुलाइ हूँज स्तो । देख्नलाई दृश्यमय सुन्दरताका स्वरूपहरू दृश्यमान बिस्कुन फिँजाइएजस्तो । मनन गर्नलाई सुखका सन्तुष्टि मात्रै होइन दुःखका सुस्केराहरू पनि त्यहाँ भएजस्तो ।

पनौतीमाथि पखेरामा पनि सुविधा सम्पन्न होटल व्यवसाय फस्टाएका । स्थानीयले रोजगारी पनि पाएका । बारीका उत्पादनलाई बजारसम्म लैजानु परेन । आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि मनग्यै टेवा पुगेको । मानिसले रमाउने ठाउँ यहाँ पाए । देख्ने र घुम्ने गन्तव्यले माया पाए । रुखोपाखा र उजाड भूमिमा आवाद भयो । यही उर्वर पाटोमा मान्छेका पाइला लम्किरहेका । खुसी पाएर आनन्द महसुस गरी फर्किरहेका । एकदुई दिनको बसाइमा पनि गहिरो माया बसेजस्तो । रमाइलो ठाउँमा मन त्यसै रमाइरहेको ।

फर्किँदा चामखरको भज्न्याङनिरैको ओरालोमा कति मिलेका तोरीबारी र सुन्तला घारी आँखैमा स्पर्श गर्न आए । भुईमा पहेँलपुर रङका बिस्कुन थिए । बोटमा उस्तै सुन्तलाका रङ । प्यासी आँखालाई तृप्ति । मनलाई सन्तुष्टि । यो ठाउँ छोडेर नजाऊजस्तो । एकछिन बसौँ–बिसाइ हालौँजस्तो । जहाँबाट तल फाँटमा पनौती नगरका सर्वत्र दृश्य मजाले आँखैअघि स्पष्ट नियाल्न सकिन्थ्यो ।

एक दिव्य सौन्दर्य र स्वादको आभास । एक प्रिय परिवेशको मिठास । स्थानीय प्रकृतिको सप्रेम भेटको सौगात ! प्रकृति र प्रेम ! प्रेम र प्रकृति ! सहरी जीवनको व्यस्ततालाई बिर्सन । ग्रामीण परिवेशका प्रकृतिमा रमाउन । प्रकृतिप्रेमी मनहरू अचेल बढिरहेछन् यसरी व्यस्त सहरका भिडभन्दा केही पर भिरपाखाहरूका होटल, रिसोर्टहरूमा ।