जीवनजलको अभाव, प्रसूतिगृहकाे माग !

जीवनजलको अभाव, प्रसूतिगृहकाे माग !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २६, २०७६

जुम्ला ।  जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव रहेको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो ।

स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ । बुढाले भन्नुभयोे, - स्वास्थ्यचौकीमा बिरामी औषधि लिनका लागि आउने गरे पनि पाउने गरेका छैनन् । स्वास्थ्यचौकीमा न त औषधि पाइन्छ न त नियमित स्वास्थ्यकर्मी नै आउने गरेका छन्, यसले गर्दा यहाँका स्थानीयवासी प्रभावित हुने गरेको उहाँले बताउनुभयो । 
 
स्वास्थ्यचौकीका अहेव गोविन्द भण्डारीका अनुसार यहाँ पटक–पटक औषधि शून्य मौज्दात रहने गरेको छ । गाउँपालिकाले समयमा औषधि खरीद नगर्ने र समयमा स्वास्थ्यचौकीमा नपठाउँदा जीवनजलसमेत अभाव रहेको उहाँले बताउनुभयो ।

आइरन चक्की चालू आर्थिकको जेठ अन्तिम सातासम्म तीन महीना जति शून्य मौज्दात रहेको थियो भने कोटिम बच्चा र किशोरावस्थामा प्रयोग गर्ने झण्डै छ महीना जति शून्य मौज्दात रहेकाले सेवाग्राहीलाई दिन नसकिएको उहाँको भनाइ छ । त्यसैगरी पारासिटामोल चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म दुई हजार ५०० ट्याब्लेट मात्र आएकाले अपुग भएको अहेव भण्डारीले बताउनुभयो । परिवार नियोजनका अस्थायी साधन कण्डम, पिल्स र डिपो पनि पर्याप्त मात्रामा आउने गरेको छैन । कण्डम चालू आवको जेठ तेस्रो सातासम्म गरी छ महीना जति शून्य मौज्दात रहेको थियो । 

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष मनवीर बुढाका अनुसार अहिले स्थानीय सरकारले पर्याप्त मात्रामा औषधि पु¥याउन नसकेको स्वीकार गरे । उहाँले भन्नुभयो, स्थानीय तहमा कर्मचारी अभाव, समायोजनको प्रभावले गर्दा पनि समयमा औषधि खरीदको काम नभएर स्वास्थ्य संस्थामा समयमा औषधि पुग्न सकेन । आगामी दिनमा औषधि र नियमित स्वास्थ्यकर्मी उपस्थितिको व्यवस्थापन गरिने उहाँले प्रतिबद्धता गर्नुभयो ।   

स्थानीय सरकारसँग प्रसूतिगृह माग 

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँकी विसुदा बुढा गत वर्ष तीन घण्टा टाढा पैदल दूरीमा रहेको हाँडसिञ्जा बर्थिङ सेन्टरमा प्रसूतिका लागि लैजाँदा लैजाँदै बाटोमै सुत्केरी भइन् । त्यसैगरी दुई वर्षअघि सोही गाउँकी रामा बुढा सुत्केरी हुन नसकेर घरमै मृत्यु भयो । 

सुत्केरी गराउने दक्ष जनशक्ति र प्रसूतिगृह नजिक नभएका कारण टाढाको प्रसूतिगृहमा लैजाँदा लैजाँदै बाटोमै सुत्केरी हुने र सुत्केरी हुन नसकेर घरमै मृत्यु हुने गरेको स्थानीय विन बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, 'यहाँ सडक यातायातको पहँुच छैन, सुत्केरी गराउनका लागि बोकेर लैजानुपर्ने बाध्यता छ ।' 

अहिले भर्खर कच्ची सडक गाउँमा पुगेको छ । यही पनि वर्षा सिजनमा बन्द हुन्छ । यहाँका स्थानीयवासीलाई सुत्केरी हुने महिलाको ज्यान जोगाउन निकै गाह्रो हुने गरेको छ । यहाँको गर्भवती महिलाको सहजताका लागि पहिलादेखि नै प्रसूतिगृहको माग राख्दै आए पनि सुनुवाइ नभएको बुढाको गुनासो छ । अहिलेको स्थानीय सरकारसँग पनि माग गरेका थियौँ, दुई वर्ष बित्यो सुनुवाइ भएको छैन, उहाँले भन्नुभयो । 

यहाँका गर्भवती महिला घरमै सुत्केरी हुने गरेका छन् । गर्भावस्थामा जाँच पनि गराउँदैनन् । अधिकांश गर्भवती महिला घरमै सुडेनी अर्थात् महिला स्वयंसेविकाको भरमा सुत्केरी हुने गरेका छन् । घरमा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई मात्र बाध्यताले बोकेरै भए पनि तीन घण्टा टाढा दूरीमा रहेको हाँडसिञ्जा प्रसूतिगृहमा लैजाने गरेको स्थानीय विन बुढाले बताउनुभयो । 

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष मनवीर बुढाका अनुसार यसै चालू आवको असार मसान्तभित्र प्रसूतिगृह स्थापना गरी सेवा विस्तार गर्ने तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “प्रसूतिगृहमा चाहिने आवश्यक सामग्रीका लागि गाउँपालिकाले रु दुई लाख बजेट विनियोजन भएको छ । आवश्यक सामग्री खरीद प्रक्रियामा रहेको उहाँको भनाइ छ । कनकासुन्दरी गाउँपालिकाका आठ वडामा चार स्वास्थ्यचौकी र तीन मात्र बर्थिङ सेन्टर रहेका छन् । यस गाउँपालिकामा १२ हजार ९७७ जनसङ्ख्या रहेको कुरा राससकाे लागि मानदत्त रावलले लेख्नु भएकाे छ ।