राजनीतिक दलको संरक्षण: लघुवित्त, सहकारी र बैंकमा दलालहरूको हालीमुहाली !

राजनीतिक दलको संरक्षण: लघुवित्त, सहकारी र बैंकमा दलालहरूको हालीमुहाली !

रुषा थापा  |  दृष्टिकोण  |  बैशाख ४, २०८१

अहिले जनता निराश छन् । विभिन्न क्षेत्रमा लगानी गरेकाहरु पनि नराम्ररी डुबिसकेका छन् । घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरु पनि डुबेका छन् । र, सहकारीमा निक्षेप जम्मा गरेका बचत कर्ताहरू पनि डुबेका छन् । बैंकबाट ७० प्रतिशत बचत कर्ताले निक्षेप निकालिसकेको बैंककै कर्मचारीहरु नाम नबताउने शर्तमा बताउँछन् । 
बजारमा धेरै कोठा, फ्रल्याट र सटर खाली भएका छन् । मालपोत र यातायात कार्यालय सुनसान छ । तर, सरकार दलाल गरेर बसिरहेको छ । आफ्नो देश र जनताको हितमा काम गर्नुपर्नेमा सरकार अन्य देशलाई फाइदा हुने काम गरिरहेको छ । दिनहुँ हजारौं नेपाली जनता रोजगारी, अध्ययन, अध्यापनका निम्ति विदेशिएका छन् । 

यसले देशको सक्षम र दक्ष जनशक्ति विदेशिनुका साथै नेपाली मुद्रा समेत विदेशिएको छ । सरकार नै आफ्नो देशका जनतालाई बेचिरहेको छ । र, आफ्नो देशको पैसा बाहिरी मुलुक पठाइरहेको छ । देशको खेतीयोग्य वा उब्जनी हुने जमिनमा सरकारले प्लानिङ वा घर बनाउन दिइरहेको छ । जसले गर्दा आज मुलुकमा खाद्यान्न संकट निम्तिने संकेत देखिएको छ । 

दलालहरुले आनाको दश हजार नपर्ने खेतीयोग्य जमिन खण्डीकरण गरेर लाखौंमा बेचे । सर्वसाधारण फसाए । अहिले हामी सबै नेपालीको भान्छामा बाहिरी मुलुकबाट आएको खानेकुरा पाक्छ र हामी खान्छौं । देशको ९५ प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिएको छ । बाहिरबाट आयात गरिएका खाद्यान्न निकै महंगो हुन्छ । 
यसले आर्थिक अवस्था कमजोर भएका जनताहरु भोकभोकै मर्नुपर्ने अवस्था आएको छ । यति मात्र होइन, विदेशीले खाद्यान्न नपठाए यहाँ धनीदेखि गरिबसम्म भोकभोकै मर्नुपर्छ । पछिल्लो समय नेपालले हरेक सामान विदेशबाट आयात गर्ने गरेको छ । नेपालमै उत्पादन हुने वस्तु पनि विदेशबाट आयात गरिन्छ । यहाँ नुनदेखि सुनसम्म विदेशीको बिक्री हुने गरेको छ । 

नेपाल विदेशीको लागि एउटा व्यापारको थलो बनेको छ । विदेशीले नेपाललाई प्रयोग गरेर थुप्रै फाइदा उठाइसकेको छ । र, अझै उठाइरहेको छ । तर, हाम्रो देश भने अहिले पनि जहाँको त्यहीँ छ । हामी सामान निर्यात गर्नुभन्दा पनि आयातमा बढी केन्द्रित छौं । हरेक सामानमा परनिर्भर छौं । कुनै पनि वस्तु तथा सामान हामी आत्मनिर्भर छैनौं । 
छिमेकी मुलुक भारतले बिक्री नहुने फलामको समेत प्रयोग गरेर चिल्लो गाडी बनायो । हामी नेपालीहरु पनि त्यसमै आकर्षित भयौं । नेपालका अटो शोरुमहरुले भारतमा ५० हजार नपर्ने सवारीसाधन यहाँ ल्याएर लाखौंमा बिक्री गरे । र, अहिले पनि गर्दै छन् । यता, बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालहरुले मूल्य बढाएर चार हजारसम्ममा बेचे । 

यहाँ ठगे ठग छन् । जो पनि ठग्न तिरै केन्द्रित छन् । मेन पावर र कन्सलट्रेन्सीहरु आफ्नै देशका नागरिकलाई अन्य देशमा बेचेर कमाइरहेका छन् । सरकार पनि देशै धितो राखेर विदेशीसँग खर्बौ ऋण लिइरहेको छ । सत्तामा बस्नेहरु जनतालाई भ्रममा पारिरहेका छन् । सरकारी कर्मचारीहरु भ्रष्टाचारमा व्यस्त छन् । यहाँ देश र जनताको लागि काम गर्नुभन्दा आफ्नो भुँडी कसरी भर्ने ? भन्नेतिर सबैको ध्यान छ । 

बचत कर्ताहरू मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । एउटै सहकारीमा एकै बचत कर्ताको लाखदेखि करोड डुबेको छ । त्यसैले अब बैंकका बचत कर्ताहरूले यहाँबाट पाठ सिक्नुपर्छ । बैंकका आफ्नो पैसा सुरक्षित छ भनेर बस्नुहुन्न । किनकि हिजो सहकारीमा पनि आफ्नो पैसा सुरक्षित छ भनेर सर्वसाधारण ढुक्कसँग बस्दा आज नराम्ररी डुब्नु परेको छ । 

बैंक तथा वित्तिय संस्थाहरुले पनि सर्वसाधारणलाई नै ठगे । करोडौं बचत कर्ताको खर्बौ लिएर वा डुबाएर सहकारी भाग्यो । लघुवित्त, फाइनान्सहरूले पनि सर्वसाधारणको बिजोग बनाएको छ । पछिल्लो समय त बैंकका कर्मचारीले समेत बचत कर्ताको खातामा रहेको रकम चोर्न थालेका छन् । बैंक, वित्तिय संस्थाहरुले थुप्रैको उठीबास लगाएका छन् । 

करोडौंको ऋण लाखमा पचाएर ऋणीलाई सडक छाप बनाएका छन् । उता, निजी विद्यालयको पनि ठगी धन्दा बढ्दो छ । विद्यार्थीबाट अनावश्यक शुल्क उठाउने क्रम अझै रोकिएको छैन । त्यस्तै, भाटभटेनी, सुपरमार्केट, बिग मार्टमा पनि यस्तै छ । कमसल, गुणस्तरहीन र कम तौलको सामान चर्को मूल्यमा बेचेर यिनीहरुले सर्वसाधारण ठगिरहेका छन् । 

यहाँ जो पनि ठग्न मै व्यस्त छ । अनि त्यसमा जहिले पनि सर्वसाधारण नै पर्ने गरेका छन् । राजनीतिक दलदेखि सरकारी कर्मचारी, व्यापारी, बैंक तथा वित्तिय संस्था, दलाली सबैले जनता नै ठगिरहेका छन् । सर्वसाधारण हरेक क्षेत्रबाट ठगिएका छन्, लुटिएका छन् । अहिले जनतामा सचेतनाको वृद्धि भएको छ । पहिला भन्दा धेरै सर्तक भइसकेका छन्, सर्वसाधारण । 

योसँगै बैंक तथा वित्तिय संस्थाहरुको नाफामा गिरावट आएको छ । सर्वसाधारण ठग्न नआएपछि बैंकहरुको आम्दानी घटेको छ । अहिले बैंकमा पैसा राख्ने र कर्जा लिने कोही छैन । बैंकको ठगी धन्दा बारे थाहा पाएपछि जनताले बैंकमा पैसा राख्न र कर्जा लिन दुवै छोडेका हुन् । बैंकमा पैसा निकाल्नेको भीड छ त कर्जा प्रवाह शुन्य छ । 
बैंकले जतिसुकै सस्तोमा कर्जा दिन्छु भनेपनि कोही जाँदैनन् । किनकि बैंक, ठग, चोर हो भनेर सर्वसाधारणले थाहा पाइसकेका छन् । सहकारी त भागिहाल्यो । करोडौं बचत कर्ताको बिचल्ली बनायो । अहिले घरजग्गा, गाडी र सेयर कारोबार ठप्प छ । केही वर्षअघि ५० लाख आनामा किनेको जग्गा अहिले पैसाको खाँचो परेर आधा मूल्यमा बेच्छु भन्दा समेत बिक्री भइरहेको छैन । 

यता, बैंकले लिलाम गरेको धितो पनि बिकेको छ । झन् चार हजार कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने भएको छ । गाडीमा पनि यस्तै भएको छ । नयाँ होस् या पुरानो गाडी कसैले किन्दैन । बीस लाखमा किनेको गाडी अहिले त्यसको आधा मूल्यमा बिक्दैन । तीन वर्षअघि काठमाडौंका न्यूरोड, भोटाहिटी, इन्द्रचोक, नयाँ बानेश्वर, बल्खु, कलंकी, बौद्ध लगायतमा सटर पाउनै मुस्किल हुन्थ्यो । 

एउटै सटरको मासिक भाडा तीन लाखदेखि १८ लाखसम्म हुन्थ्यो । तीन महिनाको भाडा पहिल्यै तिर्नुपर्थ्यो । खाली सटर बीस लाखदेखि ६० लाखमा किनबेच हुन्थ्यो । एउटा कोठा ९ हजारदेखि २० हजार र एक फ्रल्यटको ३० हजारदेखि तीन लाखसम्म पथ्र्यो । सवारीसाधन राखेको छुट्टै पैसा तिर्नुपर्थ्यो । महिनाको पाँच हजारदेखि पन्ध्र हजारसम्म । 
भाडामा बस्नेहरुलाई केही पनि सेवासुविधा दिदैंनन् थिए, घरधनीहरु । उल्टै बत्ती, पानी, फोहोर र नेटको पैसा पनि दोब्बर उठाउन्थे । महिना मर्नुअघि नै घरधनीहरु भाडा माग्न आइपुग्थे । अनि पैसा लिएपनि बिल चाँहि नदिने । अहिले काठमाडौं उपत्यकासहित मुलुकभर धमाधम कोठा, सटर र फ्रल्याट खाली भएका छन् । 

भाडामा बस्दै आएकाहरु आफ्नै गाउँघर फर्किएका छन् । अहिले बैंकहरु डुबिसकेका छन् । किनकि बैंकको पनि लगानी घरजग्गा, गाडी र सेयरमै छ । अब जनता चनाखाे  हुनुपर्छ । सहकारीका बचत कर्ताबाट पाठ सिक्नुपर्छ । हिजो हामी भाग्दैनौँ, डुबेका छैनौं भनेर दाबी गर्ने सहकारीहरू पनि अहिले भागेका छन् । 

बचत कर्ताहरू मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । एउटै सहकारीमा एकै बचत कर्ताको लाखदेखि करोड डुबेको छ । त्यसैले अब बैंकका बचत कर्ताहरूले यहाँबाट पाठ सिक्नुपर्छ । बैंकका आफ्नो पैसा सुरक्षित छ भनेर बस्नुहुन्न । किनकि हिजो सहकारीमा पनि आफ्नो पैसा सुरक्षित छ भनेर सर्वसाधारण ढुक्कसँग बस्दा आज नराम्ररी डुब्नु परेको छ । 
०४६ सालपछि जग्गाको मूल्य बढेको छ । र, बैंक तथा वित्तिय संस्थाहरु पनि च्याउ उम्रिए झै खुले । बैंक, वित्तिय संस्थाहरुले घुसको आडमा आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । यो जोखिमपूर्ण क्षेत्र हो भनेर सोचेनन् । दलालहरुले यसको मूल्य बढाएका थिए । जुन दलालहरु अहिले भागाभाग गरिरहेका छन् । 

तर, अहिले त दलालहरु नै भागेका छन् । राजनीतिक दल र दलालहरूको मिलेमतोमा घरजग्गा, गाडी र सेयरको मूल्य ह्वात्तै बढेको थियो । सर्वसाधारणले दलालको लैलैंमा लागेर यसमा लगानी गरेका थिए । लगानी बढेसँगै राज्यको ढुकुटीमा पनि राजस्वको ओइरो लाग्यो । यद्यपि, अहिले जनतामा सचेतना वृद्धि भएपछि दलालीहरु भाग्नुपरेको छ भने राज्य राजस्व विहीन भएको छ । 

अब जनताले राजनीतिक दलका नेता र सरकार नै दलाली हुन् भनेर बुझ्नुपर्छ । यिनीहरुले देशलाई कंगाल बनाए र जनतालाई डुबाए । राजनीतिक दल र सरकारले देश धितो राखेर विदेशीसँग ऋण लिइरहेको छ भनेर पनि अब जनताले बुझ्नु पर्छ । सरकार अहिले पनि विदेशीसँग ऋण लिएर कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता खुवाइरहेको छ । तर, देश सरकारको मात्र होइन, जनताको पनि हो । त्यसैले, अब जनता आफ्नो देश बचाउन सडकमा आउनैपर्छ । 
 

 


भक्तपुर