‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’द्वारा डा. सन्दुक रुइत पुरस्कृत

‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’द्वारा डा. सन्दुक रुइत पुरस्कृत

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ५, २०८१

झापा । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित  पाँच लाख रुपियाँको  ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गरिएको छ ।

 उक्त पुरस्कार झापामा आयाेजित  एक समारोहका बीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले डा‍. रुइतलाई हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी, यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ । उहाँलाई रू एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मान पत्रसहित प्रदेश प्रमुख खापुङले प्रदान गर्नु भएको थियो  ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार  मानव हित, सकारात्मक समाजिक विकासमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताउनुभयो । आँखाको उपचारका क्षेत्रमा उल्लेख्य योगदान गर्नु भएका डा. रुइतलाई सम्मान गरिएको बताउनुभयो ।

वि.सं. २०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा पिता सोनाम रुइत र मात केसाङ रुइतको गर्भबाट जन्मिनुभएका डा. रुइतले सरल र कम लागतमा आँखामा हुने मोती बिन्दु उपचारको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’को सुरुवात गर्नुभएको छ ।

यस्तै  तीक्ष्ण बुद्धिका धनी १७ वर्षीय सविनले मिनी हवाइजहाज, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकल लगायतका सामग्री निर्माण गर्नुभएको छ । उहाँलाई उक्त कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रमख अतिथि खापुङ, विशिष्ठ अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानको गतिविधि समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव नारायण ओलीले र सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा. रुइतका बारेमा प्रतिष्ठानका महासचिव तुलसीप्रसाद ओलीले र सविनका बारेमा नारद न्यौपानेले समारोहलाई जानकारी गराउनु  भएकाे थियो ।