घुम्नुको भोक, देख्नुको सबथोक

घुम्नुको भोक, देख्नुको सबथोक

ज्ञानेन्द्र विवश  |  साहित्य  |  बैशाख ८, २०८१

घुम्नुको भोक, देख्नुको सबथोक हुन्छ । त्यसले नै तनाव कम गर्दै उत्साह उमार्न मद्दत गर्छ । सहरी घुइँचो र घचारोमा अचेल एकछिन एकान्तमा गफिने समय छैन । फुर्सदमा आफूलाई एकैछिन फर्किएर हेर्ने समय पनि हुँदैन । देख्नलाई फूलको सुगन्ध र सौन्दर्य टाढिँदै गइरहेछ । भेट्नलाई आफन्तहरू क्रमशः पराइ हुँदै गइरहेछन् । हरियाली हराउँदै जाँदै छ । पुष्प पत्र, मुना मुजुरा पाउलिन छाड्दै छन् । चराका चिरिबिरीको सुमधुर गुञ्जन विरानो बन्दै गइरहेछ ।

यस्तोमा कहाँ भेट्न सकिन्छ र प्राकृतिक मिठास । कहाँ पाउन सकिन्छ र स्वच्छ मौसमको अनुकूल परिवेश । बरु प्रदूषणले आहत प्रकृति र जीवनका छरपस्ट ढुकढुकीहरू । मधौरो बन्दै, मुर्छा पर्दै, मर्दै–मर्दै गइरहेका ज्यान–प्राणहरू ! बिस्तारै माटोमै विलीन हुँदै गइरहेका कठै ती प्रिय प्राण–पखेरुहरू !

तिनलाई बचाउन सकिएन । जोगाउन थालिएन । उकेरा लगाउन जानिएन । माया गर्न, मनले हेर्न छाडियो भने बर्बादै हुन्छ । किनभने त्यसमा हाम्रो सनातन सत्व छ । गौरवमय अतीत र त्यही अतीतले बनेको हाम्रो वर्तमान छ । यस्तो धरा–धाम भताभङ्ग भई भत्किन सक्छ । त्यसबाट जोगाउनु हाम्रो कर्तव्य पनि हो । परन्तु हिजोआज हामी कतिपय कर्तव्यहरूबाट च्युत हुँदै–हुँदै गइरहेका छौँ । 

व्यस्त जीवनमा अस्तव्यस्त अवस्था भित्रिँदै आइरहेछ । अतः यस्तैमा हो आफूलाई खोज्ने प्रयत्न । केही पर गएर, अलि टाढा पुगेर चुपचाप नियाल्ने प्रयास । जहाँ मिल्छ खोजेका कुराहरू । जहाँ पाइन्छ खोजेपछिका प्राप्तिका उरुङखात उपलब्धिहरू । त्यसकै लागि हो घर छोड्नुपर्ने । पहाड चढ्नुपर्ने । पाइला हिँडाउनुपर्ने । उकालो र ओरालोमा आफूलाई अभ्यस्त राख्नुपर्ने । यसकै लागि हो मन मिल्नेहरूका साथ कतै बाहिर जानुपर्ने । 

विदाको सदुपयोग र नयाँ सालको स्वागत गर्दै रमाउनका लागि । साइत जुरेको सौजन्य–संयोग घुम्नुको भोकमा देख्नुको सबथोक प्राप्तिका निम्ति । पारिवारिक बन भोजको नाउँमा भक्तपुर, सूर्यविनायक, घ्याम्पेडाँडा, रानीकोटका पाखाभरि मान्छेको ओइरो । ठुलै मेलाको उत्सवजस्तो बाइक र गाडीले बाटै छेकेको । अलि खुल्ला ठाउँमा नाचिरहेका, गाइरहेका, हेरिरहेका कति सर्जक र दर्शक । पकाइरहेका त्यहीँ, खाइरहेका, घुमिरहेका, गफमा मस्त मनहरू त्यहाँ । बालबच्चाहरू खेलिरहेका, रमाइरहेका खुल्ला चौरमा उफ्रिपाफ्री गरिरहेकाहरु । 

कति चाहिँ गुराँस खोज्दै बन डुल्दै लखतरान । हातमा गुराँसका गुच्चा बोकेर हिँडिरहेका भेटिएपछि जङ्गलमा कहाँ भेट्नु र ! काफल, ऐँसेलु चाख्न झोर झाडीमा पस्दै । ती पनि कहाँ पाउनु ? ‘खानु न पिउनु’ काँडाले घोचेर, भुईमा पछारिएर रगताम्मे ज्यान । तैपनि यसमै रमाइलो चाम सास्ती खाएर पनि । यौटा अलग्ग प्रकृति–रमणको पाटो यो जङ्गलमा ।

यसरी जाँदा मनले देख्न सक्नुपर्छ आफूले खोजेका कुराहरू । आँखालाई दोष लगाउनु हुँदैन । किनभने देख्ने आँखाले त जे पनि देख्न सक्छ । जहाँ पनि र जो जससँग पनि आँखा जुध्न सक्छ । होसियार भइएन भने आफैँलाई बात लाग्न सक्छ । घात पर्न पनि सक्छ । 

त्यसैले आँखाले देखेर मात्र हुँदैन । आँखाले हेरेर मात्रै पुग्दैन । आँखाको हेराइमा आफूले, आफ्नै मनले राम्रो पन अँगाल्न जान्नुपर्छ । त्यसबाट सुन्दर र सकारात्मक पक्ष ग्रहण गर्न सक्नुपर्छ । जुन सार्थक र यात्राको मुख्य लक्ष्य हुन्छ । मनले छुट्याएर फाइला लिन सक्दा साँच्चै त्यसबाट उपलब्धिको उचाइ निकै अग्लै बन्न सक्छ । जहाँ घुम्नुको भोक मेटिन्छ । देख्नुको सबथोक मिल्छ । 

यसरी वास्तवमा घुम्नुको भोक, देख्नुको सबथोक हुन्छ । पुगे देखिन्छ, नपुगे केही देखिँदैन भनेको सायद यही हो । घुम्न चाहिँ हिम्मत जुटाउनुु पर्छ । घुमेपछि र पुगेपछि देख्न चाहिँ सक्नुपर्छ । देखेपछि त्यसमा जीवन र प्रकृति सन्तुलित सौन्दर्य पाउनुपर्छ । अन्यथा त्यो घुमाइ अर्थहीन बन्छ । समय व्यर्थ खेर जान्छ । देखाइमा सुख भेट्न सक्नुपर्छ । हेराइमा आनन्द पाउनुपर्छ । 

त्यही सुख र सन्तुष्टिका लागि हो यात्रा भनेको । केही न केही कुरा नयाँ देख्ने । कुनै न कुनै किसिमले प्रकृतिको नौलो रूप भेट्ने । यात्रामा यसरी भेटिए जति दृश्यहरू । देखिए जति सुन्दरताहरू । र, पाइए जति यात्राका आनन्दहरू नै यात्राका खास उपलब्धि हुन् । 

यात्रामा एकोहोरो हिँडाइको दोहोरो फाइदा नभई हुन्न । यात्रामा हिँडाइको स्वाद पनि बेग्लै हुन्छ । ठेस लागेको सम्झना आलै रहन्छ । काँडाले घोचेको दुखाइ पनि मिठै मान्नुपर्छ । सामान्य घटना र घाउलाई ठुलै चोटको भाउ दिनु हुँदैन । अपरिचितसँगको संवाद र संलाप जानकारी मूलक बन्छ । विरानो ठानेर पराइ भनी तर्किनु हुँदैन । 
आफन्त खोज्न सक्नुपर्छ । आफन्त बनाउन जान्नुपर्छ । जसरी कि घुम्ने ठाउँको रोजाइमा भेटिने सुखद क्षणजस्तो । हेरेर नअघाइने दृश्यको सुन्दरतामा मनले महसुस गर्ने पाटाहरूजस्तो । अनि साँचो मनका पराइबाट पनि मिल्छ हामीले खोजेका कुरा र कामहरू !

प्रत्येक सुस्केरा र श्वासमा प्रकट हुनुपर्छ जीवनका स्पन्दनहरू । अन्ततः ज्यान गलेर खत्रक्कै भएको अर्थ रहनुपर्छ । अर्थहीन हिँडाइ हिँड्नु हुँदैन । त्यसको केही अर्थ रहँदैन । गन्तव्य पुगेर देखेको दृश्यमा रमाउन सक्नुपर्छ । घुम्न जान्नुपर्छ । घुमेर देखेको दृश्यलाई महसुस गर्न सक्नुपर्छ । तिनलाई आत्मसात गर्न सकिँदा आहा त्यहाँ भेटिने छ भावनाका बग्रेल्ती खजानाहरू खचाखच । 

तिनै खजानाहरूको माला उनेर गलामा लगाउँदाको क्षण कस्तो हुने छ ? एकछिन घोत्लिएर परिकल्पना गर्नु वा सपना देख्नुको पनि पृथक अध्याय र आयाम हुन्छ ।
खुसी पाउनुसँगै खुसी साट्न सक्नु पनि ठुलो कुरा हो । खुसीका रङहरूमा रमाउनुको बेग्लै मज्जा । खुसीका रहरहरूमा हराउनुको पनि अलग्गै आनन्द । खुसीका उछ्वासहरूमा उल्लासले रङ्गीन सक्नु पनि झन् ठुलै कुरा हो । 

यसरी एक दिनको यात्रा, दुई दिनको भ्रमण मात्र होइन एक छिनको घुमाइमा पनि नवीनताको आस्वादन गर्न पाउनु कम तृप्तिदायक पल हुँदैन । जहाँ हप्ता दस दिनको यात्राभन्दा अझ बढी प्राप्तिहरू मिल्छन् । जहाँ खुसीले म्वाइ खान तछाडमछाड गर्छन् । जहाँ सौन्दर्यका आभाहरूले आँखा चुम्न आउँछन् । जहाँ दुखाइ र तनावका घाउचोटहरूमा मल्हम लागेर आरामको आनन्द मिल्छ । हामी सबैले खोजेको सुखको अनुभव सायद यही हो, यस्तै हुनुपर्छ ।

आखिर यही खुसीकै लागि हुन् हाम्रा सारा कामहरू । हामीले पसिना बगाएको यसकै निम्ति । हामी बेफुर्सद खटेको केही पाउनकै लागि । केही हुन्छ कि भन्ने आशाले नै हो गरिएका तमाम कामहरू । प्रयास गरेपछि नै हो पाइने । हिँडेपछि नै हो पुगिने । पुगेपछि नै हो नदेखेको दृश्य देखिने । नभेटिएका मानिसहरू भेटिने । अनुभूतिका चाकाचुलीमा सिलसिलाबद्ध अभिव्यक्तिको प्रस्फुटन हुने ।

पुग्नुको भोक कति हुन् ? घुमन्तेलाई नै थाहा हुने कुरा हो । पुगे पछिको उल्लास छचल्किएर पोखिन्छ पनि । कहिले मनपेट भरिभराउ भई अघाएर लट्ठ पर्छ । तथापि थाकेर बस्नु, बिसाइरहनु हुँदैन कदापि । उकालो देखेर तर्सिनु र ओरालो भनेर आत्तिनु पर्दैन कहिल्यै । तिनै हुन यात्राका सौजन्य भेटका प्रीतिकर ठाउँहरू !

सम्हाल्न सक्नुपर्ने रहेछ । अनुभूतिमा भेटाउन जान्नुपर्ने रहेछ । तथापि यात्राको भोक सधैँ लागिरहन्छ । यो यायावरी स्वभाव यस्तै हो । यसैगरी यात्रा हिँडि रहनुपर्छ । यसरी नै पाइला चालि रहनुपर्छ । तब पो देखिन्छ यात्रीका भिडाम भिडमा जीवनको खोजी गर्ने मनहरू । बरालिन, बयलिन वा बनभोज खान पुगेका मानिसहरूमा पनि केही न केही नयाँपनको ऊर्जा उम्रिन सक्छ त्यहाँ । 

हिँड्दा थाकिएको मात्र ठान्नु हुँदैन । गलेर लखतरानै भइयो भनेर हैरान मान्नु हुँदैन । त्यसबाट आफूले केही पाएँ भन्ने सोँच्नुपर्छ । त्यसर्थ घुम्नुको हैरान होइन, हुनु पनि हुँदैन । पुग्नुको थकान मान्नु हुँदैन । देख्नुको मुकामलाई बरु उपलब्धिको उपमा दिनुपर्छ ! बस्नुको आरामलाई यात्रा पश्चात्को सुखद मिलन ठान्नुपर्छ !